७ वैशाख २०८१ शुक्रबार
सम्पादकीय

भ्रष्टाचारको गह्रौँ भारी

भ्रष्टाचारले आमनागरिकको राज्यप्रतिको विश्वासलाई कमजोर तुल्याउँछ। आफूले चुनेर पठाएका जनप्रतिनिधिले भ्रष्टाचार रोकेर कामलाई अगाडि बढाउन सके भने आमविश्वास बढ्छ। भ्रष्टाचारबाट मुलुकको बहुआयामिक विकासमा असर पर्छ। आमनागरिकका निम्ति गर्नैपर्ने काममा यसले रोक लगाउँछ। साधनस्रोतको दुरूपयोग हुन्छ। भ्रष्टाचार बढ्दा सीमित व्यक्ति लाभान्वित हुन्छन्। तर देश भने पछि पर्छ। त्यसमा पनि भ्रष्टाचार भएका मुलुकको अन्तर्राष्ट्रिय मञ्चमा समेत नकारात्मक चर्चा हुन्छ।  

भ्रष्टाचारका बारेमा बर्सेनि संसारभरका मुलुकको स्थितिलाई लिएर चित्रण हुने गरेको छ। ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआइ) ले मंगलबार जारी गरेको प्रतिवेदनले फेरि पनि नेपाललाई भ्रष्टाचार धेरै हुने मुलुककै पंक्तिमा राखेको छ। विश्वका भ्रष्टाचार हुने मुलुकमध्ये नेपाल ११०औँ स्थानमा छ। नेपालले सयमध्ये ३४ अंक मात्र प्राप्त गरेको छ। ५० अंक भन्दा कम पाउने मुलुकलाई बढी भ्रष्टाचार हुने मुलुकका रूपमा लिइन्छ। भ्रष्टाचारको अवधारणा सूचकाङ्क (करप्सन पर्सेप्सन इन्डेक्स) अनुसार विश्वका १८० मध्ये नेपालको स्थान ११० मा रहेको हो। भ्रष्टाचार यति धेरै हुने मुलुकका रूपमा नेपाल अन्तर्राष्ट्रिय जगत्मा चिनिनु आफैँमा लज्जाको विषय हो। यसमा सरकार, राजनीतिक दल, सार्वजनिक संस्था आदिले आफ्नो मूल्यांकन गर्नु आवश्यक हुन्छ।  

भ्रष्टाचारको हिसाबले नेपालमा केही वर्षदेखि यही अंकको हाराहारीमा स्थान रहँदै आएको देखिन्छ। गत वर्ष भन्दा एक अंकको सुधारलाई उपलब्धिका रूपमा लिन सकिँदैन। बरु यसरी निरन्तर भ्रष्टाचार भइरहने मुलुकका रूपमा नेपाल रहेको छ भने यसलाई घटाउनतिर रणनीतिक तयारी आवश्यक हुन्छ। देशले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई संवैधानिक अंगका रूपमा स्थापित गरेको छ। यो निकायले भ्रष्टाचार नियन्त्रणमा जुन तहको प्रयास गर्नुपर्ने हो त्यो देखिएको छैन। अख्तियारले जहिल्यै ठूला माछालाई छाडेको र साना माछा समात्न दौडिने गरेको आरोप लाग्दै आएको छ।  

अख्तियारले आफ्नो छवि जोगाउन नसकेका दृष्टान्त हाम्रासामु छन्। लोकमानसिंह कार्की जस्ता पात्रलाई अख्तियारको नेतृत्वमा पठाउँदा तत्कालीन सरकार र प्रमुख दलले गरेको गल्तीले यो संस्थाको छवि धुलिसात भएको छ। लोकमानलाई अख्तियारमा राखेर भ्रष्टाचार कम हुन्छ भन्नु र दूधको साक्षी बिरालोलाई बनाउनु एकै हो। अख्तियारकै अर्का आयुक्त राजनारायण पाठकले घूसको बार्गेनिङ गरेको तथ्य सार्वजनिक भएको देखिएको छ। उनीमाथि भ्रष्टाचारमा कारबाही नै भएको छ। यसबाट पनि देखिन्छ सरकारले कस्ता मानिसलाई भ्रष्टाचारविरुद्ध क्रियाशील हुनुपर्ने संस्थामा नियुक्त गर्छन्। अख्तियारलाई दलको भागबन्डाको थलो बनाउनु भन्दा मुलुकमा सुशासनका निम्ति क्रियाशील हुन सक्ने व्यक्तिलाई पठाउन सकिन्छ। त्यसले मात्र भ्रष्टाचार घटाउन मद्दत गर्छ।  

