७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
सम्पादकीय

दिनुको सुख

भनिन्छ, ‘जसले पाउँछ, उसले राम्ररी खान्छ र जसले दिन्छ ऊ राम्ररी सुत्छ।’ आफूसँग भएको वस्तु अरूलाई दिन सजिलो छैन। कसैलाई केही दिने बेलामा कैयन् पटक सोचेर पनि दिन सकिँदैन। तर, जसले दिन जानेका छन्, तिनले त्यसको अनन्त सुख अनुभव गरेका छन्। त्यसैले ती दिन तयार हुन्छन्। जब मानिसको अन्तस्करण खुल्छ, उसले आफूसँग बढी भएको वस्तु अरूको हितका निम्ति दिन थाल्छ। सबैजसो धर्मले आफ्नो आम्दानीको निश्चित हिस्सा दानपुण्यका निम्ति खर्च गर्न प्रोत्साहित गरेका हुन्छन्। यसो गर्दा स्रोतसाधनको अभावमा लक्ष्यमा पुग्न नसकेका कैयन् मानिसलाई यसले सहयोग पुर्‍याउँछ।

कहिलेकाहीं साना कर्मले पनि ठुलो सन्देश दिइरहेका हुन्छन्। भक्तपुरको एभरेस्ट स्कुलको कक्षा ५ का विद्यार्थीले अध्ययनको सिलसिलामा आफूले उत्पादन गरेको चामल मुनि विहार इनाचोमा रहेका भिक्षुलाई दान गरेका छन्। यसो हेर्दा यो ठुलो खबर होइन। तर, समाजमा प्रेरणाका निम्ति यो खबर ठुलो हो। स्कुले साना नानीहरूले आजैदेखि श्रम गर्न र आफूले कमाएको सानो स्रोत पनि अरूमा समर्पण गर्नुपर्छ भन्ने सोच्नु निकै ठुलो उपलब्धि हो। यसले यी कलिला नागरिकमा भविष्यसम्मका निम्ति ठुलो शिक्षा प्राप्त भएको छ। दिने बानी लागेन भने पछिसम्म पनि लोभले छाड्दैन। वस्तु वा स्रोत जम्मा गर्ने रोग लाग्यो भने त्यो मर्ने बेलासम्म पनि छुट्दैन। तर, मृत्युपछि यस्ता वस्तु त्यतिकै छाडिन्छन्। आफू बाँचेकै बेला कसैको हितमा यस्ता स्रोतसाधन उपयोग भए भने स्वाभाविक रूपमा त्यसबाट पुण्य प्राप्त हुन्छ।

कसैलाई दिएको दानको प्रचार गर्नुहुँदैन भन्ने छ। अझ दान यसरी गर्नु जो एक हातले दिएको अर्को हातलाई थाहा नहोस्। तर, साना नानीहरूले गरेको यस्तो कामको भने प्रचार हुँदा समाजलाई अझ सुन्दर बनाउन मद्दत गर्छ। कोहीकोही मानिसको नियमित रूपमा दिने बानी हुन्छ। अनि केहीले चाहिँ आवश्यकताअनुसार मानिसलाई अप्ठ्यारो पर्दा सहयोग गर्छन्। कसैलाई दिने भनेको रूपैयाँपैसा वा अन्य सामान मात्र होइन। आवश्यक पर्दा कसैलाई सही सल्लाह मात्रै दिँदा पनि उसको जीवन सहज बन्छ। कहिलेकाहीं जीवनमा द्विविधा भइरहेको हुन्छ। सही सल्लाहसुझावले समस्या समाधानमा सहयोग हुन्छ। जीवनको कुनै उकालो चढिरहेको मानिसलाई एक पाइला माथि जान सहयोगी हातको आवश्यकता पर्छ। त्यो बेला दिन तयार हुने मानिसले जीवनभरि उसका तर्फबाट आशीर्वाद प्राप्त गर्छन्। कुनै अन्य व्यक्तिले तपाईंका बारेमा राम्रो सोचिदिनु भनेकै शुभलाभ हो। कसैबाट सिधै रकम प्राप्त गर्नुपर्दैन। असल मन भएका मानिसले राखेको सद्विचारले नै जीवनलाई फरक पार्न सक्छ। त्यो नै ठुलो आम्दानी हो। यो नै प्रार्थनाको शक्ति पनि हो।

