१९ वैशाख २०८१ बुधबार
image/svg+xml
सम्पादकीय

बाघको बहुआयामिक उपादेयता

ठूलो र हिंसक जंगली जनावरका रूपमा चिनिन्छ बाघलाई। अनि मानिसलगायत आफू भन्दा कमजोर प्राणीको कालका रूपमा पनि लिइन्छ यसलाई। त्यसैले बिरालो जातिको बाघ शब्दै पनि धेरैजनाको सात्तो जाने कारण बन्दै आएको छ। तर यो प्रकृतिलाई सन्तुलनमा राख्नका लागि, पर्या–पर्यावरणका लागि र मुलुकको आर्थिक उपार्जनका लागि पनि निकै महत्वपूर्ण छ भन्ने जानकारीचाहिँ धेरैलाई अहिले पनि छैन।

यो धर्तीको सुसञ्चालन व्यवस्थित र नियमित हुन प्रकृतिले थुप्रै प्राणी सिर्जना गरेको छ। यीमध्ये जोकसैको अभावमा सन्तुलन खल्बलिइहाल्छ। यसरी हेर्दा मुसोदेखि बाघसम्म सर्पदेखि स्यालसम्म सबैको उपस्थिति कुनै न कुनै हिसाबले अर्थपूर्ण छ। तर यो वास्तविकतालाई मनन गर्न नसक्दा मानव आफ्नो स्वार्थका लागि र मोजमस्तीका लागि जस्तोसुकै कदम चाल्न पनि पछि परेको छैन। जसको उदाहरण आज मानव समुदायले भोगिरहेको प्राकृतिक प्रकोप, जलवायु परिवर्तन, बेमौसमी विपद् आदि हुन्।

बाघ नेपालका लागि नयाँ जन्तु होइन। जब नेपालमा प्रशस्त घना जंगल थियो त्यतिबेला गणना गर्ने प्रविधि नभए पनि प्रशस्तै बाघ पाइन्थे। विशेषगरी राणा शासकले कुनै पनि खुसियालीमा वन्य जन्तु सिकारलाई पनि प्राथमिकतामा राख्ने र त्यस क्रममा बाघ मार्नुलाई ठूलै उपलब्धि हासिल गरेको ठान्ने चलन इतिहासमा पढ्न पाइन्छ। उनीहरू आफू मात्र हैन, विदेशीलाई समेत बोलाएर हप्तौँ जंगलमा बसाउँथे र बाघलगायतका वन्यजन्तु सिकार गर्न दिन्थे। राणा शासक मात्र हैन, पञ्चायती व्यवस्था आइसकेपछिका राजा÷महाराजाहरूले पनि आफ्नो शौख पूरा गर्न र समकक्षीलाई खुसी पार्न नेपालका वन्यजन्तुको भरपुर उपयोग गरे। खासगरी तराईका जंगल यस कार्यका लागि निकै दुरूपयोग भए।

एकातिर बाघलगायतका वन्यजन्तुको संख्या चिन्तालाग्दो किसिमले घट्दै थियो अर्कोतिर नेपाल भने यो चिन्ताजनक स्थितिप्रति बेखबर थियो। यसैबीच वातावरण र वन्यजन्तुबारे चिन्ता गर्नेहरूले नेपालको यो अवस्थाप्रति दुःख व्यक्त गर्न थाले। खासगरी अन्तर्राष्ट्रिय सरोकारवालाहरूले नेपाली शासकहरूलाई यस्तो कर्म सुधार्न दबाब दिन थाले। एकातिर अन्तर्राष्ट्रिय परिस्थिति यस्तो बन्दै थियो अर्कोतिर नेपालमा मलेरिया उन्मूलन भयो र पहाडी क्षेत्रबाट तराई क्षेत्रमा व्यापक बसाइँ सराइ हुन थाल्यो। त्यसपछि त जंगल स्वतः मासिन थाल्यो। राजनीतिक आन्दोलनका क्रममा पनि थुप्रै जंगल फडानी भए। यस्तो अवस्थामा बाघलगायतका वन्यजन्तु स्वतः घट्ने नै भए।

यसरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बनेर लागु भएपछि बाघलगायतका वन्यजन्तु संरक्षणमा निकै योगदान पुग्यो तर विडम्बना, यतिबेलासम्म बाघ संरक्षणका क्षेत्रमा नहुनुपर्ने क्षति भइसकेको थियो। तर पनि त्यसयताका प्रयास भने उत्साहित तुल्याउनेखालकै छन्। सन् २००९ मा नेपालमा १२१ वटा बाघ गणना गरिएकामा त्यसको १२ वर्षपछि २३४ वटा बढ्नु यसको प्रमाण हो। यो यसकारण पनि उत्साहप्रद् तथ्यांक हो कि नेपालले १२ वर्षमा बाघको संख्या दोबर बढाउन गरेको घोषणा भन्दा पनि बढी हो। जसले प्रयास गरे के सम्भव छैन भन्ने प्रमाणित गर्छ।

पर्यटनका विविध आयाम हुन्छन्। यीमध्ये एउटा ‘वन्युजन्तु पर्यटन’ पनि हुन सक्छ। विश्वमा बाघ बस्नेखालका जंगलै नभएका धेरै मुलुक छन्। कतिपय देशमा बाघ नै पाइन्न। त्यसैले यहाँ आउने धेरै पर्यटकमध्ये बाघ हेर्ने उद्देश्यले पनि आउने गर्छन्। नेपालमा आउने कुल पर्यटकमध्ये आधा जतिले निकुञ्जहरूको पनि भ्रमण गर्ने तथ्यांकले पनि नेपालमा वन्यजन्तु पर्यटनको सम्भावना निकै देखिन्छ। यसका लागि बाघ आकर्षणको केन्द्र बन्न सक्छ।

बाघ संरक्षण गर्ने, बाघ बढाउने कुरा गर्दा बाघकै आक्रमणबाट दुःख पाएका, मारिएकाका आफन्तको चित्त दुख्न सक्छ। हो पनि, उनीहरूका आफ्नै दुखेसा छन्। खासगरी निकुञ्ज वरिपरिको मध्यवर्ती क्षेत्र आसपासका बासिन्दालाई थाहा छ वन्यजन्तुले दिने दुःख र उनीहरूले गर्ने आक्रमणको पीडा। त्यसैले बाघ संरक्षणको कुरा गर्दा स्थानीयमाथिको प्रत्यक्ष आक्रमण तथा उनीहरूको जीविकामाथि पुग्ने असरबारे सोच्नै पर्छ। सृष्टि सञ्चालनका लागि बाघ आवश्यक भए पनि यसको अर्थ मानिस मारिएर पनि वा उसले खानै नपाए पनि बाघचाहिँ बचाउनैपर्छ भन्ने लगाउन पाइँदैन। यसर्थ स्थानीयको ज्यान र जीविकासँग जोडेर लैजानुपर्छ संरक्षणका कार्यलाई।

नेपालको आजसम्मको अवस्था हेर्दा बाघ तथा निकुञ्ज संरक्षण गर्ने कार्यमा सुरक्षाकर्मी र ऐनलाई मात्र प्राथमिकता दिइएको छ। ऐनमा लेखिएका कुरा जसरी पनि लागु गर्ने र नमान्नेलाई बन्दूकले तह लगाउने रणनीति अख्तियार गरिएको छ। यसको मतलव स्थानीयलाई संरक्षण प्रक्रियाबाट बाहिर राखिएको छ। अहिले बेलाबेलामा निकुञ्ज सुरक्षाकर्मी, निकुञ्ज प्रशासन र स्थानीयबीच वैमनश्य उत्पन्न हुनुको मुख्य कारण पनि हो।

बाघ संरक्षण गर्नुपर्छ। यसमा दुई मत नै छैन। तर यसको संरक्षणमा स्थानीयलाई सहभागी बनाइ उनीहरूको मन जितेर अघि बढ्नेखालका नीति/रणनीति बनाउन जरुरी छ। त्यसो भएमा एकातिर वन्यजन्तु पर्यटन फस्टाउन सक्छ भने अर्कोतिर मुलुकले राजस्व प्राप्त गर्न सक्छ। यसबाट स्थानीयका ससानै किन नहुन्, व्यवसाय/उद्यम चल्न सक्छ। मुख्य कुरा बाघ हाम्रो शत्रु हैन भन्ने शिक्षा सम्बन्धित क्षेत्रमा फैलाउनु आवश्यक छ अनि ‘मानव–बाघ’ मैत्री योजना बनाएर सरोकारवाला सबैको सहमतिमा लागु गर्नुपर्छ। विश्व बाघ दिवसले नीति निर्माण तहमा बसेकालाई यति मात्र ज्ञान दिन सक्यो भने दिवस मनाउनुको सार्थकता पुष्टि हुनेछ। 

प्रकाशित: १४ श्रावण २०८० ००:३४ आइतबार

Download Nagarik App
Download Nagarik App