७ चैत्र २०८२ शनिबार
image/svg+xml
सम्पादकीय

विश्वविद्यालयको अवरुद्ध विकास

ज्ञान निर्माण र संवाहनमा विश्वविद्यालयको महत्वपूर्ण स्थान रहन्छ। यही ज्ञानले समग्र देश र समाजलाई दिशा निर्देश गर्छ। विश्वविद्यालयले उपलब्ध गराउने शिक्षा र अनुसन्धानले देशको समग्र विकासलाई सघाएको हुन्छ। देशमा पछिल्ला वर्षमा विश्वविद्यालय थप्न होडबाजी छ तर तिनको गुणस्तरतर्फ कसैको ध्यान गएको छैन। यी निकायले केही हदसम्म देश र समाजको आवश्यकतालाई पूर्ति गरेका छन्। तर अहिलेको समयको आवश्यकतालाई बोध गरेर यी संस्थालाई प्रतिस्पर्धी बनाउन सकेको देखिएन।

यो विषयमा देशको सबै भन्दा पुरानो र ठूलो त्रिभुवन विश्वविद्यालय ज्ञान उत्पादन र अनुसन्धानमा कति प्रभावकारी छ भन्नेमा सधैँ प्रश्न उठने गरेको छ। यो विश्वविद्यालयमा प्राज्ञिक भन्दा राजनीतिक खेल बढी हुने गरेको आरोप लाग्दै आएको छ। यो चिन्ताको विषय हो। यो निकायलाई स्वायत्त बनाउनुपर्छ भन्नेमा कसैको दुई मत छैन तर त्यसो हुन सकेको छैन। विश्वविद्यालय देखाउनका निम्ति मात्र स्वायत्त छन्। तिनमा पदाधिकारीको नियुक्तिदेखि कार्यक्रमसम्ममा राजनीतिक प्रभाव प्रष्ट देखिन्छ। यो स्थितिमा विश्वविद्यालयले आफैँ सक्रिय भएर काम गर्ने वातावरण छैन।

यो ऐतिहासिक निकायलाई साँच्चिकै अनुसन्धानमूलक संस्था बनाउने हो भने विश्वका अन्य सफल विश्वविद्यालय जस्तै यसलाई व्यावहारिकरूपमै स्वायत्त संस्थाका रूपमा स्वीकार गर्न सक्नुपर्छ। त्रिभुवन विश्वविद्यालयअन्तर्गतका रिकास्ट, सेडा, सिनास जस्ता विशिष्टकृत निकायले अपेक्षित नतिजा दिन सकेका छैनन्। अनुसन्धानका हिसाबले यी सस्थाको हालत अत्यन्त नाजुक छ। यी संस्थाले विगतमा उल्लेख्य काम गर्न सकेका भए पनि पछिल्लो राजनीतिक परिवर्तनपछि निकम्मा जस्ता देखिएका छन्। यसको कारणमा पुगेर निराकरण गर्नुपर्छ।

राष्ट्रिय प्राथमिकताका क्षेत्रमा सघन अनुसन्धानका लागि त्रिविले दुई वर्षदेखि ५० लाखसम्मको अनुसन्धान प्रस्ताव माग गर्दै आएको छ। सरकारले उपलब्ध गराएको बजेटमार्फत यस्ता अनुसन्धानका लागि आवेदन माग गरिएको हो। तर यति धेरै महत्वको विषयका लागि आवेदन न्यून हुने गरेको छ र अनुसन्धान बजेट खर्च हुन सकेको छैन। अपेक्षित आवेदन किन हुन सकेन भन्नेमा विश्वविद्यालयले समीक्षा गर्न जरुरी छ। यो रकमको समेत उपयोग हुन नसक्नु दुर्भाग्य हो। यसले के संकेत गरेको छ भने त्रिभुवन विश्वविद्यालयलाई अनुसन्धानमैत्री बनाउन अनुसन्धान नीति, संस्थागत परिपाटी र समग्र व्यवस्थापनमा आमूल परिवर्तन गर्नुपर्ने देखिएको छ।

