१२ असार २०८१ बुधबार
image/svg+xml
सम्पादकीय

बाल विवाहको बन्धन

विवाहलाई विभिन्न अर्थमा बुझिन्छ। कसैले यसलाई सम्झौता ठान्छन्। कसैले संस्कार भन्छन्। अनि कसैले चाहिँ वंश निरन्तरताको प्रक्रिया बुझ्छन्। विवाह आजको दिनमा नारी, पुरुष र अन्य लैंगिक पहिचानको संगम पनि हो। विवाहको परिभाषा जे भए पनि, तरिका र प्रक्रिया जस्तो भए पनि यो सर्वस्वीकार्य छ। त्यसैले विश्वका कुनै पनि ठाउँमा यो सबेभन्दा ठूलो मानव संस्थाका रूपमा क्रियाशील छ।

कुनै पनि कुराको सीमा हुन्छ। नियम हुन्छ। यस्ता नियम र सीमा मिचियो भने त्यसले दुर्घटना निम्त्याउँछ। विवाहको सन्दर्भमा पनि यो लागु हुन्छ। जस्तो माथि भनिएझैँ विश्वकै अधिकांश समाज/समुदायमा विवाह सन्तानोत्पादनलाई वैधता प्रदान गर्ने एक माध्यम पनि हो। त्यसैले विवाहपछि बाबु वा आमा बन्ने स्वाभाविक प्रक्रिया छ। यसरी सन्तानको अभिभावक भइसकेपछि जिम्मेवारी थपिन्छ। त्यसैले उमेर, रोजगारी तथा ज्ञानका हिसाबमा परिपक्व नभई गरिने विवाहले समस्या निम्त्याउँछ।

अझ यसमा पनि गर्भको सम्पूर्ण जिम्मेवारी लिनेदेखि बच्चा जन्माउने र हुर्काउनेसम्मका प्रायः भूमिकामा करिब करिब एकल जिम्मेवारी बहन गर्नुपर्ने हुँदा बिहेका लागि महिलाको हरक्षेत्रमा परिपक्वता महत्वपूर्ण हुन्छ। जब कलिलै उमेरमा बिहे गरिन्छ तब उनको स्वास्थ्य यसका लागि तयार भइसकेको हुँदैन। यस्तो अवस्थामा विभिन्नखाले स्वास्थ्य समस्या सिर्जना हुन्छ। यस्तो समस्याले आमालाई मात्र हैन, सन्तानलाई समेत सताउँछ। त्यसैले उमेर नपुगी वा अन्य पक्षमा परिपक्व नभइ गरिने विवाह महिलाका लागि रोग, पीडा र पश्चातापको मुख्य स्रोत हुने गरेको छ।

१६ वर्षको उमेरमै विवाह गरेकी जुम्लाको पातरासी गाउँपालिका–५ की जडेनी बुढाले १९ वर्षपछि महसुस गरेकी छिन् कि सानैमा विवाह गरेका कारण जीवनको चौतर्फी विकास अवरुद्ध भयो। त्यसलाई जीवनकै सबैभन्दा ठूलो भूल भएको ठान्ने उनी यतिबेला पश्चातापबाहेक केही गर्न नसकिने अवस्थामा पुगेकी छिन्। त्यसैगरी बाबुआमाले नै बाल विवाह गरिदिएका अर्की महिला रीता खड्का पनि यही कारण जीवनका सम्पूर्ण सपना चकनाचुर भएको बताउँछिन्। उनलाई बिहे गर्न मन नहुँदा नहुँदै पनि बाबुआमा र दाजुको जिद्दीले बिहे गर्नुपरेपछि सानै उमेरमा बच्चा जन्माउनुपरेको, तिनैको लालनपालनले कतै निस्कन नपाएकाले बर्बाद भएको गुनासो उनीसँग छ।

बाल विवाह दुईप्रकारले हुने गरेको देखिएको छ। पहिलो अभिभावकले नै गरिदिन्छन्। दोस्रो कारणचाहिँ अल्लारे बुद्धि पाइएको छ। जे/जसरी बिहे भए पनि बाल विवाहको बढी असर महिलाले नै भोग्नुपर्छ। उसै त छोरीलाई पढाउने समाज होइन हाम्रो। त्यसमाथि बुहारी भएपछि पढाइ अघि बढाउनु फलामको चिउरा चपाउनुसरह हुन्छ। त्यसैले नेपाली परिवेश र अझ दुर्गम गाउँठाउँमा बिहेपछि पनि पढाइलाई निरन्तरता दिन्छु भन्नु असम्भवप्रायः छ। यसको मतलव बाल विवाह पढाइका लागि सबैभन्दा ठूलो दुश्मन प्रमाणित भएको छ।

