२२ वैशाख २०८१ शनिबार
image/svg+xml
सम्पादकीय

मनकुमारीहरूको मन

२४ वर्षीया उनमा पनि बिहेपछि आमा बन्ने सपना पलाउनु अस्वाभाविक थिएन। तीन पटकको प्रयास पनि ‘गर्भपतन’ का कारण सम्भव नभएपछि उनी अर्काकी शिशु चोरेर भए पनि त्यो सपना पूरा गर्ने मार्गमा लागिन्। हो, यतिबेला उनी अर्थात् मनकुमारी सिंह प्रहरीको हिरासतमा छिन्। हिरासतमै रहेका अन्य थुनुवा मात्र हैन, प्रहरी कार्यालयका कर्मचारीका लागि पनि उनी ‘एकपटक अनुहार हेर्नेपर्ने’ मान्छे भएकी छिन्। कारण– उनी चोरीको अभियोगमा त आएकी हुन् तर अरू जस्तो धन/सम्पत्ति हैन, शिशु चोर। त्यसैले उनी कौतुहल र जिज्ञासाको पात्र पनि बनेकी छिन्।

उनको यो कर्मले हाम्रो समाज बुझ्न थप सघाएको छ। पहिलो त नेपाली प्रायः समाज पुरुषसत्तात्मक हो। पुरुषबिनाको जिन्दगीलाई अपुरै ठान्छ समाज। त्यसैले उनका लागि पनि आफ्ना पुरुषप्रधान समाजले भनेको र चाहेको मान्नु बाध्यता हो, अरू लाखौँ महिला जस्तै। त्यसैले ‘बाँझी’ को दागबाट बच्न उनलाई यस्तो बाध्यता परेको हुन्छ।

अधिकांश महिलाका लागि मातृत्व महिलाको पर्याय नै हो भन्दा पनि फरक पर्दैन। विवाह गर्ने, घर बसाउने, सुकिलोमुकिलो र शान्त परिवार सिर्जना गर्ने सुन्दर परिवार रचनाभित्रैका कुरा हुन्। त्यसैले भन्ने पनि गरिन्छ कि ‘ऋण नलागेको पुरुष र सुत्केरी नभएकी महिलालाई जीवनको वास्तविक भोगाइ थाहा हुन्न।’ यसरी हेर्दा पनि सन्तानप्रतिको उत्कट अभिलाषाले महिलालाई सधैँ लालायित तुल्याइरहेको हुन्छ।

सन्तान नभए, अझ त्यसमा पनि छोरा नभए अर्की बिहे गर्ने लोग्नेहरूको धम्की धेरै नेपाली महिलाको कहिल्यै निको नहुने पिलोका रूपमा देखिँदै आएको छ। त्यति मात्र हैन, आफन्तदेखि घर/परिवारसम्मले यस्तो अवस्थालाई सकारात्मक ठान्दैनन्। त्यसैले ‘घर खान’ का लागि पनि आमा बन्नैपर्ने अवस्था धेरै मनकुमारीहरूको छ।

एकातिर उनी तेस्रो गर्भपतनको पीडाले सताइएर उच्च रक्तश्राव बेहोरिरहेकी छिन्। अर्कोतर्फ गलत मार्गमा लागेको भनेर सबैतिरबाट बहिष्कृत÷तिरष्कृत हुने क्रममा छिन्। समाज त खुच्चिङ भन्ने नै भइहाल्यो। यस्तो अवस्थामा यतिबेला मनकुमारीलाई ढाडस चाहिएको छ। सँगै बसेर मनमा गुम्सिएका सबै भावना सुनिदिने सहयोगी चाहिएको छ। आवश्यक मनोसामाजिक परामर्श चाहिएको छ ताकि उनले थप अप्रिय निर्णय नगरुन्। तर हाम्रो कानुन, सुरक्षा निकाय, समाज यो पक्षतिर हेर्न तम्तयार छैन। मात्र ऊ केरकारमा विश्वास गर्छ। उनलाई आजित बनाएर ‘अपराध’ स्वीकार्न लगाउने र कुनबेला महिला कारागार पठाउन पाइन्छ भनेर उचित तिथिमितिको खोजीमा छ।

यसरी हेर्दा मनकुमारी कानुनका दृष्टिमा गलत भए पनि व्यावहारिकरूपमा गलत नहुन सक्छिन्। नेपालको समाज, परम्परा, रीतिथिति र पुरुषसत्ता उनलाई यस्तो कुकर्मतर्फ उद्यत गराउन धेरै हदसम्म जिम्मेवार छ। गर्भवती भएपछि ‘माता’ कहाँ हैन, स्वास्थ्य निकायमा जानुपर्छ भनेर बुझाउन नसक्ने लाचार सरकार उत्तिकै जिम्मेवार छ। बाध्यतामा शोषण गर्न पल्केका माताहरू सजायको भागिदार छन्। अनि त्यत्तिकै भागिदार अशिक्षा र कुचेतना पनि छ। यी यावत् पक्षप्रति ध्यान नदिइ एकोहोरो मनकुमारीलाई मात्र दोषी देख्ने हो भने यो लाखौँ नेपाली महिलामाथि अन्याय हुनेछ। 

प्रकाशित: २० फाल्गुन २०८० ०६:०७ आइतबार

Download Nagarik App
Download Nagarik App