८ वैशाख २०८१ शनिबार
सम्पादकीय

सरकारप्रति उत्साही अपेक्षा

प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा गत पुस ११ गते गठित सरकारले पूर्ण स्वरूप पाउन झण्डै एक महिना लागेको छ। प्रधानमन्त्री, चार उपप्रधानमन्त्री, १५ मन्त्री र ३ राज्यमन्त्रीसहितको यो मन्त्रिपरिषद्को स्वरूपमा मंगलबारदेखि क्रियाशील भएको छ। सरकारलाई समर्थन गर्ने केही दलको सहभागिता भएमा फेरि पनि मन्त्रिपरिषद्मा फेरवदल हुने नै छ। तत्कालका लागि सरकारले पूर्णता पाएपछि स्वाभाविक रूपमा यो कामकाजी हुने अपेक्षा गर्न सकिन्छ ।

कुनै एक दलले सरकार बनाउने सहज बहुमत नपाएका अहिलेको अवस्थामा सात दल र स्वतन्त्र सांसदसमेतको समर्थनमा यो सरकार बनेको हो। अझ पुस २६ गते सरकारले विश्वासको मत लिँदा समर्थन गर्ने नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) यसमा समावेश भएका छैनन्। सरकारलाई विश्वासको मत दिएका कारण यी दलप्रतिसमेत जिम्मेवारी महसुस गरेका प्रधानमन्त्री दाहालका निम्ति विभिन्न दलको मिलिजुली सरकार सञ्चालन गर्नु सहज छैन। तैपनि दाहालले सबैको साथ लिन गरेका प्रयासहरू हेर्दा यसले कामलाई अगाडि बढाउने आशा भने देखिएको छ।

मन्त्रिपरिषद् विस्तारमै दाहाललाई निकै अप्ठ्यारो परेको बुझ्न सकिन्छ। संसद्को तेस्रो ठूलो दलको अध्यक्षले दुई ठूला दललाई छाडेर सरकारको नेतृत्व पाएको अवस्था हो यो। यो अवस्थामा दाहाललाई प्रधानमन्त्री बनाउन भूमिका खेल्ने संसद्को दोस्रो ठूलो दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको इशाराबेगर अगाडि बढ्न सहज छैन। सरकारलाई पूर्णता दिनुअघि सोमबार ओली निवास बालकोटमा पाँच घन्टा छलफलमा सरिक भई गरेको मेहनतलाई महसुस गर्न सकिन्छ।

दाहालको त्यही प्रयासको प्रतिफलस्वरूप सरकारले पूर्णता पाई नयाँ मन्त्रीहरूले आफ्नो कार्यभार पनि सुरु गरेका छन्। दाहालसँगै तीन उपप्रधानमन्त्री, चार बिनाविभागीय मन्त्रीसहित आठ सदस्य सरकार बने पनि जिम्मेवारी बाँडफाँट बल्ल भएको हो। तीन उपप्रधानमन्त्रीले मात्र विभागीय जिम्मेवारी पाए पनि चार विनाविभागीय मन्त्रीले झण्डै महिना दिन त्यत्तिकै बस्न परेको छ। मन्त्रालयको जिम्मेवारी पाउनासाथ मन्त्रीहरूले उत्साहपूर्वक पहिलो निर्णयमा हस्ताक्षर मात्र गरेका छैनन् केही प्रतिबद्धताबाट पनि मुलुकबासीमा आशाको सञ्चार गर्न खोजेका छन्।

नयाँ मन्त्रिपरिषद्मा उत्साहित अनुहारको प्रवेशले स्वाभाविक रूपमा आशा जगाउँछ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार सेवालाई देशव्यापी बनाउने दृढता व्यक्त गरेकी छन्। परराष्ट्रमन्त्री विमला राई पौड्यालको मन्त्रालयले दिने सेवालाई प्रभावकारी बनाउने प्रतिबद्धता छ। चिकित्सा सेवामा सुरुआती दिनमै स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पाएकी तोसिमा कार्कीले उपचार अभावले मृत्यु हुने अवस्थाको अन्त्य गर्ने निकै आशालाग्दो सन्देश दिएकी छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले युवालाई विदेश जाने अवस्था अन्त्य गर्ने आश्वासन दिएका छन्।

