हाम्रो मुलुकमा दैनिक कति हत्या हुन्छन् ? एक तथ्यांकअनुसार प्रत्येक दिन दुईजनाको हत्या हुने गरेको छ। यसबाट निष्कर्ष निकाल्न सकिन्छ– हाम्रो समाजको अनुहार क्रूर हुँदै गएको छ। कसैको ज्यान लिन कति पनि नहिच्किचाउने मानसिकता समाजमा विद्यमान हुनु आफैँमा डरलाग्दो संकेत हो। परिवारकै सदस्य, आफन्त र प्रेमी/प्रेमिकाले एकअर्काको हत्या गर्ने गरेका देखिएको छ। नेपाल प्रहरीको पाँच वर्षको तथ्यांकमा प्रत्येक दिन दुईजनाको हत्या हुने गरेको देखिएको हो। त्यसअघि यस्तो हत्या प्रत्येक दुई दिनमा एकजनाको हुने गरेको तथ्यांक छ। प्रहरीका अनुसार आर्थिक वर्ष २०७५/७६, २०७६/७७, २०७७/७८, २०७८/७९ मा क्रमशः ६५९, ५५५, ६९७ र ५९० जनाको हत्या भएको देखिन्छ। सामान्य विवादमा यसरी मानिस मारिनु आफैँमा चिन्ताजनक अवस्था हो।
समाजमा हिंसा–हत्याका घटना बढेसँगै यसको प्रतिविम्ब समाचारमा देखिन थालेको छ। एउटा समाचार आउँदा त्यो असामान्य जस्तो लाग्छ। तर, नियमितरूपमा यस्ता खबर आइरहेपछि बुझ्नुपर्छ, यो सामान्य हुँदै गएको छ। र, यसले समाजमा नकारात्मक भावना बढाउँदै लैजान्छ। कसैप्रति सहनशील हुनु भन्दा पनि आक्रमण गरिहाल्ने प्रवृत्ति हाम्रो समाजमा देखिन थालेको लक्षण हो यो। एक दशकमै समाज धेरै परिवर्तन भएको देखिँदैछ। सूचना प्रविधिको विकासले प्रत्येक व्यक्तिले आफूलाई विविध घटनासँग जानकार बनाएको छ। पछिल्ला वर्षमा नेपाली समाजमा वैदेशिक रोजगारी र यात्राको अवसर पनि बढेको छ। यसले बिस्तारै समाजको चरित्र पनि परिवर्तन गर्दै लगेको छ।
वैदेशिक रोजगारीमा गएका व्यक्ति घर फर्केर आउँदा आफ्नो कमाइ परिवारकै अर्को सदस्यले खाइदिएको हुन सक्छ। त्यसैगरी सूचना प्रविधिका कारण समाज खुल्दै जाँदा त्यसले व्यक्तिलाई अपराधतर्फ पनि उन्मुख बनाउँदै लगेको देखिन्छ। हिजो समाजमा एउटा व्यक्तिले अर्कोलाई सम्पर्क गर्न जति सहज थियो, त्यो भन्दा धेरै फरक भइसकेको समय हो यो। अहिले मोबाइल र सामाजिक सञ्जालका कारण पनि सजिलै मानिसका बीच सम्पर्क हुन सक्छ। यसरी सम्पर्कमा रहेका व्यक्तिबाट आपराधिक कर्म पनि हुन सक्छ। कतिपयको सम्पत्ति खाइदिने वा प्रेम प्रसंगमा परेर पनि अपराधतर्फ उन्मुख भएको देखिन्छ।
कसैले सम्पत्ति खाइदिएमा वा अन्य किसिमका समस्यामा सिधै हत्या नै गर्नुपर्छ भन्ने मानसिकताको विकास हुनु भनेको खतरनाक प्रवृत्ति हो। यस्तो अवस्थामा कानुनी कारबाही गर्न सक्ने पर्याप्त ठाउँ हुन्छ। त्यसलाई बेवास्ता गरेर हत्यामै उद्यत हुनु भनेको कानुन हातमा लिनु हो। यस्तो अवस्थामा अर्को व्यक्तिको ज्यान जान्छ भने यसमा संलग्न व्यक्तिले पनि जेलमा जानुको विकल्प हुँदैन। यसरी आफ्नो भविष्य अन्धकार बनाउने क्रियाकलापमा नलाग्न समाजमा चेतना जागृत गर्नु आवश्यक हुन्छ। आफूमाथि कुनै अन्याय भए सजाय आफैँले दिने होइन। देशमा प्रहरी, न्यायालय र अन्य व्यवस्था छन्। त्यहाँबाट न्याय पाउन सकिन्छ। कानुन हातमा लिएपछि त्यसबाट कुनै उपलब्धि हुँदैन। बरु त्यसले व्यक्तिको स्वतन्त्र भएर बाँच्ने अधिकार अन्त्य भई आपराधको सजाय काट्दैमा समय व्यतित हुन्छ।
