२३ वैशाख २०८१ आइतबार
image/svg+xml
सम्पादकीय

सगरमाथाको सन्चो/बिसन्चाे

सगरमाथा नेपालमा रहे पनि यो विश्वकै धरोहर हो। अर्थात् पृथ्वीकै सबैभन्दा अग्लो हिमचुचुरो भएकाले यो विश्वभरका मानिसका लागि चासो र जिज्ञासाको विषय बन्ने गर्छ। कसैले यो चुचुरोबारे धेरै जानकारी भएकोमा गर्व गर्छन् त कसैले यसबारे अध्ययन गरेकामा। अनि कसैले चाहिँ नेपाल गएर आफ्नै आँखाले प्रत्यक्ष देखेर आएको गर्वसाथ सुनाउँछन् भने चुचुरोको टुप्पो नै चुमेर आएकाले अभिलेख राख्ने नै भइहाले। त्यसैले यो विश्वव्यापी रहस्यमयी शिखरको हालखबरबारे विश्व सधैँ नै जिज्ञासु रहनु स्वाभाविक हो।

यही गगनचुम्बी पहाडबारे चासो राख्नेहरूका लागि भर्खरै एउटा नयाँ खबर सार्वजनिक भएको छ। जसअनुसार यो उच्च शिखर अनुमानविपरित चिसिएको छ। जलवायु परिवर्तनका कारण पृथ्वीको सरदर तापक्रम निरन्तर बढिरहेका बेला सगरमाथा झनै चिसिएको पाइनु सकारात्मक खबर मान्नुपर्छ। किनकि यसरी चिसिने क्रमले एकातिर सगरमाथामा हिउँ रहिरहने अवधि लम्बिन्छ भने अर्कोतर्फ यही कारण हिमनदीको प्रवाह अर्थात पानीको परिमाण कम नहुन यसले सघाउँछ। त्यसैले हिमनदीहरू मासिने, प्रवाह घट्ने, नासिने जस्ता घटना हुने र त्यसले समग्र सभ्यतामा असर पुर्‍याउने डर यो खबरले केही न्यून गरेको छ।

वैज्ञानिक जर्नल नेचर जिओसाइन्समा प्रकाशित अध्ययन प्रतिवेदनमा जनाइएअनुसार सगरमाथाको टुप्पोबाट तलतिर चिसो हावा प्रवाहित हुँदा आधार शिविर वरपर चिसो बढेको पाइएको छ। उच्च हिमाली क्षेत्रको हावाको गति, वर्षा र तापक्रममा हुने घटबढलाई मुख्य केन्द्रमा राखेर गरिएको अध्ययन अनुसार यस्तो फरकखाले तथ्य फेला परेको हो जबकि त्यहाँको जलवायु गतिशीलता यसअघि फरकखाले मानिँदै आएको थियो। जसले धेरै पर्वतीयविज्ञलाई चिन्तितसमेत तुल्याएको थियो।

सगरमाथा मात्र हैन, हिमालयका अन्य क्षेत्रमा समेत यस्तै प्रभाव देखिएको छ। जसलाई प्रतिवेदनले जलवायु परिवर्तनका कारण सिर्जित प्रभावले स्थानीय तहमा चिसो हुने र जसले हिमनदीलाई पग्लनबाट आंशिक रूपमा बचाउन र यो वातावरणलाई सुरक्षित राख्न सहयोग गरेको हुन सक्ने अनुमान गरेको छ। जलवायु परिवर्तनका कारण तीव्र रूपमा पुगिरहेको हानिलाई यस्तो अवस्थाले केही भए पनि राहत प्रदान गर्न सक्ने देखिन्छ।

यस्तो अध्ययनका लागि मौसम मापन केन्द्र समुद्री सतहदेखि ५ हजार ३ सय ६४ मिटर उचाइमा राखिएको थियो। जसमा सन् १९९४ देखिको प्रत्येक घण्टाको तापक्रम विश्लेषण गरिएको थियो। त्यसैले यो अध्ययनलाई भरपर्दो पनि मान्नुपर्छ। अझ त्यति मात्र हैन, तिब्बततर्फ विभिन्न स्थानमा राखिएका यस्तै ५ मौसम मापन केन्द्रको तथ्यांकलाई समेत यो अध्ययनले आधार बनाएको थियो। त्यसैले जलवायु परिवर्तनले जताततै भष्मासुर भूमिका निर्वाह गरिरहेको ठानिएका बेला आएको यो नतिजा नेपाल जस्तो हिमाली अधिराज्यका लागि आनन्दको निद्रा लाग्ने विषय हुनेमा दुई मत छैन।

केही साताअघि मात्र दुबईमा भएको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा हिमाली अधिराज्यहरूले जलवायु परिवर्तनका कारण भोग्नुपरेका विषयमा विशेष जोड दिइएको थियो। नेपालले पनि यो विषयलाई विश्वसामु सुनाउन पहल गरेको थियो। र, आफूले नगरेको दोषको सजाय भोग्नुपरेबापत क्षतिपूर्तिको मागसमेत दरिलोरूपमा उठाएको थियो। यो परिवेशमा अहिले आएको फरकखाले नतिजाले केही चिन्ता न्यूनीकरण गरे पनि सम्भावित जोखिमहरू सकिएको रूपमा यसलाई लिनु हुँदैन अर्थात् ढुक्क भएर बस्ने अवस्थाचाहिँ छैन।

जलवायु परिवर्तनका असरलाई पूरै रोक्न सकिन्न भन्ने सबैलाई थाहा छ। यस्तो अवस्थामा असर न्यून गर्न तथा असरसँग हरक्षेत्रमा अनुकूलनका लागि नेपालले सक्दो प्रयास गर्ने हो। यसका लागि अन्तर्राष्ट्रिय स्तरबाट सक्दो सहयोग जुटाउन लबिङ गर्ने एउटा बाटो छ भने अर्को बाटोचाहिँ आफैँले अहिले आएको नयाँ खबरसमेतलाई दृष्टिगत गर्दै नीति बनाउने र यसलाई बजेटसहित प्राथमिकतामा राखेर अघि बढ्ने हो। 

प्रकाशित: ८ पुस २०८० ००:१३ आइतबार

Download Nagarik App
Download Nagarik App