गर्भावस्था र सुत्केरी अवस्थालाई ठूलै समस्या निम्ते जसरी प्रचारप्रसार गरिँदै आएको छ हाम्रो देशमा। मानौँ, यो कुनै ठूलै रोग हो। खासमा सृष्टिलाई निरन्तरता दिन यो प्रक्रिया जरुरी छ। त्यसैले यस्तो अवस्था कुनै पनि हालतमा नकारात्मक हुँदै होइन। जहाँसम्म सुत्केरी हुने बेलामा केही समस्या देखिन सक्छन्, त्यसलाई रोकथाम गर्न र पीडा कम गराउन सकिने विभिन्न प्रविधि पनि ल्याएको छ चिकित्सा विज्ञानले।
प्राकृतिकरूपमा सुत्केरी हुँदा आमा र बच्चा दुवैलाई फाइदा पुग्ने मात्र हैन, आमा र सन्तानको सम्बन्ध पनि बढी घनिष्ट हुने अध्ययनहरूले पुष्टि गरेका छन्। तर लहैलहैमा लागेर पछिल्लो पुस्ताका युवती बच्चा जन्माउन शल्यक्रिया रोज्ने गर्छन्। खासमा यो एकातर्फ सही तरिका होइन भने अर्कोतिर खर्चिलो पनि छ। कतिपय परिवारका लागि त सुत्केरी गराउँदा लाग्ने खर्च तिर्नसमेत पैसा हुँदैन। तर पनि सही चेतना अभावमा शल्यक्रियाद्वारा सुत्केरी हुँदा नै राम्रो हुने सन्देश चौतर्फी प्रवाह भइरहेको छ।
गर्भावस्था अपवादबाहेक खुसीको सवाल हो। यस्तो बेला गर्भवतीलाई परिवारको साथ आवश्यक पर्छ। माया चाहिन्छ। आवश्यक सहयोग उपलब्ध गराउनुपर्छ। अझ विशेष गरेर गर्भावस्था र सुत्केरी हुने बेलामा श्रीमान् साथमै रहँदा त्यसले जोडीबीचको प्रेमिल भावना त बढाउँछ नै, साथै सन्तानप्रतिको स्नेह पनि गाढा गराउँछ। पत्नीले आफूलाई हरदम साथ दिने पतिका रूपमा बुझिन्छन् भने पतिले पत्नीको प्रसव पीडा देख्ने/सुन्ने साक्षीका रूपमा आफैँ महसुस गर्ने भएकाले सहानुभूति स्वतः वृद्धि हुन्छ। यो बेलामा श्रीमान्को उपस्थिति र सहयोग श्रीमतीको दुःखानुभूतिलाई सुखानुभूतिमा परिणत गर्ने अवसर पनि हो।
नेपालले धेरै स्वास्थ्य चौकीलाई ‘बर्थिङ सेन्टर’ का रूपमा प्रयोग गर्दै आएको छ। तर यस्ता निकायमा लेबर रुम गतिलो नहुनु तथा आवश्यक औषधि र उपकरण अभावले पनि प्रसूति सेवालाई प्रभावकारी हुन दिइरहको छैन। त्यसैगरी धेरै लेबर रुम मिडवाइफबिनाका छन्। जसले गर्दा पनि गर्भवतीहरू सुत्केरी हुनुअघि, हुने बेलामा र भइसकेपछि पनि विभिन्न यातना बेहोर्न बाध्य हुन्छन्। हाम्रो यही व्यवस्थापनमा विद्यमान कमजोर अवस्थाका कारण सिर्जित समस्यालाई लिएर धेरैले गर्भावस्था र सुत्केरी अवस्थालाई ठूलै समस्याका रूपमा प्रस्तुत गरेका छन्। खासमा तालिम प्राप्त मिडवाइफलगायत दक्ष जनशक्ति, आवश्यक औषधि र अन्य सामग्री तथा उपकरणहरू उपलब्ध हुने हो भने यो ठूलो समस्या हुँदै होइन।
