६ मंसिर २०८१ बिहीबार
image/svg+xml
सम्पादकीय

भेपको भ्रम

विश्वले प्रविधिमा एकपछि अर्को गर्दै फड्को मारिरहेको छ। जसले जीवनलाई सुन्दर, सहज र छरितो बनाएको छ नै, विकृत तुल्याउन पनि बाँकी राखेको छैन। खासगरी प्रविधि अंगाल्ने नाउँमा यसको दुरूपयोग हुँदा र अंगाल्न नजान्दा प्रविधि र यसका उत्पादन/सहउत्पादन आत्मघाती सावित भइरहेका छन्। जसको चपेटामा युवा वर्ग बढी परेका छन्।

भेप भनिने इ–सिगरेट युवालाई सताउने पछिल्लो कारक बनेको छ। जसलाई चुरोटभन्दा कम हानिकारक र निकोटिन नहुने भनेर प्रचार गरिएको छ भने युवाहरू यसैलाई पत्याएर त्यहीमाथि हामफालिरहेका छन्। जबकि चिकित्सकहरूले भने यो हानिकारक नै रहेको बताइरहेका छन्। देखासिकीमा होस् वा अन्जानमा, कसैको सिफारिसमा होस् वा रमाइलोका नाममा भेप फैलने क्रम जारी छ जसले उनीहरूका अंग/प्रत्यंगमा मन्द विष छरिरहेको छ।

एकातिर सार्वजनिक स्थलहरूमा सुर्तीजन्य पदार्थ बेचबिखन र सेवन गर्न नपाइने कानुन छ। अर्कोतर्फ विभिन्न नाममा यिनै सुर्तीजन्य पदार्थका प्रजातिहरू भने खुलेयाम बिक्री र सेवन भइरहेका छन्। थोक र खुद्रामात्र हैन, अनलाइन बिक्रीसमेत हुने यस्तो भेपले बिस्तारै युवाहरूको ठूलो जमातलाई लततर्फ फसाइरहेको कसैले पत्तै नपाउनु दुःखको अवस्था हो। खासगरी सहरी क्षेत्र यस्तो कुलतको प्रभावबाट बढी नै ग्रस्त पाइएकाले यिनै क्षेत्रमा सतर्कताको बढी खाँचो देखिएको छ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा मात्र चार लाख २६ हजार तीन सय ७२ थान भेप आयात भएको छ। यो वैधानिक माध्यमबाट भित्रिएको भेपको मात्र तथ्यांक हो। यसबाट नेपालमा भेपको प्रयोग कसरी बढिरहेको छ भन्ने थाहा पाउन सकिन्छ। यस्तो भेप नयाँ नयाँ स्वादमा समेत पाइने भएकाले साथीभाइ वा अन्य प्रयोगकर्ताले गरेका स्वादको बखानले पनि युवाहरूलाई यसतर्फ नजानिँदोतवरले धकेलिरहेको छ। जुन प्रवृत्ति सुर्तीभन्दा पनि खतरनाक छ।

विद्युतीय डिभाइसमा रिफिल राखेर बाफ तान्ने चुरोटकै अर्को रूप हो भेप। यस्तो भेप बिजुलीमा चार्ज गरी क्वायल मात्र फेर्न सकिनेखालको हुन्छ भने अर्कोचाहिँ डिस्पोजेबल अर्थात् प्रयोग गरेर फ्याँक्न मिल्नेखालको हुन्छ। यी दुईमध्ये डिस्पोजेबल तुलनात्मकरूपमा सस्तो हुन्छ। पुनः प्रयोग गर्न मिल्ने डिभाइस पनि फरक फरक मूल्य र स्तरका हुन्छन्। यसरी खासगरी चीन र अमेरिकाबाट भित्रिने भेप विशेषगरी युवालाई डस्न उद्यत छ।

काठमाडौंस्थित सिभिल अस्पतालका छाती रोग विशेषज्ञ डा. विदेश बिष्टका अनुसार भेपमा विभिन्नखालका हानिकारक रसायन समावेश हुन्छ जबकि बिक्रेताहरूले यो हानिकारक नभएको भ्रम फिँजाइरहेका छन्। यही भ्रममा परेर चुरोट र सुर्तीका कतिपय अम्मलीसमेत विकल्पका रूपमा भेप सेवन गर्न थालेका छन्। तर सामान्य मान्छेले पनि बुझ्न सक्ने कुराचाहिँ यो हो कि कुनै पनि नसाले ज्यानमा हानि नपुर्‍याउने हुनै सक्दैन। जुन भेप प्रयोगकर्ताले बुझ्न जरुरी छ।

सुर्तीजन्य पदार्थ सेवन स्वास्थ्यका लागि हानिकारक भएकामा दुई मत नै छैन। त्यसैगरी सार्वजनिक स्थलमा किनबेच, आदान–प्रदान र सेवन कानुनीरूपमै वर्जित छ। यस्तो अवस्थामा भेपको किनबेच र सेवनप्रति कडा नियमन जरुरी छ। यसबारे छरिएका भ्रम चिर्न सरकारीतवरबाट ‘भेप साक्षरता’ अभियानकै रूपमा थाल्नुपर्छ जसले युवाहरूलाई यसबारे पर्याप्त जानकारी उपलब्ध गराउँछ र कुलतमा फस्नबाट जोगाउँछ। त्यसैगरी कतिपय अभिभावकलाई आफ्ना सन्तान यो कुलतमा फसेको थाहा नहुन सक्छ। र कतिपयले चाहिँ बरु चुरोटभन्दा यही तानोस् भन्ने सोचेका पनि हुन सक्छन्। त्यसैले भेप साक्षरतामा अभिभावकलाई पनि सक्रिय सहभागी बनाउनुपर्छ। अन्यथा भेपले लागु औषधको भन्दा पनि ठूलो समस्या सिर्जना गर्ने सम्भावना देखिँदैछ।

प्रकाशित: १३ पुस २०८० ००:२५ शुक्रबार

Download Nagarik App
Download Nagarik App