केही वर्षअघिसम्म भुटान नेपाल भन्दा निकै पछाडि रहेको हो। त्यस्तो मुलुकले आफूलाई दक्षिण एसियामा कम भ्रष्टाचार गर्ने मुलुकका रूपमा उभ्याएको छ। दक्षिण एसियाली मुलुकमध्ये नेपालको स्थान पाँचौँ रहेको छ। विश्वमै सबै भन्दा सदाचारी मुलुकमा डेनमार्क रहेको छ। उसले ९० अंक हासिल गरेको छ। सबै भन्दा भ्रष्ट मुलुकमा सामोलियाले १२ अंक प्राप्त गरेको छ। विश्वका दुईतिहाइ मुलुकमा भ्रष्टाचार गम्भीर समस्याका रूपमा रहेको छ। भ्रष्टाचार किन पनि गम्भीर समस्या हो भने यसले आमनागरिकको सेवामा प्रयोग हुने स्रोतसाधनको दोहन गर्छ। भ्रष्टाचारले सीमित व्यक्तिको हातमा स्रोतसाधन पु¥याउँछ।  

भ्रष्टाचार भनेको आमनागरिकप्रतिको बेइमानी हो। त्यसकारण यसलाई फौजदारी अभियोगका रूपमा लिइन्छ। फौजदारी अभियोग लागेको कुनै पनि राजनीतिक व्यक्तिले निर्वाचनमा भाग लिन पाउँदैन। उसको राजनीतिक जीवन समाप्त हुन्छ। हाम्रो मुलुकमा थोरै राजनीतिक व्यक्तिमाथि मात्र यस किसिमको कारबाही भएको छ। भ्रष्टाचार गर्ने राजनीतिक व्यक्तिहरूलाई आमनागरिकले चिनेका भए पनि अहिले तिनैको स्वर ठूलो छ। रकम मोलमोलाइ गरेका श्रव्यदृश्य सामग्री सार्वजनिक भएर पनि तिनीहरूमाथि कुनै कारबाही भएको छैन। तिनीहरूको उन्मुक्त अवस्था देखेर पनि भ्रष्टाचारतर्फ लिप्त हुने ठूलो जमात यो मुलुकमा छ।  

आमनागरिकको जीवन कष्टकर छ। विकास निर्माणको गति सुस्त छ। भएको विकासको काम गुणस्तरहीन छ। यस्तो निराशाजनक अवस्थामा हालै एकजना नागरिक प्रेमप्रसाद आचार्यले मुलुकको संघीय संसद् भवनअगाडि आत्मदाह गरेका छन्। यसको अर्थ बुझेर व्यवहार गर्न सकेको देखिएको छैन। भ्रष्टाचार सिधै रकम लिनुखानुमा मात्र सीमित छैन। राज्यका निकायमा बसेर तोकिएको काम राम्ररी नगरिदिनु पनि भ्रष्टाचार हो। भ्रष्टाचार हुने मुलुकका बाटाघाटादेखि पूर्वाधारको अवस्था अत्यन्त कमजोर हुन्छ। सडकका खाल्डा भ्रष्टाचारकै परिणाम हुन्। त्यस्ता खाल्डामा हुने दुर्घटनामा कुनै दिन भ्रष्टाचारी आफैँ पनि पर्न सक्छन्। यसकारण पनि मुलुकमा भ्रष्टाचार नहोस् भन्नेतिर सर्वसाधारणदेखि उच्च पदस्थसम्मले सोच्नुपर्ने पक्ष हो।  

भ्रष्टाचारलाई बहुआयामिक समस्या मान्नुको पछाडि यसले मानव अधिकारदेखि मुलुकको अर्थतन्त्रसम्ममा पार्ने प्रभाव पनि हो। व्यक्तिको जीवनमा यसले गम्भीर समस्या पार्छ। मुलुकका निम्ति अत्यावश्यक सेवा र वस्तु कमजोर हुन्छन्। मुलुकमा भ्रष्टाचार कम हुँदो हो त आज नागरिकको शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा ठूलो परिवर्तन सम्भव थियो। भ्रष्टाचारले समाजमा असमानता बढाउँछ। एकथरी धनीमाथि धनी हुँदै जान्छन्, अर्काथरी दिनानुदित गरिब हुन्छन्। यसकारण पनि भ्रष्टाचार नियन्त्रमा ध्यान जानुपर्छ। अहिलेको ट्रान्सपरेन्सीको प्रतिवेदनलाई गम्भीरतापूर्वक लिँदै आगामी वर्ष सुधार गर्नतिर लाग्नु श्रेयष्कर हुन्छ। 

प्रकाशित: १८ माघ २०७९ ००:२९ बुधबार

Download Nagarik App
Download Nagarik App