७ चैत्र २०८२ शनिबार
image/svg+xml
सम्पादकीय

राष्ट्रपति संस्थाको निरन्तरता

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको सपथ र निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको बिदाइका क्रममा शितलनिवासमा सोमबार चहलपहल रह्यो। सात वर्ष लामो सार्वजनिक जिम्मेवारी पूरा गरी भण्डारी निजी जीवनमा फर्केकी छन्। मुलुकमा २०७२ मा नयाँ संविधान जारी भएलगत्तै उनी मुलुकको पहिलो महिला राष्ट्रपतिको जिम्मेवारीमा पुगेर इतिहास रच्न सफल भएकी हुन्। देश लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि दुई राष्ट्रपतिले अवकाश लिएका छन्। डा. रामवरण यादवपछि अवकाश लिएकी भण्डारीले राज्यबाट सेवा÷सुविधा नलिने घोषणासमेत गरेकी छन्। राज्यले आफूलाई धेरै दिएको हुनाले अब लिने भन्दा दिने काम गर्नुपर्छ भन्ने उनको स्वीकारोक्ति प्रशंसनीय छ।  

मुलुक गणतन्त्रमा प्रवेश गरेपछिको संस्था हो– राष्ट्रपति। यो पदमा रहेर भण्डारीले गरेको योगदानका निम्ति कृतज्ञ हुनुपर्छ। पदमा रहँदा उनले गरेका कामका गुण र दोषका आधारमा इतिहासले मूल्यांकन गर्नेछ। यसअघिका दुई राष्ट्रपतिले गरेका कामको आलोकमा नयाँ राष्ट्रपति पौडेलले आफ्नो भूमिका निर्धारण गर्नु उचित हुन्छ। यसअघिका राष्ट्रपतिका कुन कुन कदम विवादमा रहे र त्यसबाट लिनुपर्ने शिक्षा के हो भन्ने उनले जान्ने कुरा हो। हाम्रो लोकतन्त्र निर्माणकै क्रममा छ। सुरु कालका राष्ट्रपतिले गरेका भूमिकाले भविष्यको हाम्रो अभ्यासलाई परिभाषित गर्न मद्दत गर्छ।  

राष्ट्रपति हुँदा जुन तहका व्यस्तता हुन्छ, त्यो निजी जीवनमा फर्केपछि नहुन सक्छ। तर पूर्वराष्ट्रपतिका रूपमा राज्यले दिने सम्मानमा कमी हुनुहुँदैन। राज्यबाट म केही लिन्न भन्नु सम्बन्धित पूर्वराष्ट्रपतिको बडप्पन हो। राज्यका तर्फबाट गर्नुपर्ने सम्मान यथावत् हुन्छ। आफ्नो कार्यकाल पूरा गरेर फर्केका पूर्वराष्ट्रपति अहिलेसम्म कुनै राजनीतिमा सक्रिय नभएको स्थिति छ। तर राज्यबाट कुनै सेवा÷सुविधा नलिने घोषणा गरेकी पूर्वराष्ट्रपति भण्डारीले भने आगामी दिनमा राजनीतिक सक्रियता देखाउन सक्ने आकलन गरिएको छ। दलको राजनीतिमा फर्किएर फेरि कार्यकारी पदसम्म पुग्ने राजनीति पूर्वराष्ट्रपतिबाट भयो भने त्यो पनि हाम्रो मुलुकका निम्ति अर्को एउटा नयाँ अभ्यास हुन सक्छ। त्यसले बसाउन सक्ने राजनीतिक परम्पराको अभ्यास भने छलफलको विषय हुन सक्छ।  

हाम्रो मुलुकमा राष्ट्रपति पद कार्यकारी होइन। आलंकारिक पद भन्दाभन्दै पनि यसअघिका दुबै राष्ट्रपतिका कार्यकालमा भएका केही निर्णयले यो पदलाई विवादमा पारेको छ। प्रथम राष्ट्रपति यादवले तत्कालीन प्रधानसेनापति रुक्मांगत कटवाललाई हटाउने सरकारको निर्णयलाई  

उल्ट्याइदिएका थिए। कालान्तरमा त्यो निर्णयकर्ता पुष्पकमल दाहालले आफूबाट गल्ती भएको भन्ने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन्।  

