८ वैशाख २०८१ शनिबार
सम्पादकीय

प्रदूषणविरुद्ध प्रयास

हिउँदमा वायु प्रदूषण हुनु हाम्रा निम्ति नियमित आकस्मिकता भएको छ। वर्षा रोकिएपछि प्रत्येक वर्ष वायु प्रदूषण उकालो लाग्छ। नियमित पानी पर्दा मात्र राजधानीलगायत देशका विभिन्न भूभागमा प्रदूषण कम हुन्छ। पानी पर्न रोकिएपछि यहाँको हावामा खैरो रंगको च्यादरले ढाक्न थाल्छ। धुवाँ र धुलोले गर्दा घामका किरण पनि सजिलै धर्तीमा पर्दैनन्। घाम लागेको दिनमा पनि बिस्तारै हावाले उडाएर त्यसलाई नलगेसम्म तुवाँलो जस्तो डम्म परेर बसिरहन्छ। यसले यहाँको हावालाई अस्वस्थकर बनाएको छ। वायु प्रदूषण कम गर्न बेलाबेलामा आवाज उठे पनि त्यसका निम्ति भरपर्दो गरी काम गरेको देखिएको छैन।

यहाँको हावा स्वास्थ्य मापदण्डअनुकूल नभएकोप्रति निरन्तर आवाज उठ्दै आएको छ। विश्व स्वास्थ्य संगठनले तोकिदिएको मापदण्ड भन्दा निकै खराब अवस्थामा हामी रहेका छौँ। जनस्वास्थ्यका हिसाबले वायु प्रदूषण मापक सूचकांक (एक्युआइ) शून्यदेखि ५० सम्म रहँदा स्वस्थकर मानिन्छ। ५१ देखि १०० सम्मको अवस्थालाई मध्यम तह मानिन्छ। हावाको गुणस्तर मध्यम तहमा पुग्नासाथ संवेदनशील व्यक्तिहरूले घरबाहिरका गतिविधि कम गर्नुपर्ने अवस्था रहन्छ। अहिले नै राजधानी काठमाडौँ उपत्यका र देशका अन्य कतिपय सहरको अवस्था जनस्वास्थ्यका लागि गम्भीर बनिसकेका छन्। यो अवस्थामा सुधार गर्न पर्याप्त ध्यान पुगिसकेको छैन। यदाकदा सरकारी क्षेत्रबाट केही हस्तक्षेप भए पनि यो दिगो ढंगले अगाडि बढेको छैन।  

धन्य, वन तथा वातावरण विभागले बिहीबार अत्यन्त जरुरी सूचना जारी गरी सवारी प्रदूषण कम गर्न र खुलारूपमा फोहोर नजलाउन भनेको छ। सूचनामा हिउँदको मौसममा उपत्यकालगायत देशका धेरै ठाउँमा वायु प्रदूषणको अवस्था बिग्रँदै गएको स्वीकार गरिएको छ। सरकारले सूचना जारी गरेर यति भनिदिँदा पनि स्वच्छ हावामा सास फेर्न रहर गर्ने सर्वसाधारणमाथि ठूलो उत्साह थपिएको छ। सूचनाअनुसार अब सवारीधनीले प्रदूषण जाँच गरी मापदण्ड पूरा गरेर मात्र सवारी चलाउनुपर्नेछ। वायु प्रदूषणको प्रमुख कारक धुवाँ र खुलारूपमा जलाउने फोहोर रहेको विभागले जनाएको छ।  

वायु प्रदूषणका यी प्रमुख कारकको निराकरण तब मात्र हुन्छ जब यसको प्रभावकारी कार्यान्वयन हुन्छ। कानुनले प्रदूषण मापदण्ड उत्तीर्ण नभई सवारी सडकमा निकाल्न नमिल्ने व्यवस्था गरेको छ। तर यसको पालना भएको छैन। प्रदूषण मापदण्डअनुसारको अवस्थामा सवारी राखेर सडकमा निस्कने अहिले कति छन्? केही निजी सवारीले मात्र मापदण्ड पूरा गरेर पुग्दैन। सडकमा निस्कने मोटरसाइकलदेखि सार्वजनिक गाडीसम्मले प्रदूषण गरेका छन्। हेर्दा साना देखिने सवारीले धेरै धुवाँ निकालेको सडकमा देखिन्छ। तर, त्यसलाई रोक्ने र आवश्यक कारबाही गर्नेतिर कसैको ध्यान पुगेको देखिँदैन।  

