१५ वैशाख २०८१ शनिबार
image/svg+xml
सम्पादकीय

उदार व्यवस्थाको उदय

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको बहुआयामिक चर्चा भइरहेको छ। यसपटकको निर्वाचन परिणामबाट प्राप्त सन्देश मननीय छ, त्यो हो-नेपाल उदार लोकतान्त्रिक व्यवस्थाको पक्षमा छ। निर्वाचन परिणामले अति राष्ट्रवाददेखि उग्र राजनीतिसम्मलाई अस्वीकार गरेको छ। आफूलाई जहिल्यै महान् राष्ट्रवादी देखाएर भोट सोहोर्न खोज्ने प्रवृत्ति पनि यसपटक राम्रैसँग ठेगान लागेको छ। त्यसैगरी नेपाली जनतालाई जहिल्यै उग्रतातर्फ लगेर अल्मल्याइरहन खोज्ने शक्ति पनि आकार खुम्चिएको अवस्थामा छन्। मुलुकका प्रत्येक राजनीतिक शक्तिले बुझ्नुपर्ने एक मात्र कुरा हो-अनावश्यक उत्तेजना फैलाउनुलाई पनि मतदाताले स्वीकार्नेवाला छैनन्।

सात दशकको अन्तरालमा मुलुकले अनेकन राजनीतिक प्रयोग गरेको छ। किसिमकिसिमका व्यवस्था र नेता यसबीचमा भोग्नुपरेको छ। आमनागरिकलाई अब त्यही राजनीति दिगो लाग्न थालेको छ, जसले शान्तिपूर्ण माध्यमबाट मुलुकको रूपान्तरण गर्न सक्छ। खासगरी उग्र वामपन्थी राजनीतितर्फ मुलुकलाई अग्रसर गराउन खोज्ने नेकपा (माओवादी केन्द्र) यसपटकको निर्वाचनमा राम्रैसँग सहरी क्षेत्रबाट घटेको छ।

उसले आफूलाई उदार हृदयले लोकतान्त्रिक शासन व्यवस्थामा उन्मुख गराउनुको विकल्प छैन। त्यति मात्र होइन, विगतमा गरिएका हिंसा हत्याले मात्र मुलुक अगाडि बढेको होइन। मुलुकको प्रगति उद्भव र विकासकै एउटा हिस्सा हो। माओवादीले हिंसात्मक गतिविधि नगरेका भए पनि उद्भव प्रक्रिया रोकिने थिएन।

अहिलेको नेपालका नागरिक शिक्षित मात्र छैनन्, देश/विदेशको अनुभव पनि गरेका छन्। निर्वाचनका क्रममा दिएको मत सुविचारित छ। तिनले छानेका उम्मेदवार उत्कृष्ट किसिमका छन्। जो यसअघि पटक-पटक परीक्षण भएका हुन्, तिनलाई यसपटक मतदाताले थन्क्याइदिएका छन्। आममतदाताले छानेका जनप्रतिनिधि पहिलो पटक संसद्मा पुग्दैछन्। तिनमा अनुभवको कमी भए पनि उत्साह यथेष्ट छ। त्यही उत्साहले तिनलाई आगामी यात्राका निम्ति तयार पार्नेछ। मुलुकका समस्याबाट छट्पटाएर ती राजनीतिमा हाम फालेका हुन्। प्रमुख दलका शीर्ष नेतामा देखिएको अकर्मण्यताले धेरैलाई अब राजनीति सुध्रिनै नसक्ने अवस्थामा गएको महसुस भएको हो। युवा पुस्ताका राजनीतिक व्यक्तिको आगमन सुखद छ। यसले अहिलेसम्म फेरिन नसकेको राजनीतिक नेतृत्वलाई परिवर्तनका निम्ति बलियो हस्तक्षेप गरेको छ।