राष्ट्रपति भण्डारीको हकमा भने अघिल्लो भन्दा पछिल्लो कार्यकालमा बढ्ता विवाद भएको छ। उनी निर्वाचित भई गएको पद नेकपा (एमाले) प्रतिको उनको आशक्तिको पनि चर्कै आलोचना भएको थियो। पार्टीमा विवाद हुँदा पनि उनले शितलनिवासबाटै सुलह गर्नसमेत खोजेकी थिइन्। विशेषगरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा उनले राष्ट्रपतिको भूमिका निर्वाह गर्न नसकेको टिप्पणी भएको छ। प्रतिनिधिसभाको दुईदुई पटक विघटन हुँदा उनले राष्ट्रपतिको भूमिकाअनुरूप काम नगरेको आरोप लागेको छ। त्यसैगरी नागरिकता विधेयक ल्याउँदा र अध्यादेशका बेलाको उनको भूमिका पनि प्रश्नको घेरामा परेको छ। भलै उनले अध्यादेश आफूले रोक्न नसक्ने तर विधेयक रोक्न सक्ने अधिकार भएको बताउने गरिएको छ। तर संसद्ले दुई पटक पारित गरेर पठाएको विधेयक राष्ट्रपतिले रोक्न सक्ने अवस्था थिएन। संविधानले राष्ट्रपतिलाई त्यो तहको उन्मुक्ति दिएको छैन। राष्ट्रपतिले त्यसलाई स्वीकृति प्रदान गरे पनि गुण र दोषको भागी सरकार हुन्छ, राष्ट्रपति हुनु पर्दैन।  

राष्ट्रपतिको अहिलेको निर्वाचनसम्म आइपुग्दा विगत अभ्यासकै कारण बढ्ता विवाद भएको छ। त्यति मात्र होइन, यो पदलाई कार्यकारीकै तहमा राखेर दलहरूबीच प्रतिस्पर्धा भएको छ। शितलनिवासबाट पनि राजनीति गर्दा यो अवस्था आउन सक्ने ज्ञान सबैलाई भएको छ। त्यसकारण शासन गर्न शितलनिवास पनि दाहिना हुनुपर्छ भन्ने भाष्य बन्न खोजेको छ। देशका प्रत्येक संस्था विवादमा परेका बेला राष्ट्रपति संस्थालाई विवाद भन्दा माथि राख्नुपर्ने र यसको पवित्रतालाई बचाउनुपर्ने आवश्यकता छ। राष्ट्रपति संस्था कुनै दल वा व्यक्तिविशेषको होइन, हाम्रो हो भन्ने भावनाको विकास गर्ने गरी अभ्यास हुनुपर्छ। त्यो अभ्यासको थालनी पौडेलबाट हुनुपर्छ। यसअघिका दुई राष्ट्रपतिबाट राष्ट्रपति पदको गरिमा बढाउने काम भएको छ। देशले नै राष्ट्रपति संस्थालाई उच्च मर्यादामा राखेको छ। यस्तो अवस्थामा त्यो उच्च संस्थाले सबैको साझा बन्ने प्रयास गर्नुपर्छ।  

मुलुकले लामो संघर्षपछि गणतन्त्र स्थापना गरेको हो। लोकतन्त्रको यो उच्चतम अभ्यास हो। यस्तो अवस्थामा आइसकेपछि फेरि पुरानै दिनतिर फर्किनुपर्ने आवाज पनि यदाकदा उठ्ने गरेका छन्। नेपाललाई पुराना दिनमा होइन, अग्रगामी परिवर्तनका दिनमा लैजाने काम गर्नुपर्छ। त्यसका निम्ति मुलुकका पुराना लोकतान्त्रिक नेता पौडेलले राष्ट्रपतिका रूपमा भूमिका खेल्न सक्छन्। यसअघिका राष्ट्रपतिका बेलामा सर्वसाधारण सवारी अवरोधमा परेर साह्रै दुःखी भएका छन्। त्यसैकारण राष्ट्रपतिप्रति नकारात्मक भावसमेत पैदा भएको छ। यस्तो हुन नदिने गरी वर्तमान राष्ट्रपतिले भूमिका खेल्नुपर्छ। एउटा आदर्श राष्ट्रपति लोकतन्त्रमा कस्तो हुनुपर्छ, त्यसको नमूना उनीबाट प्रदर्शन हुनेछ भन्ने आमअपेक्षा छ। 

प्रकाशित: ३० फाल्गुन २०७९ ००:२३ मंगलबार

Download Nagarik App