coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
सम्पादकीय

प्रधानमन्त्रीलाई प्रचण्ड विश्वास

संसदीय निर्वाचनमा तेस्रो स्थान ल्याएका नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाललाई संसद्मा मंगलबार प्रतिनिधिसभाका सम्पूर्ण सदस्यले विश्वासको मत दिएका छन्। सदनमा उपस्थित २ सय ७० मध्ये २ सांसदले मात्र विपक्षमा मतदान गरेर दाहाललाई सर्वसम्मत प्रधानमन्त्रीका रूपमा स्थापित गरेका हुन्। २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा ३२ स्थान मात्र पाएको माओवादी केन्द्रका प्रधानमन्त्रीलाई प्राप्त यो प्रचण्ड मतले मुलुकमा आवश्यक कानुन निर्माण गर्न मात्र होइन, संविधान संशोधन गर्न सक्ने ल्याकतसमेत राख्छ। संसद्को यत्रो ठूलो विश्वास हासिल भएका दाहालका निम्ति काम गर्ने सकारात्मक वातावरण बनेको छ।

भूमिगत रूपमा ‘जनयुद्ध’ गर्दा अपनाएको छापामार शैलीलाई निरन्तरता दिँदै दाहालले यसपटक दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) का हातबाट प्रधानमन्त्रीको कुर्सी हासिल गर्ने सफलता पाएका हुन्। उनको त्यो सफलता विश्वासको मतपछि सार्थक भएको छ। यसले दाहाललाई मुलुकका राजनीतिक व्यक्तिमध्ये सबैभन्दा चतुर हुन् भन्ने पुष्टिसमेत गरेको छ। त्यति मात्र होइन, मुलुकका दुई ठूला दल कांग्रेस र एमालेको आपसी प्रतिस्पर्धाको लाभ दाहाललाई भएको हो। कांग्रेसबाट तानेर एमालेले प्रधानमन्त्री बनाए पनि फेरि विश्वासको मत दिएर कांग्रेसले उनलाई आफूबाट टाढिन नदिएको हो। यसले भविष्यमा दाहालमाथि एमालेबाट पर्ने दबाब कम गर्नसमेत मद्दत पुग्नेछ।

कुनै हालतमा प्रधानमन्त्री दिन तयार नभएका कांग्रेस सभापति शेरबहादुर देउवासमेत विश्वासको मत लिने पूर्वसन्ध्यामा दाहाललाई भेट्दै सरकारको पक्षमा उभिन बाध्य भएका हुन्। विश्वासको मत पाइसकेका दाहालले ‘कांग्रेससँग कुनै विशेष सहमति नभएको’ बताए पनि दीर्घकालका निम्ति यो कदमको प्रभाव रहनेछ। देउवालाई भेट्न उनको नयाँ अस्थायी मुकाम धुम्बाराहीमा सोमबार साँझ दाहाल पुगेपछि समर्थनका निम्ति बाटो खुलेको हो। त्यहीँ देउवाबाट विश्वासको मत प्राप्त हुने आश्वासन दाहाललाई प्राप्त भइसकेको हो। संसद् बैठकमा त्यसैलाई औपचारिकता मात्र दिइएको हो। यसरी कांग्रेसको पनि विश्वासको मत पाउनु दाहालका निम्ति सम्भव भएको हो। यसले उनलाई निर्वाचनका बेलाका सहयात्रीलाई समेत साथमा लिएर हिँडेको सन्देश दिन सहज भएको छ।

सत्ता साझेदारी गर्न र मुलुकका प्रमुख पदमा भागबन्डा पाउन सक्ने ठाउँबाट एकाएक गलहत्तीमा परेका देउवाका लागि अहिले दाहाललाई विश्वासमा लिएर अगाडि बढ्नुको विकल्प रहेन। त्यसैगरी निर्वाचनसम्म सत्ता साझेदारी गरेको नेकपा (एकीकृत समाजवादी) समेत दाहाललाई विश्वासको मत दिनुपर्ने बाध्यतामा परेको छ। दाहाललाई प्रधानमन्त्री बनाउन पहिल्यै तयार एस अध्यक्ष नेपालका निम्ति अहिले ‘सशर्त समर्थन’ गर्नु अनौठो काम होइन। नेपालका निम्ति ओली भन्दा दाहाल प्रधानमन्त्री हुनु कैयन् गुणा सकारात्मक घटना हो। विश्वासको मत दिन बोलाइएको संसद् बैठकमा ओलीप्रति नेपालको कटाक्षले यही पुष्टि गर्छ।

