१६ वैशाख २०८१ आइतबार
image/svg+xml
सम्पादकीय

तिहार शुभ रहोस्

दसैँ सकिएलगत्तै आउने तिहार नेपालीहरूको दोस्रो ठूलो पर्व हो। जुन कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितियासम्म मनाइन्छ। यो अवधिमा यमराजले आफ्नी बहिनी यमुनाकहाँ ५ दिनसम्म बसेर भाइटीका लगाएको मान्यता छ। यसरी ५ दिनसम्म मनाइने र यमराज जोडिएका हुँदा यो पर्वलाई यमपञ्चक पनि भनिन्छ।

सेलरोटी खाइनु, दसैँ जस्तै पिङ खेल्नु, मिठाइ खानु आदि यो पर्वका विशेषता हुन। त्यसबाहेक यो पर्वमा देउसी र भैली पनि खेलिन्छ। विशेषगरी नाचगान गर्दै खेलिने देउसी भैली तिहारको अरू चाडभन्दा पृथक विशेषता हो। यस क्रममा उठाइने पैसा सामाजिक सेवामा लगाउने क्रम बढ्दै गएकाले दानीहरूको मनसमेत जित्न सफल भएको देखिन्छ।

उज्यालोको पर्व पनि भनिन्छ तिहारलाई। जताततै उज्यालो हुनु, कतै फोहोर रहन नदिनु र फुलैफूलले चातर्फी सजाइनु यो पर्वको अर्को विशेषता हो। खासगरी काटमार नहुनु र मसला, उज्यालो तथा फुलैफूलको साम्राज्यले यो पर्वलाई ढपक्कै छोपेको देखिन्छ। त्यसैले धेरै मानिस दसैँभन्दा तिहारलाई रमाइलो मान्छन्। आफ्ना दिदीबहिनीसँग लगाइने टीका र गरिने दीर्घायु तथा समृद्धिको कामनाले दिदीबहिनी तथा दाजुभाइबीचको सम्बन्ध प्रगाढ बनाउन सघाउ पुर्‍याउँछ। यसर्थ पनि तिहारको सामाजिक र भावनात्मक महŒव बढी छ।

काग, कुकुर, लक्ष्मी, गोवर्धन र भाइ यी पाँच पक्षको पूजाआजा हुन्छ तिहारमा। यसको सन्देश यो हो कि कागदेखि कुकुरसम्म, गाईदेखि गोरुसम्म कसैको पनि महत्त्व कम छैन यस धर्तीमा। अझ भाइ (दाइ) को त कम हुने कुरै भएन। सबैको सम्मान गर्नुपर्छ र भाइचारा कायम राख्नुपर्छ भन्ने सन्देश पनि हो तिहारको पूजा। जसले नेपाली समाज एकअर्काको भूमिकालाई सम्मान गर्ने विषयमा कति उदार छ भन्ने प्रष्ट्याउँछ।

दसैँ, तिहार र छठ जस्ता नेपालीका ठूला र सर्वमान्य पर्वको उपलक्ष्यमा ठूला राजनीतिक दलदेखि सानातिना क्लब, सहकारी आदिसम्मले चियापानसमेत आयोजना गरेका छन्। यो चियापानको अर्थ केबल एक कप चिया र केही थान बिस्कुट खानुसँग मात्र सम्बन्धित छैन। एकापसमा भेट, सम्बन्ध नवीकरण र मनहरू जोड्ने उद्देश्यसमेत यस्ता कार्यक्रमको हो। नभन्दै अघिपछि सामुन्ने पर्नै नमान्ने नेता/व्यक्ति आदिसमेत यस्तो बेलामा निमन्त्रणा स्वीकारेर जाने र मनभित्र गढेको तीतो त्यहीँ पोखेर फर्कने गरेका दृश्य केही समयअघि मात्र पनि देखिए।

त्यसैले नेपाली पर्वहरू खाने, रमाउने, लगाउनेमा मात्र सीमित छैनन्। यी मेलमिलापका मञ्च पनि हुन। वैमनश्यका उपचार पनि हुन र झगडियाबीचका मध्यस्थकर्ता पनि हुन भन्ने पटक–पटक प्रमाणित हुँदै आएका छन्। चाडपर्व भनेका वर्षभरिको चटारोपछिको क्षणिक विराम पनि हो। योबेलामा तरोताजा भएर फेरि कार्य क्षेत्रमा लम्किने हो। चाडपर्व सकिएपछि फेरि वर्षभरि सक्रिय हुनु त छँदैछ।

पछिल्लो समय हत्या, हिंसा, महिलामाथि दुव्र्यवहार आदिका घटना बढ्दै गएका छन्। विशेषगरी ससानो कुरामा पनि रगत उम्लिहाल्ने र गलत क्रियाकलाप गर्न तम्सिहाल्ने प्रवृत्ति पनि बढ्दो छ। मानिसमा बढेको एक्लोपन, असहाय महसुस हुनु, आदर र सम्मानको अभाव ठान्नु जस्ता कारण पनि यस्ता घटना बढेका हुन। त्यसैले यस्ता पर्वलाई जमघट हुने, एकापसमा मित्रता नवीकरण गर्ने, गुम्सेको मन फुकाउने र हृदयलाई फराकिलो बनाउने अवसरका रूपमा परिणत गर्नुपर्छ। बढ्दै गएको इष्र्या र बदलाको भावनालाई नामेट पार्छ। र, एकापसमा सद्भाव बढाउँछ। यही सद्बुद्धिका साथ तिहार मनाउन सकियोस्, सम्पूर्ण नेपालीलाई यो उज्यालो पर्वको शुभकामना।

शुभ तिहार।

प्रकाशित: २६ कार्तिक २०८० ००:१५ आइतबार

Download Nagarik App
Download Nagarik App