१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
सम्पादकीय

कोभिड-१९ विरुद्ध सतर्कता

सन् २०१९ को अन्तमा चीनको वुहानबाट सुरु भएको कोरोना महामारीका कारण हालसम्म ६७ लाखभन्दा बढी मानिसको मृत्यु भैसकेको छ। द्रुत गतिमा भएको खोपको विकास र औषधि उपचारको उपलब्धता तथा बढ्दो नागरिक चेतनाका कारण कोभिड-१९ लाई विश्वले लगभग नियन्त्रणमा लिइसकेको हो। तर पछिल्ला दिनहरूमा विश्वव्यापीरूपमा महामारीको नयाँ लहर सुरु हुने संकेत देखिएको छ। खोप र भाइरस संक्रमणका कारण विकास भएको प्रतिरक्षा प्रणालीलाई छल्न सक्ने भाइरसका नयाँ तथा संक्रामक भेरियन्टको प्रादुर्भाव भएका कारण महामारी पुनः फैलन सक्ने चिन्ता बढेको हो।

विशेषगरी उत्तरको छिमेकी चीनले विगत ३ वर्षदेखि अवलम्बन गर्दैै आएको शून्य कोभिड–१९ नीति १ महिनाअघि अकस्मात परित्याग गरेपछि चीनमा अहिले भाइरस संक्रमणको नयाँ लहर सुरु भएको छ। भाइरस नियन्त्रणका नाममा गरिएको परीक्षण, लकडाउन, क्वारेन्टिन तथा अन्य निषेधात्मक व्यवस्थाको विरोधमा सर्वसाधारणले देशभर विरोध प्रदर्शन गरेपछि चीनले यो नीति परित्याग गरेको थियो। जनस्वास्थ्य विज्ञले नियन्त्रणको सख्त व्यवस्थालाई अकस्मात खुकुलो पार्दा यसले संक्रमणलाई ह्वात्तै बढाउन सक्ने आकलन गरेका थिए। त्यो आकलन सही ठहरिएको छ।

विश्वको सबैभन्दा धेरै जनसंख्या बसोबास गर्ने चीनमा सुरु भएको नयाँ लहरको प्रभाव विश्वव्यापी हुन सक्ने देखिएको हो। अहिले चीनमा फैलिरहेको नयाँ लहर र यसले निम्त्याउन सक्ने संकटलाई लिएर चिन्ता बढेको हो। अन्तर्राष्ट्रिय समाचार माध्यमले हाल चीनमा महामारीको फैलावट तीव्र भैरहेको समाचार प्रकाशन गरेका छन् भने चीनले यस्ता समाचार अतिरञ्जित र सुनियोजित हिसाबले प्रचार गरिएको दाबी गरेको छ। भारत, अस्ट्रेलिया, क्यानडा, जापान, अमेरिका, युरोपेली संघ लगायतका देशले चीनबाट आउने यात्रुले कोभिड-१९ परीक्षण रिपोर्ट अनिवार्य रूपमा पेस गर्नुपर्ने प्रावधान घोषणा गरिसकेका छन्। चीनले यात्रामा लगाइएको यस्ता निषेधात्मक व्यवस्थाको कुनै वैज्ञानिक आधार नरहेको र निहित राजनीतिक उद्देश्य अभिप्रेरित रहेको दाबी गरेको छ। गत मंगलबार विश्व स्वास्थ्य संगठनसँग भएको बैठकमा चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका वैज्ञानिकले चीनमा हाल ओमिक्रोनको बिए ५.२ र बिएफ.७ नामक भेरियन्ट रहेको जानकारी गराएका थिए। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले बिहीबार महामारी नियन्त्रणभित्रै रहेको र यससम्बन्धी तथ्यांकको साझेदारी गर्न चीन सधैँ तयार रहेको दाबी गरेकी थिइन्।

तर चीनको दाबीप्रति विश्व समुदाय आश्वस्त हुन सकेको छैन। गत बुधबारको मिडिया ब्रिफिङमा विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अथानोम घेब्रेससले चीनले विद्यमान कोभिड-१९ महामारीको सघनता र कोभिड-१९ मृत्युको परिभाषालाई साँघुरो बनाएको भन्दै चीनले महामारीको विषयमा सही तथ्यांक विश्वसँग साझेदारी गर्न अनुरोध गरेका छन्। यसरी संक्रमणको सही तथ्यांक विश्वलाई साझेदारी नगरेको आरोप चीनमाथि छ। महामारीको बारेमा सही र वस्तुगत सूचना अभावमा नयाँ भेरियन्टको प्रादुर्भाव हुन सक्ने र भाइरस संक्रमण विश्वव्यापी हुन सक्ने वैज्ञानिक आकलन छ। विशेषगरी पछिल्लो संक्रमणका कारण अस्पताल तथा सघन उपचार कक्षमा भर्ना भएका बिरामीको आधिकारिक संख्या तथा मृत्युको तथ्यांक उपलब्ध नगराएको आरोप चीनमाथि छ।

