coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
सम्पादकीय

पासपोर्टको पिरलो

नेपाली राहदानी विश्व वरियतामा १०३औँ स्थानमा झरेको छ। हरेक वर्ष यसको स्तर गिर्दै गएको छ। विगत १८ वर्षमा यो झर्दै झर्दै २७ स्थान तल पुगिसकेको छ। विश्वका विभिन्न देशको पासपोर्टको शक्ति विश्लेषण गर्ने द हेन्ली पासपोर्ट इन्डेक्सले भर्खरै सार्वजनिक गरेको प्रतिवेदनले नेपाली राहदानीको यो दयनीय हालत प्रस्तुत गरेको हो। यो भनेको एकदलीय तानाशाही मुलुकका रूपमा निन्दा गर्दै पश्चिमा शक्तिशाली राष्ट्रहरूले लामो समयदेखि कडा नाकाबन्दी लगाउँदै आएको उत्तर कोरियाको भन्दा पनि दयनीय हो। त्यसैगरी गृहयुद्ध, राजनीतिक अस्थिरता र विभिन्न कारणले क्षतविक्षत बनिरहेका कंगो अनि नाइजेरियाजस्ता देशभन्दा पनि पछिको अवस्था हो।

हामी कसरी विश्वले नै हरिकंगालको सूचीमा राखेका र नाकाबन्दी, बहिष्करणलगायत गतिविधिबाट एक्ल्याइएका देशभन्दा पनि पछि पर्‍यौँ ? कारण खोज्नुपर्ने भएको छ। विशेषगरी नेपालको राहदानी कमजोर हुँदै जानुमा विश्वसनीयताको अभाव प्रमुख कारण देखिएको छ। एउटा प्रयोजनका लागि गएकाहरू लुकेर वा अवैधतवरले उतै बस्ने र काम गर्ने भएका कारण नेपालीप्रति विशेषगरी विकसित देशले गर्ने विश्वासमा कमी हुँदै आएको छ। यही कारण धेरै देशले नेपालीलाई दिने ‘अन एराइभल भिसा’ (जुन देशमा गइन्छ, उहीँको विमानस्थलमा तत्काल उपलब्ध गराइने) दिन छाडेका छन्। जबकि अहिले हेन्ली पासपोर्ट इन्डेक्सले पासपोर्टको शक्ति नाप्न अपनाएको एउटा आधार यो पनि थियो।

अनुशासन नेपालीमा देखिएको अर्को कमजोर पक्ष रह्यो । गैरकानुनीरूपमा बसेपछि त्यो स्वतः अनुशासन उल्लंघन हुने नै भयो। अनि यस्तो अवस्थामा त्यहाँ गरिने कुनै पनि काम नियमअनुसार हुने भएन नै। जसका कारण पनि नेपालीहरू निशानामा पर्दै आए। नेपाली राहदानीको शक्ति कमजोर हुनुमा यो पनि अर्को कारण रह्यो। यी दुवै कारणसँग जोडिएको अर्को महत्त्वपूर्ण पक्ष ‘आर्थिक’ हो। अर्काको देशमा गएर अवैधरूपमै भए पनि काम गर्नुपर्ने र थाहा हुँदाहुँदै पनि अनुशासन तोड्नुपर्ने बाध्यता गरिबीले निम्त्याएको हो। नेपाल आर्थिकरूपले सम्पन्न हुन्थ्यो भने यो अवस्था आउने नै थिएन। त्यसैले पनि नेपालको राहदानी दिन/प्रतिदिन ओरालो लागिरहेको हो।

वैदेशिक नीति र सम्बन्धमा देखिएको अस्पष्टता र कमजोरी राहदानी कमजोर हुनुको अर्को कारण हो। न आफ्नै कुनै स्पष्ट नीति हुनु न त भएको नीतिमा पनि अडिग रहनु हाम्रो सनातनी कमजोरी हो। हावा जता लाग्यो उतै हल्लिने यस्तो पीपलपाते रवैयाका कारण विदेशीले जनतालाई मात्र हैन, शासकलाई समेत विश्वास गर्ने अवस्था छैन। यसले पनि हाम्रो राहदानीलाई प्रत्येक वर्ष तल झारिरहेको छ।

छिमेकी मुलुकहरू भारत ८५औँ, भुटान ९२औँ र श्रीलंका १०१औँ स्थानमा हुँदा हामी मात्र किन सधैँ ओरालो लाग्नुपर्ने ? प्रश्न गम्भीर छ। खासमा राहदानीको शक्ति कमजोर हुनु भनेको नेपालीहरूलाई महत्त्व नदिनु हो, हलुका ठान्नु हो। शंका गर्नु हो। आवश्यक नपर्ने सूचीमा थन्क्याउनु हो। यसरी हेर्दा यो सवाल सम्पूर्ण नेपालीको शिर निहुराउन काफी छ। त्यसैले यस्तो अवस्थाबाट मुक्तिका लागि सरकार मात्र हैन, सर्वसाधारणसमेत जुर्मुराउनुपर्ने भएको छ।

मुलुकमा राजनीतिक स्थिरता नभएको धेरै भयो। संसद्हरू त्रिशंकु बन्ने र सरकार पनि तानतुन गरेर बनाउनुपर्ने अवस्थाले अस्थिरतालाई मात्र मलजल गरेको छ। यस्तो अवस्थामा सरकारको ध्यान नै पहिले सरकार बनाउने अनि बाँकी समय त्यसलाई कसरी टिकाउने भन्नेमै केन्द्रित हुने गरेको छ। यस्तो अवस्थामा आर्थिक स्थिति सुदृढ तुल्याउने, गरिबी हटाइ समृद्धि भित्र्याउने, रोजगारीका अवसर सिर्जना गर्ने जस्ता पक्षमा ध्यानै जान सकेकोे छैन। कतिपय अवस्थामा विदेशीका चाहनासमेत परिपूर्ति गरेर अघि बढ्नुपर्ने बाध्यता छ।

मुख्य कुरा आर्थिक सम्पन्नता र इज्जतसहितको जीवनयापन हो। यस्तो अवस्था भए मात्र कसैले पनि हेप्न सक्दैन। अहिले हाम्रो राहदानी जुन स्तरमा गिरिरहेको छ, त्यो हामी झन् हेपाइमा पर्दै गएको अवस्था हो। त्यसैले शासनसत्तामा बस्नेहरूले आफू मात्र सत्ता र शक्तिमा कसरी टिकिरहने भन्ने दाउतर्फ नलागी समग्र मुलुकको हितका लागि सोच्ने हो भने सम्पूर्ण नेपालीको शिर निहुरिने यस्तो कार्य नियन्त्रण गर्न सम्भव छ। देशलाई समृद्धि मार्गमा अगाडि नबढाइ समग्रमा पासपोर्टको स्तर बढ्दैन। 

प्रकाशित: ११ फाल्गुन २०८० ०६:४३ शुक्रबार

Download Nagarik App
Download Nagarik App