नेपाल भूपरिवेष्ठित मुलुक हो। त्यसैले यहाँ डाँडापाखाको अभाव छैन। यो देश समथर तराईको उष्णदेखि उच्च हिमालयको शीतोष्ण जलवायुसम्म उपलब्ध गराउन सक्षम छ। पूर्व–पश्चिम औसत लम्बाइ ८८५ किलोमिटर र उत्तर–दक्षिण औसत चौडाइ १९३ किलोमिटरभित्र अवस्थित यो मुलुकमा पूर्वदेखि पश्चिमसम्म लमतन्न फैलिएका हिमाल, पहाड र तराई छन्। विश्वकै सर्वोच्च शिखर सगरमाथा (८८४८.८६ मिटर) मात्र हैन, त्यसबाहेक ८ हजार मिटर भन्दा बढी उचाइ भएका अन्य ८ वटा हिमशिखरसमेतले सुशोभित छ नेपाल। महाभारत शृखङ्लाका पर्वतले मुलुकलाई प्रशस्त ऊर्जा प्रदान गरेको छ, हरक्षेत्रमा। त्यसैले नेपाल टाकुरा, पहाड, पर्वत जे भने पनि उच्च स्थानहरूले भरिपूर्ण मुलुक भएकामा शंका छैन।
तर विडम्बना भन्नुपर्छ, नेपालका थुप्रै पालिकाले विकासका नाममा भ्यु टावरमा बजेट खन्याए। मुलुक संघीय संरचनामा गएसँगै बजेट र विकास चयनको जिम्मा पनि पालिकामा गयो। यो अवसरलाई दुरूपयोग गरेर उनीहरूले विकासका नाममा बजेट विनाश गरे। विनाश यस अर्थमा कि माथि भनिएझैँ हाम्रो देशका अधिकांश ठाउँमा कुनै पनि दृश्य नियाल्नका लागि थुप्रै प्राकृतिक भ्यु टावर तयारी अवस्थामा छन्। उनीहरू प्रत्येक दिन पाहुनाको स्वागत सत्कारका लागि आतुर छन्। तर हामीले ती स्थान देखेनौँ। हामीले तिनलाई रुखो पहाड सम्झ्यौँ। हामीले तिनलाई भिर पाखोको पगरी लगाइदियौँ। हामीले तिनलाई एकान्त जंगलको उपमा दिलाइदियौँ। हामीले तिनलाई असुरक्षित र टाढाको स्थानको संज्ञा दियौँ।
अनि तिनीहरूका अगाडि फुच्चे देखिने टावर बनाउन पैसा खन्यायौँ। र, यसबाट भ्यु देखिने प्रसार गर्यौँ। पहिलो कुरा त पहाडै पहाडले घेरिएको मुलुकका बासिन्दा हौँ भन्ने बिर्सेर बनाइएको टावर प्राकृतिक टावर भन्दा अग्ला हुनै सक्दैनन् भन्ने हामीले बुझेनौँ। दोस्रो वरिपरिका प्राकृतिक टावरका कारण त्यस्ता टावरले धेरै दृश्य देखाउने भन्दा पनि छोप्न मात्र मद्दत गर्छन् भन्ने ज्ञान हामीलाई भएन। तेस्रो, वल्लो गाउँ पल्लो गाउँ सबैतिर टावरै टावर बनाएपछि हाम्रो टावर उक्लन कोही पनि आउँदैन भन्ने हेक्का पनि हामीलाई भएन। चौथो, त्यस्ता टावर बनाइसकेपछि त्यसलाई प्रभावकारी सञ्चालन गर्न आवश्यक पर्ने उपकरण, कर्मचारी व्यवस्थापन आदिका लागि त्यसको आम्दानीले भरथेग गर्छ कि गर्दैन भन्ने हेरेनौँ।
यिनै दर्जनौँ कारण हुन् जसले विगतका भ्यु टावरमध्ये धेरै अहिले नै भूत बंगलामा परिणत भइसकेका छन्। केही टावर परिसर डेटिङस्थलमा परिणत भएका छन् भने केहीचाहिँ गोठालाहरूका लागि घाम र पानी छेक्ने स्थल बनेका छन्। के यिनै कार्यका लागि यति धेरै पैसा खन्याउनु आवश्यक थियो ? तर पनि पालिकाहरूले यसका लागि आफूहरूले गरेको खर्च र त्यसको प्रतिफलबारे पश्चाताप नगर्नु भने चिन्ताको विषय बनेको छ।