श्वास/प्रश्वाससम्बन्धी रोगका कारण मृत्यु भएका बिरामीलाई मात्र कोभिड मृत्युमा गणना गरिएको विश्व स्वास्थ्य संगठनको ठम्याइ छ। कोभिड-१९ जटिल बन्दै जाँदा हुने रगत जम्ने रोग (ब्लड क्लट), हृदयाघात, मिर्गौलाले काम नगर्ने अवस्था (किड्नी फेल) तथा सेप्सिस जस्ता रोगले निम्त्याउने मृत्यु पनि कोभिडजन्य मृत्युमा गणना हुनुपर्ने अन्तर्राष्ट्रिय विज्ञ तर्क गर्छन्। तत्काल ठोस प्रयास नभएमा चीनमा यो वर्ष मात्र १० लाख कोभिडजन्य मृत्य हुने अन्तर्राष्ट्रिय विज्ञको प्रक्षेपण छ। बेलायतको स्वास्थ्य तथ्यांकसम्बन्धी फर्म एयरफिनिटीले कोभिडका कारण हाल चीनमा हरेक दिन ९ हजारको मृत्यु भइरहेको दाबी गरेको छ।

कोभिड-१९ को विषयलाई लिएर विश्वमा हाल भैरहेको आरोप÷प्रत्यारोप जे/जसो भए पनि संभावित महामारीको जोखिमबाट बच्न विश्वका विभिन्न देशले तयारी थालिसकेका छन्। स्वास्थ्य सेवा प्रणालीलाई तम्तयार राख्न, बुस्टर डोजको पहुँच बढाउन तथा जनस्वास्थ्यसम्बन्धी निगरानीलाई सख्त पार्ने दिशामा यी देशले प्रयास सुरु गरिसकेका छन्।

यो प्रसंगमा नेपाल अछूतो रहन सक्दैन। नेपाल पनि संक्रमणको संभावित लहरको सामना गर्न सावधान र तयार रहन आवश्यक छ। स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले पछिल्लो विकासक्रमलाई नजिकबाटै नियालिरहेको बताएका छन्। नेपालमा हालसम्म कुल जनसंख्याको ७६.५ प्रतिशतले खोपका दुवै डोज लगाएका छन् भने बुस्टर डोज लगाउनेको संख्या ३८ प्रतिशत पुगेको छ। खोपले विकास गर्ने प्रतिरक्षा प्रणालीको अवधि निश्चित समयसम्म हुने भएकाले र नयाँ भेरियन्टलाई लक्षित गरेर बुस्टर डोजको विकास गरिएको सन्दर्भमा संभावित महामारी रोक्न बुस्टर डोजको महत्त्व अत्यधिक मानिएको छ। पछिल्ला महिनामा एकातिर कोरोना महामारी अन्त भएको ठानेर आमजनसाधारणमा बुस्टर डोज लगाउन खासै उत्साह देखिएको थिएन भने यसको यथेष्ट जोहो गर्न सरकारले विशेष ध्यान पनि दिएको थिएन। तर कोरोना महामारीको अर्काे लहर आउने पछिल्लो संभावनाले बुस्टर डोजप्रति सर्वसाधारणको आकर्षण बढेको पाइएको छ।

हाल भैरहेको अभावलाई सम्बोधन गर्न अबका केही दिनमा फाइजरका १५ लाख बुस्टर डोज नेपाल भित्रने र खोपको माग भैरहेको अवस्थामा थप डोज खोपको आपूर्ति हुने मन्त्रालयका अधिकारीको दाबी छ। खोपको आगामी दिनमा हुने बढ्दो मागलाई सम्बोधन गर्न यसको उपलब्धतालाई सुनिश्चित गर्न कन्जुस्याइँ गर्नु हुँदैन। सरकारले यो आवश्यकतालाई अवश्यै महसुस गर्नेछ। हवाई तथा स्थल मार्गमा रहेका प्रवेश विन्दुमा निगरानी बढाउन आवश्यक छ भने स्वास्थ सेवा प्रणालीलाई तम्तयार राख्न पनि उत्तिकै अपरिहार्य देखिएको छ। आमसर्वसाधारणले जनस्वास्थ्यका सामान्य मापदण्ड अवलम्बन गर्दा पनि महामारीको संभावित लहर रोक्न सहयोग पुग्छ। त्यसैले सरकार, नागरिक समाज र सर्वसाधारण यो विषयमा चनाखो र तयार हुनुपर्ने देखिएको छ।

प्रकाशित: २३ पुस २०७९ २३:४६ शनिबार

Download Nagarik App
Download Nagarik App