पछिल्ला दिनहरूको बिहानीपख राजधानी काठमाडौँ विश्वकै सबैभन्दा प्रदूषित सहर सूचीको अग्रपंक्तिमा छ। शनिबार बिहान विश्वकै सबै भन्दा प्रदूषित सहरमा इराकको बग्दाद रहेको थियो भने १६३ अंकसहित काठमाडौँ वायु प्रदूषण सूचकांक (एक्युआइ) मा दोस्रो नम्बरमा रहेको थियो। विश्वभरको ‘रियल टाइम’ प्रदूषण मापन गर्दै आएको संस्था आइक्युएयरका अनुसार शुक्रबार त १८१ अंकसहित राजधानी काठमाडौँ विश्वकै सबै भन्दा प्रदूषित सहरको पहिलो नम्बरमा उक्लेको थियो। पानी परेका कारण तुलनात्मक रूपमा अघिल्ला दिनको भन्दा कम प्रदूषण रहे पनि आइतबार बिहान पनि काठमाडौं विश्वका प्रदूषित सहर सूचीको २१औं स्थानमा थियो।
विशेष गरी हिउँद याममा राजधानी उपत्यकामा वायु प्रदूषण ह्वात्तै बढ्छ। यो अवस्था वर्षायाम सुरु नभएसम्म कायमै रहन्छ। कचौरा आकारको भूगोल र वरिपरिका अग्ला डाँडाका कारण खाल्डोमा सिर्जना हुने प्रदूषण वायुमण्डलमा सजिलै छरिन नपाउनु राजधानीको प्रदूषणको एक कारण हो। तर भौगोलिक कारण जस्तो भए पनि हाम्रा कारणले हुने प्रदूषण रोक्नमा पहल निराशाजनक छ। राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहरको अग्रसूचीमा दरिएको हो। वायु प्रदूषणका लागि सवारी साधनले गर्ने उत्सर्जन प्रमुख कारक रहँदै आएको छ। उपत्यकामा मात्र दुई पांग्रेसहित १५ लाख सवारी साधन गुड्ने सरकारी तथ्यांक छ। खनिज इन्धन (फोसिल फ्युल) आधारित यी सवारी साधनले विषाक्त धुवाँ फालिरहेका छन्। यसरी उत्सर्जन हुने मानिसको राँैको मोटाइ भन्दा ५०औँ गुणा साना वायु प्रदूषणका कणहरू (पिएम २.५) फोक्सो हुँदै मानिसको रगतमा प्रवेश गर्ने र यसले विभिन्न स्वास्थ्य समस्या उत्पन्न गर्ने अध्ययनले देखाएका छन्।
श्वास/प्रश्वाससम्बन्धी तथा मुटु रोगका लागि पनि वायु प्रदूषण प्रमुख कारक मानिन्छ। प्रदूषण मापन गर्दा प्रतिघनमिटर वायुमा २.५ माक्रोमिटर तथा सो भन्दा सानो व्यास भएका सूक्ष्म कणलाई पिएम २.५ रूपमा मापन गरिन्छ भने प्रतिघनमिटर वायुमा १० माइक्रोमिटर भन्दा व्यास भएका कणहरूलाई पिएम १० का रूपमा नापिन्छ। यस्तो प्रदूषणको कारक सवारी साधनले गर्ने उत्सर्जन घटाउन सरकारले खासै उल्लेख्य प्रयास गरेको छैन। सवारी साधनको छड्के जाँचले पनि प्रष्ट पारेको छ– राजधानीका अधिकांश सवारी साधनले उत्सर्जन मापदण्ड पूरा गरेका छैनन्। मर्मत/सम्भार राम्रोसँग नगरिएका यी सवारी साधनले फ्याँक्ने कालो धुवाँले राजधानीबासीको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्दै आएको छ। विशेष गरी सवारी साधनमा डिजेलबाट चल्ने सार्वजनिक बस, पानी बोक्ने ट्यांकर तथा माइक्रो बसहरूले विषाक्त धुवाँ उत्सर्जन गरेको पाइएको छ। धुवाँ निकाल्ने सवारी साधन भन्दा विद्युतीय माध्यमतर्फको यात्रा सहज देखिएको छैन। शून्य प्रदूषण गर्ने यस्ता माध्यम अपनाउनेतर्फ रणनीतिक योजनाको अभाव देखिएको छ। विद्युतीय सवारीलाई प्रोत्साहित गर्ने नीतिगत व्यवस्थाको सर्वथा अभाव छ।