स्कुल तहमै बालबालिकालाई असल गुण दिन सक्नुपर्छ। शिक्षा भनेको केवल किताबी सिकाइ मात्र होइन। असल नागरिक बन्न उसलाई अनेकन् व्यावहारिक ज्ञान आवश्यक हुन्छ। त्योभन्दा बढी अरूका बारेमा सोच्न सक्ने बनाउनु सबैभन्दा महŒवपूर्ण पक्ष हो। कुनैबेला हाम्रा स्कुलमा ‘नैतिक शिक्षा’ को पढाइ हुने गरेको हो। त्यसलाई अनायासै पाठ्यक्रमबाट हटाउनु आफैंमा दुःखद थियो। लाग्छ, हाम्रो समाजमा कसैलाई पनि नैतिक शिक्षा आवश्यक छैन। बाल्यकालमा दिइएको यस्तो शिक्षाले स्वाभाविक रूपमा प्रौढावस्थासम्म सकारात्मक प्रभाव पार्छ। बालबालिकालाई ठुलो मानिस होइन, असल मानिस बन्न सिकाउने पाठको आवश्यकता छ। हाम्रो समाजले अहिले भोगिरहेको नकारात्मकता र हिंसात्मक प्रवृत्तिको एउटा कारण यो पनि हो। आफूलाई मात्र केन्द्रमा राख्ने र अरूको सुखसुविधाबारे नसोच्ने प्रवृत्तिले नै मानिसलाई अहिलेको नकारात्मक अवस्थामा पुर्‍याएको हो। त्यही भएर हुनुपर्छ अहिले १६औं पञ्चवर्षीय योजनामा सदाचार र नैतिक शिक्षालाई समावेश गर्ने सरकारको तयारी छ। कम्तिमा आवधिक योजनामै यो विषय पर्नुपर्ने आवश्यकता वोध भएछ।

अतः आफूसँग भएका सामग्रीमध्ये केही अरूलाई दिन सिक्यौं भने जीवनमा धेरै ठुलो उपलब्धि हुन्छ। संसारका कैयन् धनी मानिसहरू परोपकार (फिलान्थ्रोपी)का निम्ति चर्चित छन्। बिल गेट्स, वारेन बफेटदेखि भारतका रतन टाटासमेत यसमा पर्छन्। हाम्रो मुलुकमा पनि धनी मानिस छन्। थोरैले मात्र दिने गरेका छन्। दिनुको महत्त्व कति छ भन्ने कुरा टाटाले सार्वजनिक गरेको एउटा घटनाक्रमले प्रस्ट पार्छ। उनले अपांगता भएका बालबालिकालाई ह्विलचेयर किन्न गरेको सहयोगबाट प्राप्त सन्तुष्टिको रोचक चर्चा गरेका छन्। ह्विलचेयर वितरण गरेर फर्कने बेलाको एउटा घटना उल्लेख गर्दै उनले भनेका छन्– जब कार्यक्रम सकियो र म फर्कन लागेको थिएँ, एउटा बच्चाले मेरो खुट्टा समात्यो। मैले बिस्तारै खुट्टा छोडाउने कोसिस गरें, तर बच्चाले मेरो अनुहार हेर्‍यो र मेरो खुट्टालाई समातिरह्यो। मैले झुकेर बच्चालाई सोधें– ‘तिमीलाई अरू केही चाहिन्छ ?’ त्यो केटाले दिएको जवाफले मलाई स्तब्ध मात्र बनाएन, बरु जीवनप्रतिको मेरो दृष्टिकोणलाई पूर्ण रूपमा परिवर्तित गरिदियो। त्यो बच्चाले भन्यो– ‘म तपाईंको मुहारलाई हेरेर सम्झन चाहन्छु ताकि जब म तपाईंलाई स्वर्गमा भेट्नेछु, त्यो बेला म तपाईंलाई चिन्न सकूँ र फेरि एकपटक धन्यवाद दिन सकूँ।’

वास्तवमा सुखी मानिस ती हुन् जसले जीवनकालमै दिनुको महत्ता बुझे। कतिपय मानिसले जीवनको अन्तिम क्षणमा महसुस गरेका प्रमुख पाँच पछुतोमध्ये एउटा क्षमता भएर पनि नदिनुलाई अथ्र्याउँने गरेका छन्। त्यसैले लिने मात्र होइन दिने बानी लगाउनु जीवनको एउटा महत्त्वपूर्ण हिस्सा हो।

प्रकाशित: २५ जेष्ठ २०८१ ०६:०८ शुक्रबार

Download Nagarik App
Download Nagarik App