बर्खा सुरु हुने बेला भएको छ। बालीनाली, बोटविरुवा र स्वच्छ वातावरणका लागि बर्खा जरुरी छ। तर नेपालका सडकका लागि भने बर्खायाम अभिशाप बन्नेगर्छ। यसको मुख्य कारण हाम्रो अव्यवस्थापन हो। जसका कारण धेरै यात्रुले दुःख झेल्दै आएका छन्।
बर्खाको पूर्वसन्ध्यामै कर्णाली राजमार्ग कहर बनिसकेको छ। विशेषगरी राजमार्गको दैलेख खण्ड जीर्ण बन्दै गएपछि यसमाथिका भागहरूसमेत भत्कने/बिग्रने हुन थालेको छ। यही कारण गाडी फस्ने, गुड्न त के घस्रनसमेत नसक्ने अवस्था सिर्जना भएको छ। अर्कोतर्फ सानोतिनो पानी पर्दासाथ हिलाम्मे हुने र घाम लाग्दासाथ धुलाम्मे हुने अवस्था छ। जसले कर्णालीको पनि विकट मुगु, कालीकोट, जुम्लालगायतका क्षेत्र बढी प्रभावित भएका छन्।
उसै त यो क्षेत्र दुर्गम र पछौटेपनको पर्याय नै हो भन्दा फरक पर्दैन। विकासका सबै कुरामा पुछारमा पर्ने यो क्षेत्र बाटो अभावकै कारण पिछडिएको क्षेत्रका रूपमा सूचीकृत हुन बाध्य छ। बाटोमा प्राथमिकता दिनुपर्नेमा उल्टै भएकै बाटो पनि उचित मर्मतसम्भार नगरिँदा त्यसको मार यात्रुले त बोहोर्नुपरेको छ नै, साथै गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त र बालबालिकाले अकालमै ज्यानसमेत गुमाउनुपरेको छ।
यतिबेला यो राजमार्ग मात्र हैन, बेनी–मुस्ताङ, बेसीशहर–चामे, पाल्पा–गुल्मी, विदुर–स्याफ्रुबेसीजस्ता थुप्रै सडक खण्ड मर्मतको पर्खाइमा छन्। उसै त भिरालोमा जबर्जस्ती अडिएका सडक सर्वसाधारणका लागि सधैँजसो त्रासको विषय बन्दै आएको छ, त्यसमाथि हुर्मत लिन बर्खायामको सिमसिमे पानी नै काफी हुने भएकाले यिनको स्याहार बर्खाअघि नै सोचिनुपर्थ्याे। विडम्बना, घरमा आगो लागेपछि कुवा खन्न अघि सर्ने हाम्रो सरकारी र प्रशासनिक संयन्त्रका कारण यस्तो सोच आउन सकेको देखिन्न। फलस्वरूप धेरै मानिसले दुःख पाइसकेका छन् भने दुःख पाउनेको संख्या बर्खायामको निरन्तरतासँग वृद्धि हुने निश्चित छ।
पहिलो कुरा त सडक मर्मतरसुधारका लागि बजेट नै कम छुट्याइने गरेको छ। त्यसमाथि पनि बजेट विनियोजन गर्दा जोखिमयुक्त सडकलाई बढी प्राथमिकता दिनुपर्नेमा त्यसो गरेको देखिन्न। अझ दुःखलाग्दो पक्ष यही बजेटमाथि पनि धेरैको गिद्धेदृष्टि पर्न जाने हुँदा त्यसको पनि पूरै काम हुँदैन। फलस्वरूप मर्मत भए पनि त्यो न गतिलो हुन्छ न त भरपर्दो नै। कर्मकाण्डी पाराको यस्तो कार्यले प्रत्येक वर्ष मर्मत गर्नुपर्ने अवस्था निम्त्याउँछ। अहिले कर्णालीमा देखिएको समस्या पनि यसैको निरन्तरता हो।
उसै त नेपालका सडक बनाउने तरिका वैज्ञानिक छैन। यहाँ सडक बनाउँदा डोजर जस्ता ठूला मेसिन जथाभावी प्रयोग गरिँदा त्यसले पुर्याउने हानिबारे सोचिन्न। ग्रामीण सडक निर्माण गर्दा बायोइन्जिनियरिङ प्रविधि अपवादबाहेक कतै पनि अपनाइएको देखिन्न। फलस्वरूप यस्ता बाटो दिगो त हुन्नन् नै, साथै यिनले पहिरोजन्य विपद्समेत निम्त्याउँदै आएका छन्। यस्तो अवस्थामा त्यस्ता बाटोका लागि मर्मत खर्च जति नै छुट्याए पनि अपुग हुनु अस्वाभाविक हुँदैन।
मुख्य कुरा सडक बनाउँदा नै यसको दिगोपनामा ध्यान दिनु आवश्यक छ। त्यसैगरी मर्मतसम्भार गर्नुपर्ने ठाउँ बर्खायामअघि नै पहिचान गर्नुपर्छ र यसका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्छ। यसरी बजेट विनियोजन गर्दा त्यो सडकको अवस्था र त्यसमा आश्रित जनसंख्यालाई ध्यान दिनुपर्छ। विनियोजित बजेटको भरपुर उपयोग हुने वातावरण सिर्जना गरिनुपर्छ। यसका लागि स्थानीय सरकारको भूमिका बढी जिम्मेवार हुन्छ। आफ्नो गाउँठाउँमा बन्ने भएकाले ऊ बढी सचेत हुनु जरुरी छ। यसो भए मात्र कर्णाली र बाटोकै कारण पछौटेपन खेप्न बाध्य अन्यत्रका बासिन्दाले प्रत्येक वर्ष उहीखाले समस्या भोग्नुपर्ने अवस्थाबाट मुक्ति मिल्नेछ।
प्रकाशित: १ जेष्ठ २०८१ ०५:५८ मंगलबार