कल्पना गरौँ, हवाई दुर्घटनामा दुई दिनको बीचमा ३० जनाको मृत्यु भएको भए कति ठूलो होहल्ला हुँदो हो। यसका कारण खोज्न राज्यका निकायले कति धेरै तत्परता देखाउँदा हुन्। सडक दुर्घटनामा हुने यस्ता मृत्युलाई भने सामान्य घटनाका रूपमा लिइन्छ। मान्छे मरिरहन्छन्। त्यसप्रति संवेदनशीलता देखाइँदैन। सवारी दुर्घटनामा हुने मृत्यु घटाउन सकिन्छ। त्यसका निम्ति अनुगमन प्रक्रियालाई सक्रिय बनाउनुपर्छ। हवाई यातायातमा जुन तहको सुरक्षा उपाय अपनाउने गरिन्छ, सडक सवारीमा यसलाई बेवास्ता गर्नुपर्छ भन्ने होइन। सडकमा गुड्ने साधनलाई जति सुरक्षित बनाउन सकिन्छ, त्यति नै सर्वसाधारणको जीउज्यानको जोखिम कम हुन्छ।
काभ्रेको बेथानचोकमा मंगलबार साँझ भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने १४ जना घाइतेको उपचार भइरहेको छ। ब्रतबन्धमा सरिक भएर बसमा पनौती फर्किरहेका सर्वसाधारण दुर्घटनामा परेका हुन्। दुई दिनअघि जाजरकोटामा भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ। वर्षभरि बस दुर्घटनाको तथ्यांक हेर्ने हो भने कहालीलाग्दो अवस्था छ। सडक दुर्घटनाका घटना भइरहे पनि यसलाई रोकथाम गर्ने उपायको खोजी भएको देखिँदैन। यसरी मृत्यु हुने र घाइते तथ्यांकमै सीमित छन्। सम्बन्धित व्यक्ति र पीडित परिवारबाहेकले यसलाई ठूलो समस्या मानेको देखिँदैन। जसलाई यो समस्या पर्छ, उसको सर्वस्व हुन्छ।
त्यसैले जनधनको क्षति हुन नदिन सरकारले विशेष कार्ययोजना ल्याउनु उचित हुन्छ। सवारी साधनलाई सुरक्षितरूपमा सञ्चालन गर्न यस्तो कार्ययोजना कडाइसाथ लागु गर्नु उचित हुन्छ। विशेषगरी सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवसायी र अन्य सरोकारवाला व्यक्तिले सडक यातायातलाई सुरक्षित बनाउन आफैँले सुरक्षा योजना लागु गर्न सक्नुपर्छ। यस्ता बसलाई सुरक्षित ढंगले चलाएको वा नचलाएको अनुगमन गर्ने छुट्टै निकाय पनि हुनुपर्छ। आकस्मिकरूपमा जाँच हुने र निर्धारित मापदण्डअनुरूप नगरेको फेला परेमा कारबाही हुने प्रावधान हुनुपर्छ। त्यसो भयो भने जनधनको क्षति हुनबाट रोक्न सकिन्छ। घटना हुँदा दुई दिन चासो राख्ने र फेरि पहिलेकै अवस्थामा अघि बढ्ने अहिलेको स्थितिमा सुधार आवश्यक भइसकेको छ।
प्रायः सडक दुर्घटनाको मुख्य कारण तीव्र गतिमा सवारी साधन चलाउनुलाई लिने गरिएको छ। प्रारम्भिकरूपमा काभ्रेमा मंगलबार भएको दुर्घटनाको कारण पनि यही मानिएको छ। एकातिर, सवारी साधनको अवस्था ठीक राखिएको हुँदैन। अर्कोतिर, यस्ता सवारी साधनलाई सावधानीपूर्वक चलाउने गरेको पनि देखिँदैन। सवारी साधन चलाउनु भनेको गम्भीर जिम्मेवारीको काम हो भन्ने चेतना सार्वजनिक यातायातका चालकलाई दिनु आवश्यक छ। यसका निम्ति तालिम वा अभिमुखीकरण कार्यक्रम आयोजना गर्न सकिन्छ। सवारी व्यवसायमा रहेका व्यक्ति, सरकार र यसका उपभोक्ता सबैको ध्यान पुग्नु आवश्यक छ। आफूलाई लिएर हिँडेको सवारीको अवस्था र यसको चालकका बारेमा जानकार हुनु पनि त्यत्तिकै आवश्यक छ।