कानुनी रूपमा पनि बाल विवाह निषेध छ तर हाम्रो सन्दर्भमा। तथापि, प्रथाजनित तत्वहरू गतिलै जरा गाडेर बसेका अवस्थामा कानुनसमेत भुत्ते हुने गरेका विभिन्न घटनाले देखाएका छन्। नेपालको कानुनअनुसार विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष पुग्नैपर्छ। २० वर्ष नपुगी भएको विवाह स्वतः बदर हुन्छ। बाल विवाहसम्बन्धी कसुर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था छ। तर पनि बाल विवाह हुने क्रम रोकिएको छैन। यसलाई भर्खर सार्वजनिक राष्ट्रिय जनगणना २०७८ ले समेत पुष्टि गरेको छ। यो जनगणना अनुसार ०.५ प्रतिशतको १० वर्ष भन्दा कम उमेरमा विवाह भएको थियो भने १० देखि १४ वर्षको उमेरमा विवाह हुनेको प्रतिशत १०.२ छ। त्यसैगरी १५ देखि १७ वर्षको उमेरमा विवाह हुनेको प्रतिशत ३०.४ छ। यो यस्तो राष्ट्रिय तथ्याङ्क हो जसले कानुनलाई समेत चुनौती दिइरहेको छ।

जहाँ समस्या हुन्छ त्यहाँ समाधान पनि हुन्छ। जस्तो–जुम्लाकै कुरा गर्दा पातरासी गाउँपालिकामै विभिन्न वडालाई बाल विवाह मुक्त क्षेत्र घोषणा गर्ने काम सुरु भएको छ। कुनै पालिकाले विवाह गर्दा अनिवार्य रूपमा अग्रिम स्वीकृति लिनुपर्ने नियम बनाएका छन्, उमेर जाँच्नकै लागि। अनि कुनैले भने बाल विवाह गरेमा विवाह दर्ता नगर्ने र स्थानीय तहबाट उपलब्ध हुने कुनै पनि सुविधा नदिने बताएका छन्। कतिपय शिक्षालयका शिक्षिका शिक्षकले बाल विवाहमा निमन्त्रणा गरे पनि नजाने वा बहिष्कार गर्ने अभियान चलाएका छन्। अनि कतिपय गैरसरकारी संस्थाहरूले लमी, पुजारी तथा पण्डितहरूलाई बाल विवाह गरे/गराए हुने सजायबारे अभिमुखीकरण गराएका छन्।

यी यस्ता उपायले एकातिर बाल विवाह रोक्न मद्दत गर्छ भने अर्कोतिर हजारौँ बालिकाको भविष्य अन्धकारमय हुनबाट बचाउँछ। उनीहरूलाई चाँडै आमा बनेर त्यसबापत धेरै समस्या बेहोर्नुपर्ने, कुपोषण, बढी रक्तश्राव, तनाव जस्ता समस्याबाट मुक्त गराउँछ। यस्तो अवस्थामा न जडेनी, न त रीताहरूले नै बाल विवाह गरेपछिको अत्यासलाग्दो जीवन सामना गर्नुपर्छ। उनीहरू जसरी पछुताउन नपरोस् भन्ने हो भने आफ्नो परिवेशअनुसारको नीति बनाएर अघि बढ्न पनि सकिन्छ। र, यसका लागि मुख्य पहलकदमी भने स्थानीय सरकारका रूपमा मान्यता पाएको पालिकाले लिनु सबै भन्दा प्रभावकारी हुन्छ। अतः बालबालिकालाई विवाहको वन्धन होइन शिक्षा र सामथ्र्यको उडान दिऔं। यसैले हाम्रो समाजको भविश्य सुखद बनाउँछ। 

प्रकाशित: २४ चैत्र २०७९ ००:०३ शुक्रबार

Download Nagarik App
Download Nagarik App