८ वैशाख २०८१ शनिबार
सम्पादकीय

दोहोरिइरहने हवाई दुर्घटना

नेपालीको प्रिय पर्व मकर संक्रान्तिको रमाइलो आइतबार बिहान पोखरामा विमान दुर्घटना भएपछि खल्लो बन्न पुगेको छ। यती एअरको विमान नाइनएनएएनसी दुर्घटना हुँदा चालक दलका ४ सदस्यसहित ६९ जनाको निधनले देशैलाई अँध्यारोमा पारेको छ। अन्य तीन जनाको खोजी कार्य जारी छ। यसले नेपाली आकासमा हुँदै आएका विगतका ठूला विमान दुर्घटनालाई समेत सम्झाएको पनि छ। सुरक्षितमध्ये एक मानिने एटिआर विमान नेपालमा पहिलो पटक दुर्घटना हुनु आफैँमा चिन्ताको विषय हो। दुर्घटनाको खास कारण छानबिनपछि पत्ता लाग्ने नै छ। यससम्बन्धी तथ्य कारण पत्ता लगाउन सके भविष्यमा हुन सक्ने यस्ता घातक दुर्घटना कम गर्न सहज हुनेछ।

अंग्रेजी नयाँ वर्ष जनवरी १ अर्थात् पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेपछि यहाँ नियमित उडान हुँदै आएका छन्। विमानस्थल सञ्चालनको पहिलो १५ दिनमै यो दुर्घटना हुनु संयोग मात्रै हो वा अन्य केही छ? के विमानहरूलाई नयाँ विमानस्थलबाट उडान र अवतरणका निम्ति पर्याप्त तालिम प्राप्त छ? प्रायः उड्डयन अधिकारीमा नयाँ–नयाँ विमानस्थल खोलिहाल्ने र त्यहाँबाट उडान गरिहाल्ने हतारो देखिन्छ। उडान सुरक्षामा भने अपेक्षित ध्यान पुग्न नसकेको हो कि? यस घटनाले फेरि पनि नेपाललाई युरोपेली संघको कालो सूचीबाट निकाल्न ढिलाइ गर्न सक्छ। पर्यटकीय गन्तव्य पोखरामा भएको यो दुर्घटनाको समाचारले संसारभरि एउटा नकारात्मक सन्देश फैलाउन सक्ने प्रष्ट छ। यसै पनि हवाई दुर्घटनाको खबर संसारभरिका सञ्चार माध्यमले प्रसार गर्छन्।

दुर्घटनापछि जुन गतिमा तत्काल उद्धार कार्यका निम्ति सरकारको तत्परता देखिएको छ, त्यो प्रशंसनीय छ। दुर्घटना हुनासाथ प्रधानमन्त्री दाहाल र उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने त्रिभुवन विमानस्थलमा पुगेर स्थितिको जानकारी लिएका छन्। विगतमा यति तत्परता पनि नदेखेको अनुभव छ। यसका साथै मन्त्रिपरिषद्को आकस्मिक बैठकसमेत बसेर आवश्यक निर्णय लिएको छ। दुर्घटनापछि शोक मनाउन भोलिपल्ट अर्थात् सोमबार सार्वजनिक बिदा दिने निर्णयको भने आलोचना भएको छ। सरकारले सार्वजनिक बिदा दिएर शोक मनाउनु भन्दा पनि भविष्यमा यस्ता घटना हुन नदिन आवश्यक तयारी गर्नु उचित हुन्छ भन्ने धारणा पनि प्रकट भएका छन्। तैपनि शोकका निम्ति बिदा दिने घटनाले कम्तीमा यस क्षेत्रको सुरक्षाका निम्ति संवेदनशील बनाउन भने अवश्य मद्दत गर्न सक्छ।

हवाई दुर्घटना हुन नदिन पूर्वसावधानी आवश्यक हुन्छ। विमान उडान अत्यन्तै धेरै नियमन हुने क्षेत्र हो। तैपनि हाम्रो मुलुकमा पटक–पटक दुर्घटना भए पनि त्यसको निदानतर्फ जान कोसिस गरेको देखिएको छैन। यसरी निरन्तर दुर्घटना भएकै कारण मुलुकको उड्डयन क्षेत्र अन्तर्राष्ट्रिय कालो सूचीमा परेको हो। नागरिक उड्डयन र अनुगमन निकाय नागरिक उड्डयन प्राधिकरणलाई अलग्याउन पटक–पटक सुझाव आए पनि त्यो हुन नदिने प्रयास त्यहीँभित्रबाट भइरहेको छ। यससम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभामा पुगेको एक वर्ष भइसकेको छ। प्रतिनिधिसभाले यसबीच त्यसलाई पारित गर्नुपर्ने आवश्यकता महसुस गरेन।