अपराधका घटना विगतमा पनि हुने गरे पनि अहिले भने त्यसको प्रकृति भिन्न भएको छ। विगतमा कुनै हत्याको घटना हुँदा त्यसमा नियत भन्दा पनि भवितव्यको स्थिति रहन्थ्यो। अहिले नियोजितरूपमै व्यक्तिको हत्या हुन थालेको छ। नियोजित हत्यामा क्रूरता देखिन्छ। सम्बन्धित व्यक्तिको हत्या गरे पनि आफू त्यसबाट जोगिन सक्दिन भन्ने चेतना कम भएको छ। त्यसैले जस्तोसुकै जघन्य अपराध गर्न मानिस तत्पर भएको देखिएको हो। वास्तवमा हाम्रो समाजमा नैतिक मूल्य धेरै खस्किएको छ। पशुपन्छी मार्दासमेत पाप लाग्छ भन्ने सोचिन्थ्यो विगतमा। तर अचेल मान्छेले मान्छे मार्नु कुनै अनौठो जस्तो लाग्दैन। सहर÷बजारमा मात्र होइन, गाउँ–गाउँमा पनि हिंसा÷हत्याका घटना बढ्नुको कारण नैतिक मूल्यमा आएको विघटन प्रमुख हो।
रोजगारीका निम्ति विदेश जानुपर्ने बाध्यताले पनि परिवारहरू विघटन भएका छन्। देशमा वैदेशिक रोजगारीले रेमिटान्स ल्याए पनि यसको सामाजिक मूल्य ठूलो छ। सकेसम्म व्यक्ति परिवारमै बस्न पाए त्यसले आपसी सम्बन्ध राम्रो हुन्छ। परिवारको व्यक्ति बाहिर हुँदा विवाहेतर सम्बन्धले समेत प्रश्रय पाएको देखिन्छ। त्यसले अन्ततः मानिसलाई अपराधतर्फ उन्मुख गराउन सक्छ। एकातिर परिवारका निम्ति भनेर पठाएको रकम अर्कैले खाइदिन सक्छ। अर्कोतिर, पारिवारिक मूल्य पनि कमजोर हुँदै गएका छन्। विगतमा संयुक्त परिवारको अभ्यास थियो, त्यसले एकअर्कालाई जगेर्ना गर्ने अवस्था रहेको हो। अहिले आएर पति÷पत्नी र सन्तान मात्र रहेको लघु परिवारको चलन सुरु भएको छ। त्यसैगरी सहरीकरणसँगै सामूहिकताको भावना पनि कमजोर भएको छ। त्यसैले आवेगलाई रोक्न नसकेर पनि हिंसातर्फ धेरै व्यक्ति गएका छन्।
अतः हिंसात्मक घटनाबाट समाजलाई जोगाउन यसका नकारात्मक पक्षबारे जानकारी गराउनु उचित हुन्छ। कानुनी अज्ञानता क्षम्य नहुने हुँदा प्रत्येक व्यक्तिले आफूलाई अपराधबाट टाढा राख्न जान्नुपर्छ। स्कुल/कलेजमा पनि यससम्बन्धी अध्ययन गराइनुपर्छ। स्कुल/कलेज बाहिर रहेको जनसंख्यालाई समाजको अहिलेको चरित्रबारे जानकारी गराउँदै लैजानु जरुरी देखिएको छ। सूचना प्रविधिको प्रयोगमा पनि समाजलाई सचेत गराउनुपर्ने देखिँदैछ। सूचना प्रविधिको सदुपयोग गर्दा हुने फाइदा र यसको दुरूपयोगबाट आफ्नो जीवनमा आउन सक्ने समस्याबारे पनि जानकारी हुनुपर्छ। समाजलाई नैतिक र आचारयुक्त बनाउने दायित्व तीनै तहका सरकार र नागरिक समाजसमेतको हो।
प्रकाशित: ५ पुस २०७९ ००:१२ मंगलबार

