२४ वैशाख २०८१ सोमबार
image/svg+xml
सम्पादकीय

विभेदविरुद्ध विद्रोह

नेपाली समाज अहिले पनि विभेदले ग्रस्त छ। धार्मिक, भूगोल, वर्ण, भाषा जस्ता आधारमा हुने विभेद कम भए पनि निमिट्यान्न हुन सकेका छैनन्। यसमध्ये पनि सबैभन्दा बढी विभेद जातका आधारमा हुने गरेको छ। तल्लो र माथ्लो, पानी चल्ने र नचल्ने, जनै लगाउने र नलगाउने तथा मतवाली र गैरमतवाली जस्ता पर्खाल खडा गरेर मानवले मानवलाई नै विभेद गर्ने कलंक अझै पनि जारी छ।

रूपन्देहीकी हरिमाया मल्ल बल्दोजाग्दो उदाहरण हुन्। जो मगरकी छोरी भए पनि मल्लसँग विवाह गरेर आएकी थिइन्। त्यो पनि परिवारकै सहमतिमा। तर जब उनी बुहारी बनेर घरमा भित्रिइन्, उनका लागि भान्सा कहिल्यै सहज भएन। उनलाई भान्सामा जानै प्रतिबन्ध थियो । सासूले गर्ने यस्तो विभेद उनी दुई सन्तानको आमा भइसक्दा पनि न्यून हुन सकेन। जो भनेर गएको उसै (पति) ले पनि कहिल्यै यो कुरामा ध्यान दिन आवश्यक ठानेनन्।

मान्छे विवेकशील प्रााणी हो। त्यसैले अन्याय सहनुको पनि हद हुन्छ। त्यसैले अति भएपछि उनले घर छाड्नु निको ठानिन्। अनि लागिन् साउदी अरबतिर। उनी हिन्दु थिइन् तर त्यहाँ इस्लाम धर्म मान्नेको घरमा घरायसी काम गर्न थालिन्। उनलाई लागेको थियो, एउटै धर्म भएकाबीच त विभेद भयो, यहाँ त धर्म नै अर्कै भएपछि विभेद नहुने कुरै भएन। तर उनी तीनछक्क त्यतिबेला परिन् जतिबेला उनलाई त्यहाँ कुनै भेदभाव गरिएन। उनीहरूका पूजाकोठासम्मै पहुँच थियो उनलाई। त्यति मात्र कहाँ हो र? राम्रो काम गरेबापत सुविधा/भत्तासमेत बढ्थ्यो उनको। यसरी उनले लिंग, देश र जात जस्ता कुनै पनि आधारमा विभेद खप्नुपरेन त्यहाँ।

धेरैले विदेशमा दुव्र्यवहार हुन्छ, कामको मूल्यांकन हुँदैन, पारिश्रमिक दिँदैनन्, विभेद गर्छन् भन्ने सुनिरहँदा हरिमाया भने ‘यस्तो पनि हुन्छ र?’ भनेर जिब्रो काट्छिन्। उनको निष्कर्ष छ– विभेद विदेशमा हैन, स्वदेशमै छ। विभेद हाम्रो अचेतनामा छ। यतिबेला स्वदेशमै उद्यम (झोला बनाउने) गरेर रमाइरहेकी उनी आफू खोज्दै आएका छोराहरूसँगै जिन्दगीको रमाइला पल भोगिरहेकी छिन्। यो समस्या उनको मात्र होइन। अझै पनि अव्यक्त रूपमा यो समस्या घरघरमा रहेको छ। कथित पानी चल्ने जात भनिएको उपल्ला बाहुन र क्षेत्रीका चुलामा पनि यो समस्या छ। तिनले पनि एकअर्कालाई सहजै स्वीकार गर्न सक्दैनन्।

अशिक्षा, चेतना अभाव र रुढिवादले राज गरेका बेला भेदभाव स्वाभाविक पनि हुन्थ्यो होला तर विश्व विकासको चरमोत्कर्षमा डुबुल्की मारिरहेका बेला पनि मानिसले मानिसलाई कुनै न कुनै बहानामा भेदभाव गर्नु जस्तो बेढंगी व्यवहार के हुन सक्छ ? अझ जातका आधारमा हुने छुवाछूत त मानव सभ्यताकै कलंकका रूपमा रहनेछ। अझै पनि विशेषगरी नेपालको तराई क्षेत्रमा जातीय आधारमा हुने विभेद तीव्र छ। पढेलेखेका र सभ्य तथा सुकिलामुकिलाहरू बस्ने सहर/बजार र शिक्षित अनि हुनेखाने कहलिएकाहरूमाझ यस्तो समस्या भुसको आगोझैँ भित्रभित्रै फिँजारिएको छ। जुन अमानवीयताको पराकाष्ठा हो।

तिनैले जन्माएका सन्तान उक्त घरको अंशियार हुने र चुलोचौकासमेत सबैमा राज चल्ने तर उनीहरूलाई जन्म दिने आमाचाहिँ अछूत कसरी हुन सक्छिन् ? जसका श्रीमान् माथिल्लो जातको तर उनकै श्रीमती तल्लो जात कसरी हुन सक्छिन् ? उनले पकाएको खाना नचल्ने, भान्सासमेत छोइने तर त्यही खाना बनाउन उनैले ल्याएको पानी किन नछोइने ? उनैले उत्पादन गरेको अनाजचाहिँ कसरी बिटुलो हुँदैन? उनैले केलाइकुलाइ पारेर ओइरिन ठिक्क पारेको तरकारी कसरी नछोइएको हुन सक्छ? यावत् प्रश्न छन् जसका कुनै उत्तर छैनन्।

अर्कोतर्फ आफैँले श्रीमतीका रूपमा भित्र्याएकी महिलामाथि आफ्नै अभिभावकबाट हुने अन्यायविरुद्ध बोल्न नसक्ने पनि पति हुन्छ? श्रीमती त्याग्न सक्ने तर विभेदविरुद्ध बोल्न नसक्ने जस्तो लाजमर्दो अवस्था के हुन सक्छ? यी यस्ता सवाल हुन जसले नेपाली समाज अझै पनि मानवीयता बुझ्ने र त्यसलाई अंगाल्ने क्रममा निकै कमजोर छ भन्ने पुष्टि हुन्छ। सलाम छ हरिमाया मल्ल, जसले बरु घर त्यागिन् तर अन्याय सहिनन्। यसविरुद्ध विद्रोह गरिन् र आत्मनिर्भर भएर बाँचिन्। जुन अरूका लागि पनि अनुकरणीय छ।  

प्रकाशित: २४ फाल्गुन २०८० ०६:२३ बिहीबार

Download Nagarik App
Download Nagarik App