१२ असार २०८१ बुधबार
image/svg+xml
सम्पादकीय

पुस्तक प्रदर्शनीको पाठ

गएको मंसिर ५ देखि ९ गतेसम्म काठमाडौंमा दक्षिण एसियाली अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी आयोजन गरियो। प्रदर्शनीमा १५ भन्दा बढी देशका प्रकाशक तथा वितरकहरूको सहभागिता थियो । यसमा करिब २५ हजारभन्दा बढी जिज्ञासुले अवलोकन गरेको अनुमान गरिन्छ।

काठमाडौंजस्तो ५० लाख जनसंख्या भएको देशकै राजधानीमा आयोजित पुस्तक प्रदर्शनीमा यो स्तरको अवलोकन ज्यादै न्यून हो । जब कि आयोजकहरूले पत्रकार सम्मेलनमा १५ लाखभन्दा बढीले भ्रमण अवलोकन गर्ने अपेक्षा गरेका थिए । नेपालमा जिज्ञासा, ज्ञान वा पुस्तकप्रति यो हदको निराशा यसअघि कहिल्यै देखिएको थिएन । जब कि नेपालमा साक्षरता ६२ प्रतिशतभन्दा उँभो लागिसक्यो ।

त्यसो त, नेपालमा पुस्तक प्रकाशन र प्रदर्शनको त्यति धेरै लामो इतिहास छैन । नेपालमै छापाखाना राखेर पुस्तक प्रकाशन गर्नुअघिसम्म नेपाली भाषाका किताब भारतको बनारसमा छापिन्थे र नेपाल छिर्थे । नेपालमा प्रज्ञा प्रतिष्ठानको स्थापना हुनुअघि नै पहिलो पुस्तक प्रदर्शनी २०१३ सालमा भएको मानिन्छ । पछि साझा प्रकाशनले आफ्नो शाखा देशभरि फैलाउँदै जान थालेपछि २०२९ सालबाट प्रायः मंसिरमा पुस्तक प्रदर्शन गर्ने चलन बसाल्यो । यसले देशभरि नै पाठकहरूको चासो र रुचि निर्माण गर्न भूमिका खेलेको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीको इतिहास पनि उति लामो छैन । गएका ३० वर्षमा बेलामौकामा गरिने पुस्तक प्रदर्शनी अनियमित मात्र थिएनन्, तिनले सामान्य जनलाई आकर्षण गर्न पनि सकेका थिएनन् ।

प्रदर्शनीहरूको अनियमितता, राम्रा पुस्तकहरूको अभाव र पाठकहरू स्वयंमा पठन संस्कृतिप्रति अरूचिका कारण हाम्रो देशमा आयोजना हुने पुस्तक प्रदर्शनी खासै आकर्षणको केन्द्रबिन्दु बन्न सकेका छैनन् । जब कि नेपालकै नाडा अटो सो नयाँ नयाँ गाडी हेर्न पाइने एउटा गज्जबको प्रदर्शनीमा परिणत भइसक्यो ।

संसारले किताब प्रदर्शनी गर्नुपर्छ भन्ने ज्ञान पाँच सय वर्षअघि नै पाएको थियो । सन् १४५० मा जर्मनीको फ्य्रांकफर्टमा प्रथम पुस्तक प्रदर्शनी भएको थियो । त्यसयता अहिलेसम्म पनि सो प्रदर्शनी कायमै छ । यो नै संसारको सबैभन्दा ठुलो प्रदर्शनी थलोका रूपमा विख्यात छ । स्मरण रहोस्, संसारको पहिलो छापाखाना गटेनबर्ग प्रेस पनि सन् १४४० मा त्यहीं स्थापित भएको थियो ।  

प्रिन्टिङ प्रेसको स्थापना, पुस्तकहरूको व्यापक प्रचारप्रसार र ज्ञानप्रतिको तीव्र चाहका कारण युरोपमा सभ्यताको पुनर्जागरण (रेनेसा) सुरु भएको मानिन्छ । नेपालमा पुस्तक प्रदर्शनी पनि ज्ञानको पुनर्जागरण ल्याउने तहको प्रदर्शनी हुनुपर्ने हो तर त्यो तहमा पुगेको छैन । नेपालमा हरेक वर्ष करिब पाँच हजार पुस्तक प्रकाशन हुने गर्छन् । यो सुखद पक्ष हो । ती पाँच हजार पुस्तकबारे जानकारी दिने÷लिने सामूहिक थलोको अभाव पूर्ति यिनै पुस्तक प्रदर्शनीले गर्छन् । त्यसैले यस्ता प्रदर्शनीलाई चाडका रूपमा विकसित गर्न ढिला भइसकेको छ ।  

पहिला संसारमा सबैभन्दा धेरै पुस्तक बेलायतले प्रकाशन गथ्र्यो । त्यो बेला ऊ संसारकै अगुवा थियो । पछि अमेरिका संसारकै धेरै पुस्तक प्रकाशन गर्ने देश बन्यो ।ऊ पनि अगुवा बन्यो । सन् २०१५ यता भने चीनमा संसारकै सबैभन्दा बढी पुस्तक प्रकाशन हुन्छ । उसले हरेक वर्ष लगभग पाँच लाख शीर्षकका पुस्तक प्रकाशन गर्ने गर्छ ।

धेरै पुस्तक प्रकाशनको अर्थ धेरै बिक्री हुनु पनि हो । धेरै बिक्री हुनुको अर्थ नयाँ कुराप्रति त्यो देशका जनता जागृत र सचेत छन् भन्ने मापो पनि हो । यही मापोमा नाप्ने हो भने हाम्रो देशले वर्षको पाँच हजार पुस्तक छापेर हामी जिज्ञासा, जागृति र सचेतनामा कति तल छौं भन्ने पनि देखाइरहेको छ ।

जति कम पुस्तक उति कम जिज्ञासा, जति कम जिज्ञासा उति अँध्यारोमा मुलुक ! तसर्थ, आउँदा दिनमा यस्ता पुस्तक प्रदर्शनीतर्फ आकर्षण बढाउन आयोजकहरूले व्यापक रूपमा ध्यान दिन जरुरी छ । साथै पुस्तकको विविधिकरण पनि आवश्यक छ । विदेशी पुस्तकको सहज उपलब्धता, लेखकहरूको अन्तरसंवादले पुस्तक बिक्रीमात्र होइन पठन संस्कृतिकै विकास हुन्छ, यसतर्फ विचार पु¥याउँदै प्रदर्शनीलाई बृहद र विशद् बनाउन राज्यको सहयोग पनि अपेक्षित हुन्छ ।

प्रकाशित: ११ मंसिर २०८० ००:२६ सोमबार

Download Nagarik App
Download Nagarik App