अहिलेसम्म मुलुकको राजनीतिमा शीर्ष नेताहरूले राष्ट्रियताको कार्ड खेल्दै आएका पनि हुन्। विशेषगरी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ‘चुच्चे नक्सा’ लाई आफ्नै मात्र उपलब्धिका रूपमा व्याख्या गरेका हुन्। उनले राष्ट्रियताका निम्ति आफूलाई एक मात्र मसिहाका रूपमा चित्रण गर्दै आएका हुन्। चुच्चे नक्सा जारी हुँदै सिंगै मुलुक एक ठाउँमा उभिएको हो। राष्ट्रियताको मामिलामा कुनै दल पनि तल वा माथि छैन। सबैले देशका निम्ति गर्छन्। त्यसैले राष्ट्रियतालाई मुद्दा बनाएर मुलुकको राजनीतिमा टिकौँला भन्ने दिन पनि गएका छन्। देशलाई आर्थिकरूपमा समृद्ध बनाउँदै गएपछि राष्ट्रियता पनि आफैँमा बलियो हुँदै जान्छ। विगतमा जस्तो ‘रुग्ण राष्ट्रवाद’ को समय सकिएको यो स्पष्ट संकेत हो।

माओवादीको उग्र राजनीतिलाई एउटा टुंगोमा पुर्‍याएपछि पनि बीचबीचमा फेरि पुरानै बाटोमा जान चाहने विभिन्न शक्ति नदेखिएका होइनन्। माओवादीकै पाइला पछ्याउँदा राजनीतिमा उकालो चढ्न सकिने विश्वास पनि केहीको रहेको हो। तर त्यो बाटोलाई आमनागरिकले पटक-पटक स्वीकार गर्न सकेनन्। ‘बुलेट’ अर्थात् बन्दूकभन्दा ‘ब्यालट’ अर्थात् मतको बाटो सही देखिँदैछ। आफूलाई सुधार गरेर अगाडि बढ्न खोज्ने प्रत्येक दललाई मतदाताले मार्गदर्शन गरेका छन्। उदार राजनीतिक बाटोबाटै अगाडि बढ्न सहज हुने विश्वास पटक-पटक प्रकट भएको छ। विभिन्न नाममा माओवादीकै विगतको हिंसात्मक बाटो समाउन खोज्नेलाई पनि मुलुकको राजनीतिले मूलधारमा ल्याएको छ। देशलाई उग्रता होइन उदार राजनीतिले मात्र बाटो देखाउन सक्छ। विगतमा ‘पृथकतावादी’ बाटो समाउन खोज्ने सिके राउतलाई जनमत पार्टी बनाएर राजनीति अगाडि बढाउँदा बढ्ता स्वीकार गरेको देखिएको छ। शान्तिपूर्ण बाटोबाटै परिवर्तन सम्भव छ भन्ने विश्वास बढ्दै गएको छ।

प्रत्येक निर्वाचनमा आममतदाताले दिने जनादेश फेरिएको छ। मतदाताहरू एउटै पार्टीमा नअल्मलिएर पटक–पटक पुनर्विचार गर्न तत्पर भएका छन्। कसैलाई पटक–पटक जिताएका छन्, केहीलाई तुरुन्तै थन्क्याएका पनि छन्। यसकारण पनि मतदाताको मनोभावलाई प्रभावित गर्न आफूलाई परिवर्तन गर्नु आवश्यक देखिएको छ। त्यस्तो अवस्थामा मात्र मतदाताको मन फेरिन्छ। सुरक्षित स्थानमा गएका शीर्ष नेताबाहेक विजयी यसपटकका युवा नेताका कारण पनि आशा गर्न सक्ने वातावरण बनेको छ। पुराना दल सच्चिउन् भन्ने आशा राखेर नयाँ दललाई विश्वासमा लिएको पनि देखिएको छ। यो भनेको मतबाटै परिवर्तन हुन सक्छ भन्ने हो।

निर्वाचनलाई आममतदाताले परिवर्तनको मतका रूपमा समेत लिने गरेका छन्। नियमितरूपमा आवधिक निर्वाचन हुन थालेपछि राजनीति सुधिँ्रदै जान्छ। मतदाताको रुझान दल र मुलुकमा लोकतन्त्र चाहने दलप्रति छ। दक्षिण एसियाकै सबै भन्दा लोकतान्त्रिक मुलुक बन्न सक्ने नेपालको सम्भावना पर्याप्त छ। मुलुकको यो उदार चरित्रलाई यसपटकको निर्वाचनले थप उजागर गरेको छ। यसलाई जोगाउँदै अघि बढ्दा देश थप उदार रहेको सन्देश जान्छ। 

प्रकाशित: ९ मंसिर २०७९ ००:४४ शुक्रबार

Download Nagarik App
Download Nagarik App