हाम्रो जस्तो पहाडी मुलुकका निम्ति सडक यातायात नौलो उपलब्धि हो। आफ्नो जीवनकालमा कैयन् दिन हिँडेर गन्तव्यमा पुगेका व्यक्तिहरू आज सडक सञ्जालको विकासका कारण सवारी साधन प्रयोगको हैसियतमा पुगेका छन्। यस्ता व्यक्तिका निम्ति बसको अवस्था र सडकको स्थितिप्रति खासै गुनासो हुँदैन। धन्य, सवारीको प्रयोग गर्न पाइएको छ भन्ने पर्न सक्छ। त्यसैले सवारी साधन प्रयोग गर्ने व्यक्तिमा समेत व्यापक चेतना अभिवृद्धि आवश्यक देखिएको छ। एक तथ्यांकअनुसार नेपालमा दैनिक सात जनाको मृत्यु सडक दुर्घटनामा हुने गर्छ। त्यसैगरी ४० जना व्यक्ति दैनिक घाइते भएको तथ्यांक छ। यसबाट महसुस गर्न सकिन्छ, हामीकहाँ सडक यातायात कति ठूलो समस्याका रूपमा आइरहेको छ।
त्यसैले यो एउटा आपतकालीन अवस्था हो। यसका निम्ति गम्भीरता देखिएको छैन। मुलुकमा माओवादी हिंसात्मक घटना हुँदा मारिएका १७ हजार मानिसको चर्चा निरन्तर हुन्छ। सडकमा मारिएका यी व्यक्तिको जिम्मेवारी कसले लिने ? वास्तवमा सडक यातायातको स्थिति ठीक नराखेर भइरहेको यस किसिमको मृत्युको जिम्मेवारी लिनुपर्ने अवस्था सिर्जना नगर्ने हो भने जोकोही यसको सिकार हुन सक्छ। सडकलाई लापरबाहीका रूपमा प्रयोग गर्ने अहिलेको अवस्थामा सुधार भएन भने यो क्रम रोकिने छैन। सन् २०२१ मा मात्र राजमार्ग र सडकमा १३ हजार दुर्घटना भएका थिए। त्यस क्रममा २ हजार ७ सय ३६ जनाको मृत्यु भएको थियो। दुर्घटनामा परेका १० हजार ७ सय ३१ जना गम्भीर घाइते भएका थिए। यसबाट सडक दुर्घटनाको गम्भीरतालाई अनुभव गर्न सकिन्छ।
सवारी दुर्घटना गर्ने र गराउनेलाई कानुनीरूपमा समेत जिम्मेवार बनाउनुपर्ने देखिन्छ। जस्तासुकै दुर्घटना गराए पनि त्यसको जिम्मेवारी लिनुपर्ने अवस्था रहेन भने स्वाभाविकरूपमा दण्डहीनताको स्थिति रहन्छ। यस्ता घटना भइरहने र निरन्तर जनधनको क्षति रोक्न नसकिने अवस्था रहन्छ। सडक दुर्घटनाको कारण सवारी साधनको अवस्था, सडकको स्थितिमा मात्र निर्भर हुँदैन। अहिले देशैभरि सडक सञ्जाल विस्तार गर्ने लहर छ। तर यसरी विस्तार गरिएका सडकको अवस्थाबारे कमै ध्यानमा राखिएको छ। जस्तोसुकै जोखिम उठाउन खोज्दा सडक दुर्घटनामा पर्ने र जीउज्यानको नोक्सानी हुने अवस्था रहन्छ। यस्तो हुन नदिन सडकको गुणस्तरमा समेत ध्यान दिनुपर्ने देखिन्छ।
प्रकाशित: २९ मंसिर २०७९ ००:१६ बिहीबार