श्रीमान् अगाडि छन् भने सुत्केरी बेथा लागेकी महिलासामु अक्सिटोसिन नामक हार्मोन रिलिज हुने र त्यसले प्रसव पीडा कम गराउन भूमिका खेल्ने विज्ञहरूको भनाइ छ। गर्भावस्थामै पनि विभिन्न नातेदार/साथीसंगी/परिवारजन आदिले ‘दही/चिउरा’ खुवाउँदा श्रीमान्लाई समेत सक्रिय सहभागी गराउने क्रम बढ्दो छ। यसले पनि गर्भावस्था र सुत्केरीपनलाई बझ्ने आयाम फराकिलो बन्दै गएको महसुस हुन्छ। यसर्थ अब सुत्केरीलाई बझ्ने परम्परागत धारणा परिवर्तन भइसकेको छ। जसले समाजमा सकारात्मक सन्देश प्रवाहमा पनि सघाइरहेको देखिन्छ।
त्यसो त गर्भवती भएदेखि सुत्केरी अवस्थासम्म उनको इच्छाविपरीत गतिविधि गर्न पाइन्न। उनलाई एक्लै पार्ने, सहयोग नगर्ने, सुत्केरी हुने बेला आफूले चाहेको मानिस राख्न नदिने, शारीरिक शोषण जस्ता कार्य भएमा कानुनी उपचार खोज्न सकिने मार्ग पनि उपलब्ध छ। तर प्रसूति हिंसा भनिने यस्ता गतिविधि र त्यसका विरुद्ध कानुनी उपचारमा जान सकिन्छ भन्नेबारे सम्बन्धितमै जानकारी नहुनुचाहिँ खिन्नलाग्दो पक्ष हो। यसबारे खासगरी स्वास्थ्य स्वयंसेविकालाई अभिमुखीकरण गर्ने हो भने त्यो व्यापक हुन सक्छ किनकि दूरदराजका गाउँ–गाउँसम्म, देहातसम्म पुगेर यस्तो सन्देश दिने सबैभन्दा प्रभावकारी माध्यम यस्ता स्वयंसेविका भन्दा अरू हुन सक्दैनन्।
गर्भावस्था र सुत्केरी हुने बेलामा हुने पीडाको आकार शरीरसँग मात्र सम्बन्धित छैन। यस्तो बेलामा घर/परिवारले हेलाँ गरे, श्रीमान् असहयोगी बने, स्वास्थ्यकर्मी पनि सकारात्मक भएनन् र सहयोग गर्नेहरूको कमी भयो भने त्यस्तो अवस्थाले सिर्जना गर्ने पीडा शारीरिकभन्दा निकै दुःखदायी हुन्छ। त्यसैले सुत्केरी बेथा कति साह्रो लाग्ने भन्ने विषय परिवार र आफन्तको व्यवहारले बढी निर्धारण गर्छ। यस्तोबेलामा सबैबाट गरिने माया र पाइने सहयोगले पीडा स्वतः न्यूनीकरण गर्छ। त्यसैले परिवार जति बुझकी भयो, त्यो परिवारकी सदस्यको सुत्केरीपन उति नै सम्मानजनक सफल हुन्छ।
गर्भवतीले पनि यसबीचमा गर्नुपर्ने र गर्न सक्ने केही काम अवश्य छन्। जस्तो– परिवार र आफन्तले प्रेमपूर्वक जुटाइदिएका पौष्टिक कुरा झर्को नमानी र समय मिलाएर खाइदिने, समयमा सुत्ने, आरामलाई प्राथमिकता दिने, सकारात्मक सोच्ने, नरिसाउने आदि। यसो गर्दा न उनको शक्ति क्षय हुन्छ न त चिन्ता नै प्रवेश गर्ने अवसर पाउँछ। यस्तो अवस्थामा गर्भको बच्चासमेत खुसी हुने अध्ययनहरूले पुष्टि गरेका छन्। नकारात्मकतालाई स्थान नदिने र गर्भावस्था अनि सुत्केरी अवस्थालाई परिवार र आफन्तले अवसरका रूपमा ग्रहण गर्ने हो भने प्रत्येक सुत्केरी अवस्था स्वतः उत्सवमा परिणत हुन्छ। र, यस्तो अवस्थाले मात्र सुत्केरी अवस्थालाई सम्मानजनक बनाउन सघाउँछ। त्यसैले सबैले बुझ्नु जरुरी छ कि सम्मानजनक सुत्केरी हुन पाउनु गर्भवती महिलाको अधिकार नै हो। यो अधिकार छिन्ने अधिकार कसैलाई छैन।
प्रकाशित: २५ श्रावण २०८१ ०६:०४ शुक्रबार