अबका दिनमा विभागले गाडीको धुवाँ निस्काशन स्थितिको परीक्षणलाई प्रभावकारी बनाउने दाबी गरेको छ। वास्तवमा यसका निम्ति स्थिति बिग्रिने बेलासम्म कुरेर बस्नु हुँदैनथ्यो। सवारी प्रदूषण जाँचको स्टिकर तिनै सवारीले मात्र लगाएको देखिन्छ, जुन बर्सेनि परीक्षणमा जान्छन्। अझ कतिपयले परीक्षणसमेत नगरी स्टिकर पाएको स्थिति पनि छ। अहिलेसम्म मर्मत गरी सवारीलाई दुरुस्त राख्न दिने गरेकामा अब पुस १ देखि विभागको परीक्षणमा पास हुन नसक्ने गाडीलाई एक लाख रुपियाँसम्म जरिवाना गर्ने भनिएको छ। यो व्यवस्था ठीक छ। तर, प्रदूषित हुने अवस्था के-केले सिर्जना गरेको छ भन्नेतिर पनि ध्यान पुग्नु उचित हुन्छ। यहाँ बिक्री हुने पेट्रोलियम पदार्थको गुणस्तरको अवस्था के छ ? त्यतातिर विचार गरिएको छ÷छैन ?

प्रदूषण जाँचपास गर्दा उत्तीर्ण हुन नसक्ने सवारी साधनलाई वातावरण संरक्षण ऐन–२०७६ को दफा ४१ उपदफा २ अनुसार जरिवाना हुने भनिएको छ। छड्के जाँचमा प्रदूषण जाँचपासका रूपमा हरियो वा अन्य स्टिकरको अवधि बाँकी रहेको अवस्थामा पनि अनुत्तीर्ण हुने गाडीलाई एक लाख रुपियाँसम्म जरिवाना गरिने विभागको दाबी रहेको छ। विभागले टोल छिमेकमा कसैले खुलारूपमा फोहोर जलाउने गरेको पाएमा गोप्यरूपमा जानकारी दिनसमेत आग्रह गरेको छ। सबै भन्दा पहिले जथाभावी फोहोर जलाउन हुँदैन भन्ने चेतनाको सन्देश दिन पनि विभाग तत्पर हुनुपर्छ। जरिवाना गरेर मात्र सुधार गर्न सकिन्छ भन्ने होइन। जरिवानाले सर्वसाधारणलाई सजग हुन बाध्य पार्छ। तर त्यो भन्दा अघि यस्तो काम गर्नुहुँदैन भनी व्यापक प्रचारप्रसार गर्नतिर लाग्नुपर्छ।  

अहिले प्रमुख प्रदूषकका रूपमा सवारीको धुवाँ र खुलारूपमा फोहोर जलाउने कार्यलाई लिइएको छ। राजधानी काठमाडौँको प्रमुख समस्या भनेको यहाँको कहिल्यै नटुंगिने निर्माण कार्य पनि हो। कुनै पनि सडक वा अन्य निर्माणकार्य कति समयमा सम्पन्न हुने ? त्यसको सीमा नतोकिँदा त्यसबाट निरन्तर उडिरहेको धुलोले समेत यहाँ आक्रान्त तुल्याएको छ। धुलोका कारण निरन्तर समस्यामा परेका बासिन्दा यहाँ छन्। प्रदूषणको कारण स्थानीय मात्र छैन। यो अन्तर्राष्ट्रिय गतिविधिको समेत अंग बनेको छ। त्यसैले प्रदूषण कसरी घटाउन सकिन्छ भनी रणनीति बनाउनु पनि उत्तिकै आवश्यक छ।  

विद्युतीय सवारी सञ्चालन र विस्तारै जैविक इन्धनको प्रयोग कम गर्ने उपायतिर मुलुक नगई सुख छैन। आज हाइड्रोजनबाट हवाईजहाजसमेत चलाउने गरी अनुसन्धान र अन्वेषण भइरहेका छन्। सकेसम्म कार्बन उत्सर्जन कम गर्ने प्रयास दुनियाँमा भइरहेका छन्। तर हामीले जैविक इन्धन उपभोग कम गर्नेतिर ध्यान दिएका छैनौँ। जैविक इन्धन प्रयोग गर्ने सवारीलाई समेत विद्युतीय बनाउनतिर सरकारको ध्यान पुग्नुपर्छ। त्यसो भयो भने क्रमशः वातावरण सुधार हुँदै जानेछ। काठमाडौँ यसै पनि वरिपरि डाँडाले घेरिएको कचौरा आकारमा छ। यहाँ जम्मा भएको धुवाँ र धुलो सजिलै हट्न सक्दैन। त्यसैले सकेसम्म यहाँ प्रदूषण कम गर्नेतिर ध्यान पुर्‍याउनु आवश्यक छ। दण्ड सजायले मात्र हुँदैन चेतना अभिवृद्धिले दिगो अवस्थामा मुलुकलाई लैजान्छ। वातावरण विभागको ध्यान नागरिक चेतना अभिवृद्धितिर पुगोस्।

प्रकाशित: २३ मंसिर २०७९ ००:२४ शुक्रबार

Download Nagarik App
Download Nagarik App