७ चैत्र २०८२ शनिबार
image/svg+xml
सम्पादकीय

काठमाडौंको तिर्खा मेलम्चीको पानी

मुलुकका गौरवपूर्ण आयोजनामध्ये एक मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौं उपत्यकामा पुनः पानी वितरण हुनु आफैंमा सुखद हो। यसअघि दुई पटक राजधानीबासीका धारामा मेलम्चीको पानी आइसकेको हो। यसअघि पहिरोका कारण पानी आउन रोकिएको हो। खानेपानी मन्त्री उमाकान्त चौधरीले शुक्रबार खानेपानी पुनःवितरण गरेपछि लामो समयदेखिको सपना पूरा भएको छ। मेलम्चीको पानी काकाकुल काठमाडौंका निम्ति महŒवको खजाना पनि हो। यसअघि पानी आएपछि राष्ट्रपति विद्यादेवी भण्डारीबाटै उद्घाटन समेत भएको हो। आयोजनाबाट जति ठूलो अपेक्षा गरिएको हो, त्यसको पूर्ति भने हुन सकेको छैन। बाढीपहिरोबाट क्षतिग्रस्त मेलम्ची हेडबक्र्स क्षेत्रमा करिब ५ करोड रूपैयाँको अस्थायी संरचना तयार पारेपछि मात्र पानी उपत्यकामा ल्याइएको हो।

मेलम्चीको पानी आइसकेपछि पनि काठमाडौंको माग पूरा धानिँदैन। खालि यसले मागलाई केही हदसम्म सहज तुल्याउने हो। काठमाडौंको खानेपानी समस्या समाधान गर्न भनेर अढाइ दशकअघि योजना सुरु भएको हो। २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन भएपछि यसको निर्माण कार्य सुरु भएको हो। खासमा देशले २०२९ सालमै खानेपानी आपूर्तिका लागि सम्भाव्य स्रोतको अध्ययन सुरु गरेको हो। २०४१ सालमा मेलम्चीसहितका २२ विकल्प अघि सारिएको थियो। पछि सन्तनेता कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी ल्याएर काठमाडौंका सडक पखालिदिने भाषण गरेका थिए। यसरी मेलम्चीको पानी ल्याउने विकल्पबारे धेरै अघिदेखि तयारी भएको हो भन्ने देखिन्छ।  

अहिले मेलम्चीको पानी आइसके पनि अझै यसको दिगोपनबारे प्रश्न छन्। एकातिर, यो आयोजना पूरा गर्न ढिलो गरियो। यो ढिलाइका पछाडि रहेको स्वार्थको खेल आफ्ना ठाउँमा छ। आयोजना जति लम्बियो, त्यति त्यसबाट लाभान्वित हुने वर्ग यहाँ छ। त्यो वर्गले यसबाट प्राप्त हुने सवारीसाधनदेखि अन्य स्रोतमा आँखा लगाइरह्यो। आयोजना लम्ब्याएपछि ठेकेदार, कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वलाई हुने अनेकन लाभको खेल पनि यसमा जोडिएको छ। अर्कातिर, यो आयोजना प्राकृतिक रूपमा जटिल क्षेत्रमा रहेको भन्ने प्रस्ट भएको छ। यो आयोजना बाढीपहिरोबाट पनि उत्तिकै आक्रान्त हुन सक्छ भन्ने अध्ययन यसअघि किन हुन सकेन ? एकाएक यस क्षेत्रमा बाढी आएर आयोजनाले काठमाडौं पठाउने पानी अवरुद्ध भएपछि मात्र यसबारे चर्चा भएको छ।  

हामीकहाँ आयोजनाको परिकल्पनादेखि निर्माण सम्पन्न गर्ने बेलासम्म यथार्थमा आधारित हुने प्रवृत्तिको अभावका कारण यस्तो भएको हो। आयोजना सम्पन्न भई काठमाडौंमा पानी ल्याएर वितरण गर्ने कामको श्रेय लिन भने कसैले पनि छाडेको छैन। अहिले खानेपानी मन्त्री चौधरीले बाह्रै महिना जसरी पनि पानी ल्याएर ख्वाउने भनी दिएको भाषण पनि यसैको एउटा रूप हो। मेलम्ची आयोजना आफैमा एउटा महँगो उपक्रम हो। देशले यसका निम्ति ३५  

शुद्ध खानेपानी स्वस्थ जीवनको आधारशीला हो। विकसित मुलुकमा नागरिकले धाराको पानी सिधै थापेर पिउन सक्छन्। हामीकहाँ अझै त्यो अवस्था आएको छैन। हाम्रो ध्यान पानीको गुणस्तरभन्दा आपूर्तिमै केन्द्रित छ।