कांग्रेस र एकीकृत समाजवादीले प्रधानमन्त्रीमा विश्वासको मत दिएर दाहाललाई आफूबाट टाढिन नदिएका मात्र होइनन् उनलाई भविष्यमा ओलीबाट हुन सक्ने धोकाबाट जोगाउने सुनिश्चितता समेत प्रदान गरेका छन्। विश्वासको मत लिनुभन्दा केही दिनअघि नै दाहाल सरकारले निरन्तरता नपाउने हल्ला चलाइएको हो। विगतमा पनि धोका पाएका दाहालका निम्ति यो स्थितिले चिन्तित बनाउनु स्वाभाविक हो। त्यही भएर उनले यसअघि योजना गरे भन्दा दुई दिनअगावै विश्वासको मत लिने योजना गरेका हुन्।

एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका सात दल र तीन स्वतन्त्रसहित १६९ सांसदको समर्थनमा दाहाल प्रधानमन्त्री नियुक्ति भएका हुन्। विश्वासको मत लिने बेलामा राष्ट्रिय जनमोर्चा र नेपाल मजदूर किसान पार्टीका एक-एक सांसदले मात्र दाहाललाई मत दिएनन्। सम्पूर्ण प्रतिनिधिसभाको पूरै विश्वासका साथ प्रधानमन्त्री बनेका दाहाल सर्वस्वीकार्य हुनुमा उनको व्यक्तित्वले पनि केही हदसम्म काम गरेको छ। तुलनात्मक रूपमा लचिलो हुन सक्ने र सबैका अजेन्डा अलिअलि बोकिदिन पनि तयार हुने भएकाले दाहाललाई यो उपलब्धि मिलेको हो।

प्रधानमन्त्री दाहालका निम्ति भविष्यमा अनेकन चुनौती भए पनि अहिले यो एउटा अवसरका रूपमा आएको हो। उनले यसअघि एमालेबाटै पाएको धोकाको पनि जवाफ दिएका छन्। ओलीले साढे दुई वर्षपछि प्रधानमन्त्री बन्न नदिएका दाहालले अहिले उनैको सहयोगमा सरकारको नेतृत्व पाएका छन्। त्यसैगरी सरकारको नेतृत्व गर्ने पूर्वसहमति अस्वीकार गरेका देउवाबाट विश्वासको मत पाएर विगतको त्यो अविश्वासलाई विश्वासमा अनुदित गर्नुपर्ने अवस्था पनि सिर्जना गराएका छन्। यति गरेर प्रधानमन्त्री बनेका दाहालबाट आफ्नो अभीष्ट पूरा हुने अपेक्षा कांग्रेस र एमाले दुवैमा छ। दाहाल आफूहरूलाई ‘कम्फर्टेबल’ (सहज) नहुने अवस्था आएपछिको निर्णय भने उनीहरूले भिन्नरूपमा गर्ने नै छन्। अहिलेलाई भने दाहालको विकल्प खोजिहाल्न सक्ने अवस्थामा उनीहरू छैनन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीले माग गरेअनुसार पृथ्वीजयन्तीको बिदा दिने निर्णयसमेत गराउन दाहाल बाध्य भएका छन्। तर यस्तो निर्णय गर्दा राष्ट्रिय एकीकरणकर्ता वा राष्ट्रिय एकता दिवसका रूपमा स्वीकार गरिएको छैन। दाहाललाई दौरा सुरुवालमा सपथ ग्रहण गर्नसमेत तत्पर गराउने काम अहिलेको परिस्थितिले गरेको छ। यो पनि उनको लचिलोपनको लक्षण हो। नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीलाई जेलबाट मुक्त गर्ने विश्वास पनि उनले दिलाउनै परेको छ। अति उत्साहले आएका राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका नयाँ दल र सांसदको आकांक्षालाई पनि दाहालले बोकिदिनुपर्ने बाध्यता छ।

कांग्रेसले समेत दाहाललाई विश्वासको मत दिएर संसद्मा प्रतिपक्षको भूमिका कमजोर बनाएको टिप्पणी यतिबेला भइरहेको छ। दाहाललाई प्रधानमन्त्री नदिएर सत्ता साझेदारी गर्नबाट वञ्चित भएका देउवाले स्थिति सुधार्न यस्तो कदम चालेको ठान्नेहरू पनि छन्। सत्ताको यो खेल आगामी दिनमा अरू रोचक हुने संकेत यसले दिएको छ। दाहालको लचिलोपनले अहिलेकै सरकारको निरन्तरता पाँच वर्षसम्मै हुन पनि सक्छ। त्यो बेलामा अहिले समर्थन गर्ने प्रमुख दलको छटपटी हेर्न लायक हुनेछ। सबै दललाई सत्ताभन्दा बाहिर बस्नै नसक्ने अवस्थामा पुर्‍याएका कारण पनि दाहालका निम्ति पद बाँडफाँट गर्दै अघि बढ्ने अवसर छ। आफूमाथि प्राप्त प्रचण्ड विश्वासलाई कायम गर्दै अघि बढ्न दाहाललाई सफलताको शुभकामना!

प्रकाशित: २७ पुस २०७९ ००:२३ बुधबार

Download Nagarik App
Download Nagarik App