वास्तवमा सेवा प्रदायक र अनुगमन निकाय एउटै हुनुमा आफैँमा समस्या छ। मुलुकलाई कालो सूचीबाट मुक्त गर्ने यो उपायतर्फ पनि सरकारको ध्यान जानु आवश्यक छ। संसद्को यही अधिवेशनबाट यो विधेयक पारित गर्नतिर सरकारको ध्यान पुग्यो भने त्यसको सकारात्मक सन्देश जानेछ। यसका साथै सेवाको विशिष्टीकरणका निम्ति पनि सम्बद्ध निकायहरूको ध्यानाकर्षण हुन्छ।

उड्डयनका सिलसिलामा अनाहकको दबाबसमेत दिने गरेको देखिन्छ। उडान सेवा सञ्चालक कम्पनी, नागरिक उड्डयन प्राधिकरण र बेलाबेलामा हवाई यात्रुको समेत अनाहकको हस्तक्षेप देखिन्छ। केही विमान कम्पनीका उडान लगातर दुर्घटनामा परेका छन् भने त्यसमा नियामक निकायको ध्यान पुग्न नसकेको हो कि? अत्यन्तै नियमनको व्यवस्था भए पनि त्यसका आधारभूत मापदण्डलाई बेवास्ता गरिएको हुन सक्छ। भौतिक पूर्वाधार निर्माणमा जोड दिए पनि त्यसको सुसञ्चालन हुन नसकेको अवस्था छ।

विगतमा भएका कैयन् दुर्घटनाबाट सिक्नुपर्ने पाठलाई बेवास्ता गरेको पनि देखिन्छ। त्यसैको परिणामस्वरूप मुलुकले पटक–पटक दुःखद अवस्था सामना गर्नुपरेको छ। नागरिक उड्डयन व्यवस्थापनमा कमजोरीका कारण उडान र अवतरणमा कैयन् समय पर्खिनुपर्ने अवस्था छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्दा कैयन् गुणा व्यस्त विमानस्थलले विश्वमा सेवा दिइरहेका छन्। हामीकहाँ सेवालाई प्रभावकारी नगराइ हवाई ट्राफिकलाई दोष दिने गरेको पनि देखिन्छ। त्यसैका आधारमा नयाँ विमानस्थल खोल्ने प्रयास पनि भएका छन्। त्रिभुवन विमानस्थल भन्दा व्यस्त विमानस्थलले कसरी काम गरिरहेका छन्, त्यो अध्ययन पनि उत्तिकै आवश्यक छ।

हवाई दुर्घटना हुँदा जति सरकार र अन्य निकायको ध्यान जान्छ, त्यस्तो सडक दुर्घटनामा जाँदैन। तर, हामीकहाँ सडक दुर्घटनाको जोखिम पनि उत्तिकै छ। यसैले समग्र यातायात व्यवस्थामा दुर्घटना न्यूनीकरणका निम्ति पनि दूरदृष्टिको आवश्यकता छ। सर्वसाधारणको जीवन जोगाउन सरकारले गम्भीर भएर सडकदेखि हवाई यातायातसम्म सुरक्षा नीति अवलम्बन गर्नु उचित हुन्छ।

पोखरामा भएको यो ठूलो दुर्घटनाबाट पाठ सिक्दै नेपालले हवाई उड्डयन क्षेत्रमा प्रभावकारी नीति अवलम्बन गर्न सक्यो भने यो घटनाबाट पाठ सिकेको अनुभव हुनेछ। अन्यथा, घटना भएको केही दिन संवेदनशील हुने र पछि बिर्सने स्थितिले उही दुःखद नियतिमा पुर्‍याउने निश्चित छ। यो दुःखद दुर्घटनामा परी जीवन गुमाउने सम्पूर्णमा हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्छौँ। 

प्रकाशित: २ माघ २०७९ ००:२२ सोमबार

Download Nagarik App
Download Nagarik App