मानिसलाई सानो काँडा मात्र बिझ्यो वा जुकाले मात्र टोक्यो भने पनि के के न भएजस्तो तर्सन्छ। अनि त्यो ननिकालुन्जेल आत्तिइरहन्छ। त्यसैगरी हात, खुट्टा, जिब्रो, नाक वा कानमा सानो खटिरा आए पनि निकै चिन्तित हुन्छ र औषधोपचारमा लागिहाल्छ। यसबाट थाहा हुन्छ कि मान्छे आफ्नो अंगहरूप्रति कति संवेदनशील छ भन्ने।
अझ मुटु, फोक्सो, मिर्गौला, कलेजो जस्ता अंग त अंग मात्र नभएर महाअंग हुन् किनकि बरु हात नभए पनि बाँचिन्छ। आँखा नदेख्दा पनि बाँच्न सकिन्छ। खुट्टै नचले पनि वा नभए पनि बाँच्न सकिन्छ। तर मुटु, फोक्सो, मिर्गौला, कलेजो आदि यस्ता अंग हुन् जसले मानव शरीर सुचारु हुनका लागि इन्जिनको काम गर्छन्। त्यसैले यी अंगबिना जीवनको परिकल्पना समेत व्यर्थ छ।
नेपाली महिलाले यिनै इन्जिनरूपी अंगदानमा फराकिलो छाती प्रदर्शन गरेर आफूलाई नमुनका रूपमा प्रस्तुत गरेका छन्। नेपालमा हुने अंगदानमध्ये करिब ७० प्रतिशत अंग दाता महिला भएका तथ्यांक सार्वजनिक भएको छ। यो तथ्यांकले नेपाली महिला दानका लागि कति उदार छन् भन्ने पुष्टि गर्छन्। खासमा यस्ता अंग छुट्याएर भन्दै जाँदा एउटा एउटा भए पनि जीवन सञ्चालन हुनुका लागि अत्यावश्यक हुन्छन्। त्यसैले यस्तो अंगदान गर्नु अंगदान मात्र नभएर जीवन दान नै हो। अर्थात यही कारण दान पाउनेले नयाँ जीवन पाउँछ। त्यसैले जीवन दान दिने सवालमा अग्रपंक्तिमा उभिन सफल नेपाली नारी सम्मानलायक छन्।
कसैलाई मिर्गौला दिँदा वा कलेजो दान दिँदा पनि दिनेहरू सहजै बाँच्न सक्छन्। तर जसरी प्लेनमा भएका दुई वटा इन्जिनमध्ये एउटा बिग्रे पनि अर्कोले सकुशल विमानलाई गन्तव्यमा पुर्याउँछ, त्यसैगरी दुवै अंग कायमै रहँदा एउटामा समस्या आए पनि डर मान्नुपर्दैन। अर्थात आफूसँग भएका उस्तै दुई अंगमध्ये एउटा अरूलाई दिनु भनेको जोखिम बेहोर्न तयार हुनु हो। तर यो कुरा थाहा पाउँदा पाउँदै पनि दानमध्येको पनि सबैभन्दा ठूलो दान जीवन दानमा अग्रसर हुनेहरूको स्तुति शब्दले सम्भव हुँदैन।
पूर्वीय दर्शनबाट दीक्षित हामी नेपाली दानमा विशेष रुचि राख्छौँ। हुन पनि जोसँग जे छ त्यो नहुनेलाई बाँड्नु नै सबैको अस्तित्व स्वीकार गर्नु र सबैजना हाँसीखुसी बाँच्नु हो। यही पक्षमा पुरुष भन्दा निकै अघि बढेर नेपाली महिलाले प्रदर्शन गरेका उदारता वास्तवमै अनुकरणीय छ। जसरी अंगदान दिनेमा महिला ७० प्रतिशतको हाराहारीमा छन्, लिनेमा चाहिँ महिला बढी नभएर पुरुष बढी अर्थात् ७० प्रतिशतको हाराहारीमा हुनुले नेपाली महिलाको यो क्षेत्रको गुन कहिल्यै बिर्सन सकिन्न।
त्यसो त महिलाको हृदय कोमल हुन्छ। उनीहरू धूूमपान/मद्यपान नगर्ने भएकाले पुरुषको तुलनामा स्वस्थ हुन्छन्। त्यसैले पनि अंगदाताका रूपमा तुलनात्मक हिसाबले महिला नै बढी योग्य हुन्छन्। जहाँसम्म पितृसत्तात्मक संरचनाका कारण घरको कमाउने मानिसलाई बचाउनुपर्ने बाध्यता, आफन्तको अप्रत्यक्ष दबाब आदिले समेत यसमा काम गरेको देखिन्छ, त्यसलाई पनि नकार्नुपर्ने आवश्यकता छैन। जे होस्, दाताका रूपमा महिलाको उदार सोच भने प्रशंसालायक छ, छ।
सकभर अंगदान गर्नुपर्ने अवस्था नै नआउनका लागि आवश्यक क्रियाकलाप आवश्यक छ। जिउँदैभन्दा मृत्युपछि अंगदान गर्ने प्रचलन बढाउन सके यो सर्वसुलभ हुन सक्छ। त्यसबाहेक आफन्तलाई सहयोग गर्ने कुरामा महिला वा पुरुष केही नभनी जो पनि अघि सर्दा हुन्छ भन्ने चेतना फैलाउनुपर्छ। र, मुख्य कुरा दातालाई स्वेच्छाको अधिकारबाट वञ्चित गरिनुहुन्न ताकि लैंगिक करकापका आधारमा बाध्यतावश दाता बन्नुपर्ने अवस्था नसिर्जियोस्।
प्रकाशित: १८ भाद्र २०८० ००:२३ सोमबार