यसैगरी राजधानी खाल्डोका सडकमा धुलो अत्यधिक छ। राजधानीमा सधैँ कहीँ न कहीँ बाटो निर्माण भैरहेको हुन्छ। सम्बद्ध निकायले आपसी समन्वय नगरी ढल, पानीका पाइप तथा विद्युत लाइन विस्तार गर्ने गरेका छन्। यसले सडकका धुलोको मात्रा घट्न सकेको छैन। यसैगरी घरायसी एवं कृषिजन्य फोहोर खुला रूपमा जलाउने कार्यलाई प्रतिबन्ध लगाउने सरकारी घोषणा कार्यान्वयन प्रभावकारी हुन सकेको छैन। मानव स्वास्थ्य र वातावरणलाई गंभीर प्रभाव पार्ने वायु प्रदूषणका लागि खुला रूपमा फोहोर र कृषिजन्य वस्तु बाल्दा हुने उत्सर्जन अर्काे एक प्रमुख कारण हो। प्लास्टिकजन्य फोहोर, टायर लगायतका वस्तु जलाउँदा निस्कने धुवाँमा मानव स्वास्थ्यका लागि हानिकारक विषाक्त कण हुन्छन्। २०७६ फागुनमा मन्त्रिपरिषद्ले स्वीकृत गरेको काठमाडौँ उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना २ वर्षभित्रै घरायसी एवं कृषिजन्य फोहोरलाई जलाउने कार्यलाई कानुनी रूपमा प्रतिबन्ध लगाउने भनिएको पनि हो। तर कार्ययोजना कार्यान्वयन भएको वर्षाैँ बितिसक्दा पनि यो कानुनी व्यवस्था हुन सकेको छैन।
राजधानी खाल्डोमा रहेका इँटा भट्टाले गर्ने उत्सर्जन पनि चिन्ताको कारक हो। यसले प्रयोग गर्ने प्रविधिमा सुधार तथा रूपान्तरण गरेर कार्बन उत्सर्जनलाई न्यून गर्ने केही प्रयास भए पनि अझै अपेक्षित प्रगति भएको छैन। राजधानी काठमाडौँ मात्र होइन, समग्र नेपाल हावामा पाइने अत्यन्त सूक्ष्म कण (पिएम २.५) को वार्षिक सरदर सघनताको हिसाबमा विश्वको अत्यधिक प्रदूषित देशमा पर्छ। आइक्युएयरका अनुसार सन् २०१८ देखि सन् २०२२ सम्म तथ्यांकका आधारमा विश्वको सबै भन्दा प्रदूषित राष्ट्रको सूचीमा नेपाल १६औँ स्थानमा पर्छ। पर्यटकलाई स्वागत गरेर अर्थतन्त्र सुधार गर्न चाहने हाम्रो मुलुकले यो पक्षमा ध्यान दिनुपर्दैन?
यो समग्र अवस्थाले के प्रष्ट पार्छ भने सरकार, नागरिक समाज र सर्वसाधारण प्रदूषणको भयाबह अवस्थाबारे जति गम्भीर हुनुपर्ने हो, त्यसो हुन सकेको छैन। नियामक निकाय प्रदूषण न्यूनीकरण गर्न गंभीर हुनैपर्छ। त्यसो त, सरकारी निकायले गर्ने नियमन र कारबाहीले मात्र यो समस्या समाधान हुन सक्दैन। आफ्ना सवारी साधनले गर्ने उत्सर्जनप्रति सर्वसाधारण पनि उत्तरदायी हुन्छन्। घरबाहिर फोहोर खुलारूपमा जलाउने कार्य रोक्न सर्वसाधारणको जागरूकता र चेतना आवश्यक छ। यो समस्या सम्बोधन गर्न स्थानीय सरकार, सम्बद्ध सरकारी निकाय र आमसर्वसाधारणको सक्रियता र निगरानी अपरिहार्य छ।
सरकारले वायु प्रदूषण नियन्त्रणका लागि कानुन तथा मापदण्डहरू बनाएको त छ तर यिनको कार्यान्वयनको अवस्था अत्यन्त कमजोर छ। नियमहरू तथा मापदण्ड बनाएर लागु गर्न नसक्नुलाई स्वीकारयोग्य विषय मान्न सकिँदैन। यो अथवा त्यो निहुँमा सम्बद्ध निकायबीच समन्वय हुन सकेन भन्ने छूट कसैलाई हुनुहुँदैन। जनस्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने विषयमा स्थानीय र केन्द्रीय सरकार गंभीर हुनैपर्छ। यसले दीर्घकालीनरूपमा मुलुकबासीलाई घात गर्छ। यसबारे बेलैमा चिन्तन हुनु आवश्यक छ। समस्याको पहिचान भइसकेको वर्षौँ भइसक्दा पनि समाधान निकाल्नेतर्फ जिम्मेवार निकायको ध्यान नजानु आफैँमा चिन्ताको विषय हो। प्रदुषण नियन्त्रणका लागि कामचलाउ प्रयास मात्र गरेर हुदैन, यसमा दृढ राजनीतिक प्रतिवद्धता र इच्छाशक्ति आवश्यक हुन्छ।
प्रकाशित: ५ चैत्र २०७९ २३:४८ आइतबार