१२ श्रावण २०८१ शनिबार
image/svg+xml
सम्पादकीय

धूमपानविरुद्ध ‘माया अस्त्र’

प्रत्यक्ष धूमपान गर्ने ८० लाख जनाको मृत्यु हुँदा त्यसको परोक्ष प्रभावबाट थप १३ लाखले ज्यान गुमाउनुपर्ने डरलाग्दो अध्ययन निष्कर्ष छ। यसरी धूमपान गर्ने विश्वमा एक अर्ब तीन करोड छन् भने तिमध्ये ८० प्रतिशत गरिब देशका नागरिक छन्। यो भयावह तथ्यांकले हामीलाई पनि तर्साउँछ किनकि हामी पनि यही ८० प्रतिशत मुलुकभित्र पर्छौँ। मानव मृत्युका अनेकन कारणमध्ये धूमपान प्रमुख हो। सुर्तीजन्य पदार्थ सेवन गर्ने हरेक दुई जनामा एक जनाको मृत्यु हुने गरेको छ। एक खिल्ली चुरोटको धुवाँले ११ देखि १३ मिनेट आयु घटिरहेको हुन्छ। यसरी हेर्दा धूमपान नगर्ने मानिसका लागि १२ महिनाको एक वर्ष हुन्छ भने धूमपानकर्ताको यस्तो वर्षमात्र १० महिनाको हुन्छ।

तर पनि हामीले धूमपानलाई मनोरञ्जनको साधनका रूपमा अंगालेका छौँ। आफ्नै मृत्यु छोट्याइरहेको पत्तै पाएका छैनौँ। कतिपय कुरा नखाँदा वा सेवन नगर्दा सम्भव हुँदैन। तर धूमपान यस्तो लत हो जुन नभए पनि जीवन चल्छ। त्यसैले यो लत नलगाउनु उचित हो। लत लागेकाले पनि छाड्छु उत्तम हो। मानिस धूमपानप्रति यति आशक्त छ कि बरु ऊ मृत्यु नजिक्याउन चाहन्छ तर धूमपान छाड्न चाहँदैन। 

सुर्तीजन्य पदार्थका खोलमा देख्दै डरलाग्दा चित्र अंकित छन्। सार्वजनिक स्थलमा सेवन गर्न नपाइने र गरे कडा कारबाही हुने कानुन पनि छ। खुल्लमखुला र बालबालिकालाई बेच्ने नपाइने नियम पनि छ। काठमाडौँ महानगरपालिकाले अझ कडाइका साथ यस्ता पदार्थ बिक्री र सेवनमा रोकै लगाएको छ। तर पनि धूमपानका अम्मलीहरू यी सबै प्रयासमा चुनौती भएर खडा भएका छन्। जसको असर सेवनकर्ता मात्र नभई उनीहरूका परिवार र अन्य नागरिकलाई समेत परिरहेको छ।

यही तीतो यथार्थबीच मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिलले ‘मेरो एउटा सानो त्याग: मायालुका लागि ठूलो उपहार’ नाराका साथ धूमपान सेवन निरुत्साहित गर्ने उद्देश्यले अभियान थालनी गरेका छन्। आगामी फागुन २ गते एकातिर प्रणय दिवस अर्कोतिर शिक्षाकी देवी सरस्वतीको विशेष आराधना गरिने दिन श्रीपञ्चमी दुवै परेको छ। ज्ञान र प्रेमको मिश्रण गर्दै धूमपान सेवन मुक्त समाज निर्माणका लागि यो दिन सबैभन्दा उपयुक्त हुने निष्कर्षका साथ डा. अनिल सेतो कोटसहित मैदानमा उत्रन लागेका हुन्। 

धूमपान गर्नेलाई दुई देखि चार प्रतिशतसम्म हृदयघात हुने खतरा हुन्छ भने फोक्सोको क्यान्सर हुने सम्भावना २५ प्रतिशत हुन्छ। अत्यधिक चुरोट सेवन गर्ने मानिस स्वतः १५ देखि २५ वर्षसम्म कम बाँच्छ। यस्तो वास्तविकता कसले बुझाउने ? आखिर बुझेका भए त धूमपान सेवनकर्ताको संख्या बढ्नुको सट्टा घट्नुपर्ने हो। हो, यही कुरा बुझाउन उनले अस्पतालको उपचार कक्ष मात्र पर्याप्त हुने ठानेनन्। त्यसैले उनी अब अभियान नै लिएर उत्रनुपर्छ भन्ने निष्कर्षमा पुगे। वास्तवमा एउटा सचेत स्वास्थ्यसेवी चिकित्सकका रूपमा उनको यो सुरुवातलाई सलाम गर्नैपर्छ।

दुनिया मायामा अडेको छ। आफ्नो भन्दा अरू कसैको बढी माया लाग्नु मानव जीवनको अनमोल विशेषता हो। यसैले मानिसलाई सामाजिक प्राणी बनाएको छ। आफू मरेर भए पनि अरूलाई बचाउने चाहना यस्तै भावनाले प्रस्फुटन गर्छ। यस्तो अवस्थामा आफूले सबैभन्दा बढी माया गर्ने मानिस धेरै समय बाँचोस् भन्ने कामना अनमोल हुन्छ। यही मर्मका साथ डा. अनिलले धूमपान त्याग्नका लागि समाएका शब्द मायालु र मायाको सबैभन्दा बढी सम्मान हुने दिन प्रणय दिवस अनि आफ्नै कुलतबारे ज्ञान दिन रोजेका श्रीपञ्चमी आफैँमा प्रशंसालायक छन्। 

एउटा डाक्टरले आफ्नो सचेत भूमिका निर्वाहका क्रममा थालेका यो अभियानमा सामेल भएर धूमपान मुक्त समाज निर्माणमा योगदान दिनु प्रत्येक नागरिकको कर्तव्य हो। यसले प्रियजनको जीवन मात्र बचाउँदैन स्रोतसाधनको संरक्षणसमेत गर्न सहज हुन्छ। 

प्रकाशित: २१ माघ २०८० ०६:०४ आइतबार

Download Nagarik App
Download Nagarik App