यो प्रसंगमा नेपालको प्रमुख चुनौती रहेको वायु प्रदूषण र जलवायु परिवर्तनसँग सम्बन्धित वायुमण्डलीय भौतिकशास्त्रको विषयमा अध्ययन, अनुसन्धान र सम्पूर्ण जानकारी र अनुसन्धान गर्दै आएको नेसनल एट्मस्फेरिक रिसोर्स एन्ड इन्भारोमेन्टल रिसर्च ल्याबोरेटरी (नारेल) को विद्यमान अवस्थालाई हेर्न सकिन्छ। यति महत्व बोकेको निकायका लािग आवश्यक भवन निर्माण कार्य वर्षाैँदेखि ठप्प छ। यही कारणले करोडौँ मूल्यका उपकरण प्रयोगबिहीन बनेका सम्बद्ध अधिकारीको गुनासो छ। देशको पन्धौँ योजनामा समेत स्तरोन्नति र प्रभावकारी सञ्चालन गर्ने भनेर प्राथमिकताको कार्यक्रममा रहेको यो प्रयोगशाला अलपत्र रहनुलाई स्वीकारयोग्य विषय मान्न सकिन्न। विश्वविद्यालय नेतृत्वले यसलाई महत्व नदिनु उदेकलाग्दो विषय हो।

विश्वविद्यालयमा सक्षम प्राध्यापकहरू पनि छन्। तर कुनै राजनीतिक आस्थामा नबाधिँदा उनीहरू ओझेलमा छन्। मूल कुरा के हो भने दलसापेक्ष रहेका प्राध्यापकहरूको अनुसन्धानमा खास रुचि छैन। उनीहरूको अत्यधिक समय त्रिविका महत्वपूर्ण पद र अन्य नियुक्ति दौडमा बढी व्यतीत हुृने गरेको पाइन्छ। यसले विश्वविद्यालयको समग्र उन्नयनमा प्रभाव परेको छ। बाह्य स्रोत भित्र्याएर विश्वविद्यालय र राष्ट्रलाई योगदान पुर्‍याउन सक्ने तर कुनै दलमा आबद्ध नरहेका प्रतिभाशाली प्राध्यापकहरू निरीह र निराश देखिनु दुःखको कुरा हो। यस्तो अवस्थाको अन्त हुन जरुरी छ। अनुसन्धनात्मक योगदान गर्न सक्ने र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय यश कमाउन सक्ने वातावरण सिर्जना गर्न अत्यावश्यक भैसकेको छ।

विश्वविद्यालयमा अनुसन्धानमैत्री वातावरण बनाउन सकेमा निष्क्रिय रहेर बसेका प्राध्यापकहरू अनुसन्धान गर्न सक्रिय हुनेछन्। त्यस्तो गर्न सकेमा विशिष्ट प्रकृतिका प्रयोगशाला/अनुसन्धान केन्द्रहरू निर्माण हुन सक्छ र अनुसन्धान क्षमताको दिगो विकास हुने देखिन्छ। विश्वविद्यालय र देशको हितमा प्राध्यापक र यी निकायले बाह्य स्रोतको जोहो गर्न सक्छन् भने त्यसलाई छूट दिनुपर्दछ। यसो गरेमा उनीहरूले आफ्नो दक्षता, क्षमता र विशिष्टताका आधारमा बाह्य स्रोत परिचालन गरी स्वायत्तरूपमा अनुसन्धान आयोजना सञ्चालन गर्न, पूर्वाधार तथा प्रयोगशाला निर्माण गर्न र देशका लागि आवश्यक पर्ने भावी जनशक्ति विकास गर्न सक्नेछन्।

विश्वविद्यालयमा उल्लेख्य योगदान पुर्‍याउन सक्ने अनिवार्य अवकाशपछि पेन्सन खाई घरमै थन्किएर बसेका प्राध्यापकहरूलाई पनि योगदानका आधारमा यस्ता अनुसन्धान र प्रयोगशालमा आबद्ध गर्न सकिन्छ। जागिरका हिसाबले सेवा निवृत भए पनि प्राध्यापक सेवा निवृत हुन सक्दैन। यस्ता प्राध्यापकले आजीवन आफ्नो ज्ञानको प्रयोग गर्न सक्छन्। कतिपय देशमा आजीवन प्राध्यापक नियुक्त गर्ने व्यवस्थासमेत छ।

त्यसैले समग्र हिसाबले भन्नुपर्दा ज्ञान उत्पादन र संवाहनको जिम्मा लिएको त्रिवि नेतृत्व राजनीतिक र अन्य हिसाबले साँघुरो घेरामा रहनु हुँदैन। सतही र उत्ताउला अध्ययन प्रतिवेदन र निराशायुक्त उपलब्धिहरूको निरन्तरताको अन्त गर्ने बेला आइसकेको छ। गहिरो अध्ययन र अनुसन्धानले मात्र समग्र समाज र देशलाई सही हिसाबले अगाडि बढ्न सहयोग गर्छ।

प्रकाशित: ४ पुस २०७९ ००:१९ सोमबार

Download Nagarik App