अर्बभन्दा बढी खर्च गरेको छ। पछि बाढीपहिरो गएपछिको खर्च यसमै थपिँदा आयोजना लागत अझ बढी हुन्छ। मेलम्चीको पानीले काठमाडौंको अभावलाई धेरैहदसम्म कम गर्न सहयोग पुर्‍याउँछ। यसका साथै नागरिकलाई स्वस्थ पानी उपभोगको अवसर हुने भएका कारण पनि जसरी पनि यहाँ आपूर्ति हुनुपरेको छ।  

काठमाडौं उपत्यका आफैमा एउटा समस्याको थलोजस्तो भइसकेको छ। उपत्यका ६६५ वर्ग किलोमिटरको छ। यहाँको जनसंख्या बढ्दो छ। यहाँको जनसंख्या १५ लाख २१ हजार रहेको भने पनि यो कल्पना गरेभन्दा ठुलो छ। एकातिर, बढ्दो अव्यवस्थित सहरीकरणले खानेपानीलगायतका अत्यावश्यक वस्तु र सेवाको आपूर्ति सहज छैन। अर्कातिर, यहाँको प्रदूषण बढ्दो क्रममा छ। यस्तो स्थितिमा यहाँको जनसंख्यालाई धान्ने गरी खानेपानीको व्यवस्था गर्नु चुनौतीको काम छ। वास्तवमा काठमाडौं उपत्यकामा जनसंख्या बढिरहने काम केले गरेको छ ? सेवासुविधा यहीं केन्द्रित हुँदा सबैलाई काठमाडौं आउनुपरेको हो। मुलुकले संघीयता अपनाइसकेको हुनाले प्रत्येक गाउँठाउँलाई न्यूनतम सेवासुविधाले परिपूर्ण तुल्याउनुपर्छ। त्यसैगरी शिक्षा, स्वास्थ्य र रोजगारको व्यवस्था स्थानीय स्तरमै हुने हो भने काठमाडौं आउनुपर्ने अवस्था कम हुन्छ। अन्यथा मेलम्चीजस्ता महँगा आयोजनाको परिकल्पना र कार्यान्वयनमै आगामी केही दशक पनि बित्ने अवस्था आउन सक्छ।  

शुद्ध खानेपानी स्वस्थ जीवनको आधारशीला हो। विकसित मुलुकमा नागरिकले धाराको पानी सिधै थापेर पिउन सक्छन्। हामीकहाँ अझै त्यो अवस्था आएको छैन। हाम्रो ध्यान पानीको गुणस्तरभन्दा आपूर्तिमै केन्द्रित छ। तर, आजका नागरिकले स्वच्छ र सफा खानेपानी पाउनुपर्छ। त्यसका निम्ति राज्यले आवश्यक तयारी गर्नुपर्छ। नागरिकको स्वास्थ्यको अधिकारलाई समेत संविधानले सुनिश्चित गरिसकेको स्थितिमा खानेपानी न्यूनतम आधारभूत आवश्यकता हो। मागअनुसार आपूर्ति गर्न नसकेका कारण नागरिकले पनि सरकारलाई खासै दबाब दिएका छैनन्।  

नेपाल यसै पनि जलस्रोतमा धनी छ। यहाँ हिमाली भेगबाट बगिरहेका खोला छन्। तिनको पानी खानेपानी र सिँचाइका निम्नि सदुपयोग गर्न सक्नुपर्छ। त्यति मात्र होइन, वर्षा याममा पर्ने पानीलाई समेत जगेर्ना गरी सुख्खा मौसममा प्रयोग गर्न सकिन्छ। यसले बाढीपहिरो कम गर्न मात्र मद्दत गर्दैन, बाह्रै महिना पानीको आपूर्ति गर्न समेत सार्थक काम गर्छ। आजको दिनमा प्रविधिले यो सम्भव तुल्याइसकेको छ। प्रविधि, श्रम र सिपको प्रयोग हुने हो भने यो असम्भव छैन। मेलम्ची राजधानीका धारामा आइपुग्नुलाई सकारात्मक मान्नुपर्छ। तर, आयोजनामा हुने यो तहको ढिलाइबाट पाठ भने सिक्नैपर्छ। समयमै आयोजना सम्पन्न गरेर नागरिकलाई सेवा दिन थाल्दा राज्यको साख बढ्छ। आयोजना समयमै नसक्दा त्यसले पार्ने बहुआयामिक प्रभावतर्फ ध्यान पुग्नु आवश्यक छ।

प्रकाशित: २५ मंसिर २०७९ ००:२५ आइतबार

Download Nagarik App