नवनियुक्त मन्त्रीका यी प्रतिबद्धताले निश्चित रूपमा आशा जगाउने काम गरेको छ। यस्ता आश्वासन दिइसकेपछि तिनको कार्यान्वयनको जिम्मेवारी स्वाभाविक रूपमा सुरु भइसकेको छ। मन्त्रीहरूले गरेका निर्णय र तिनका आश्वासनबाट सहजै अनुमान लगाउन सकिन्छ सबैलाई यो मुलुकका समस्याबारे जानकारी छ। आमनागरिकले सरकारबाट खोजेको सेवा प्रवाहमा सहजीकरण नै हो। त्यति मात्र होइन, शिक्षादेखि रोजगारीसम्मका निम्ति प्रत्येक नागरिक देश छाड्न चाहन्छ। यी सबैको बाध्यता बुझेर सबै क्षेत्रमा सुधार हुन थाल्ने हो भने यो मुलुक बसौँ बसौँ लाग्ने हुन्छ।

हाम्रोभन्दा कमजोर अवस्थाका कैयन् मुलुकले स्रोत/साधनको व्यवस्थापन राम्ररी गरेर समृद्धि हासिल गरेका छन्। एउटै जुनीमा तेस्रो विश्वबाट पहिलोमा पुग्ने दक्षिण कोरिया, सिंगापुर जस्ता मुलुकको अनुभव छ। हाम्रो मुलुकमा मानवीय संशाधन र स्रोतको अभाव छैन। हाम्रा नागरिकमा कामप्रतिको जाँगर पनि छ। यिनै मानिस अन्यत्र गएर प्रगति गर्न सक्छन् भने देशभित्रै तिनको उपलब्धिका निम्ति बाधा गर्ने के तत्त्व होलान्? अन्तर्राष्ट्रिय संस्थामा काम गर्न ती सक्षम छन्। अन्तर्राष्ट्रिय विश्वविद्यालयमा तिनले उत्कृष्टता हासिल गरेका छन्। देशभित्रै तिनको अग्रगामी यात्राको बाधक यहाँको प्रणाली छ।

त्यसैले अहिलेको मन्त्रिपरिषद्ले समग्र प्रणालीगत सुधारमा ध्यान दिनु आवश्यक छ। हामीकहाँ जहिल्यै काम हुन नसक्नुलाई केही न केही कुरालाई दोष दिने गरिन्छ। कहिले सरकार मिलीजुली भएका कारण काम गर्न नसकिएको भन्ने गरिन्छ। कहिले कुनै राजनीतिक प्रणालीकै कारण काम नभएको भन्न पनि बेर लाग्दैन। वास्तवमा मुलुकलाई समृद्धि यात्रामा अगाडि बढाउने हो भने मन्त्रिपरिषद्का सबै सदस्यको लय र ताल मिल्नुपर्छ। नेपाल राष्ट्र बनाउने एउटै उद्देश्यमा सबै समाहित भए भने परिवर्तन अवश्यम्भावी छ।

सरकारले भर्खरै पूर्णता पाएका कारण पनि सबैले यसको काम हेर्न चाहेका छन्। प्रायः निर्वाचनपछि नयाँ सरकार बन्दा कम्तीमा सय दिन मधुमासका निम्ति प्राप्त हुन्छ। त्यसैले साह्रै धेरै आलोचना पनि कतैबाट हुँदैन। यसको अर्थ सय दिनसम्म त्यत्तिकै व्यतीत गर्ने भन्ने होइन। यहीबेला सरकारले आफ्नो कामको लक्षण देखाउनु उचित हुन्छ। दिन कस्तो हुन्छ भन्ने बिहानले देखाउँछ। अहिलेको सरकारले कामको गति लिने/नलिने पनि अहिल्यै देखिन थाल्छ। अहिले प्रधानमन्त्री र मन्त्रीमा देखिएको उत्साह निरन्तर हुनुपर्छ। सरकारले धमाधम काम गर्न थाल्यो भने यसका विरुद्ध हुने गतिविधि पनि त्यत्तिकै कमजोर हुन्छन्। गठबन्धन दलले नै पनि सरकारको काममा अल्मल्याउन थाले भने सर्वसाधारणले खबरदारी गर्छन्।

हाम्रा निम्ति कुन दलको सरकार बन्यो भन्ने कुरा गौण हो र यसले कस्तो काम गर्‍यो भन्ने पक्षचाहिँ प्रधान हो। कामबाटै आमनागरिकको मन जित्न र मुलुकको निराश अवस्थामा सुधार ल्याउन यो सरकारको गम्भीर जिम्मेवारी छ। 

प्रकाशित: ३ माघ २०७९ २३:४८ मंगलबार

Download Nagarik App
Download Nagarik App