हो, प्रायः समथर जमिन रहेको तराई क्षेत्रलगायत कतिपय ठाउँमा यस्ता भ्यु टावर आवश्यक हुन सक्छन्। तर देशैभरि यहीखालको सिको अनावश्यक छ। हामीले मौलिक विकासबारे नसोच्दा, पृथक शैलीले पनि आफ्नो गाउँठाउँलाई चिनाउन सकिनेबारे चिन्तन नगर्दा ‘सिको विकास’ को सहारा लिनुपरेको हो। भ्यु टावर यसको उदाहरण मात्र हैन, सिको विकासले कसरी हाम्रो बजेट र विकासका नाममा निर्माण गरिएको भौतिक पूर्वाधार बालुवामा पानी हुन पुग्छ भन्ने प्रमाण पनि हो।
संघीय राजधानीमै झोरको बरुणेश्वरबाट राजधानीको दृश्य छर्लंग देख्न सकिन्छ। कागेश्वरीबाट धेरै भूभाग नियाल्न सकिन्छ। धेरै टाढा जानै पर्दैन, मुख्य सहरबाट एकाध घण्टाको दूरी पार गर्दासाथै चारैतिर यस्ता प्राचीन थुम्काथुम्की धेरै भेटिन्छन् जसबाट वरिपरिका दृश्यावलोकन मजाले गर्न सकिन्छ। केही घण्टा बिताएर, रैथाने खानेकुरा खाएर फर्कन सकिन्छ। मोफसलको अवस्था पनि यो भन्दा पृथक छैन। तर हामीले यस्ता प्राचीन र पहिल्यैदेखि तम्तयार प्राकृतिक टावरलाई उपेक्षा गर्यौँ अनि विकासका नाममा ती भन्दा निकै पुड्का ठाउँमा भ्यु टावरका लागि बजेट खन्यायौँ।
हामी विकासको चरम उपलब्धि भोगिरहेका मुलुक हैनौँ। त्यसैले हाम्रा प्राथमिकता अहिले पनि गाँस, बास र कपासको सुनिश्चिततामै घुमिरहेका छन्। खासगरी पश्चिमाहरू अन्तरिक्षमा बसोबासको कुरा गरिरहँदा हामी भने एक घण्टा मात्र पानी पर्दा पनि सहरहरूकै सडकमा डुंगा चल्ने अवस्था हेर्न विवश छौँ। दिउँसै मानिस निलुँलाझैँ बसेका मुख्य सहरहरूकै खाल्डाले हामीलाई तर्साइरहेका छन्। यत्रतत्र छरिएका खानेपानीका करङहरूले मानिसलाई अल्झाएर घाइते बनाइरहेका छन्। सम्पूर्ण खम्बामा साम्राज्य फैलाइरहेका तारहरूले आगलागी र अन्य दुर्घटनालाई निम्तो दिइरहेका छन्। भूमिहीनहरू भोकै निदाउन बाध्य छन्। तर हामी भने यी यावत् समस्या देख्दैनौँ। अनि आफ्नो पालिकाको विकास नहुनुको एक मात्र मुख्य कारण भ्यु टावरको अभाव नै हो भन्ने एकसूत्रीय रटानमा लागिरहेका छौँ। यो सोच नेपाल जस्तो मुलुकका लागि खतरनाक छ।
विकास आवश्यकतामा आधारित हुनुपर्छ। विकास भनेको भौतिक पूर्वाधार मात्र नभएर मानिसको चौतर्फी सन्तुष्टिसँग सम्बन्धित विषय हो। कुनै पनि भौतिक पूर्वाधारले जनतालाई सन्तुष्ट पार्न सकेन भने त्यो विकासको आधुनिक परिभाषाभित्र अटाउँदैन। त्यसैले कहीँ कसैले कुनै परिवेशमा आवश्यक ठानेर निर्माण गरेको भ्यु टावर जस्तो विकास सबैले पछ्याउन आवश्यक छैन। यसको सट्टा परिवेशमा आधारित मौलिक विकासमा जोड दिनुपर्छ। अहिले सम्पूर्ण पालिका बजेट निर्माणको करिब करिब अन्तिम चरणमा छन्। त्यसैले यतिबेलै यो विषयमा पनि सोचियो भने मात्र विकासका नाममा थप विनाश हुनबाट जोगाउन सकिन्छ। सबैलाई चेतना भया।
प्रकाशित: २६ जेष्ठ २०८० ००:२५ शुक्रबार