यती एअरलाइन्सले व्यावसायिक उडान सुरु गरेको २८ वर्ष पूरा गरेको छ । कम्पनीले पछिल्लो एक वर्षमा ९ लाख यात्रुलाई हवाई सेवा दिएको जनाएको छ ।
सन् १९९८ मा व्यावसायिक उडान सुरु गरेको यतीले २८ वर्षको यात्रामा सेवा विस्तारसँगै यात्रुको विश्वास, उड्डयन सुरक्षा र यात्रु अनुभवलाई व्यवसायको प्रमुख आधार बनाउँदै आएको जनाएको छ ।
पछिल्लो एक वर्षमा ९ लाख यात्रुलाई सेवा दिनुलाई कम्पनीले नेपाली यात्रुमाझ कायम रहेको विश्वासको महत्वपूर्ण सूचकका रूपमा लिएको छ । बदलिँदो बजार, बढ्दो प्रतिस्पर्धा र यात्रुको अपेक्षालाई ध्यानमा राख्दै सेवा गुणस्तर र सञ्चालन दक्षतामा निरन्तर सुधार गर्दै आएको कम्पनीको भनाइ छ ।
नेपालको आन्तरिक हवाई सेवा सञ्चालन लागत, विमानस्थल पूर्वाधार, मौसमजन्य अवरोध तथा सडक यातायातसँगको प्रतिस्पर्धालगायत चुनौतीबाट प्रभावित हुँदै आएको छ । यस्तो अवस्थामा एक वर्षमा ९ लाख यात्रुलाई सेवा दिनु महत्वपूर्ण व्यावसायिक उपलब्धि भएको कम्पनीले जनाएको छ ।
कम्पनीले यात्रु संख्या मात्रै व्यवसायको सफलता मापन गर्ने आधार नभएको उल्लेख गर्दै यात्रु अनुभव, सेवा विश्वसनीयता, सञ्चालन दक्षता र दीर्घकालीन ग्राहक सम्बन्धलाई समेत प्राथमिकतामा राखेको जनाएको छ ।
टिकट बुकिङदेखि विमानस्थल सेवा र उडान अनुभवसम्मका प्रक्रियालाई सहज बनाउने तथा यात्रुका सुझाव र प्रतिक्रियाका आधारमा सेवा सुधार गर्दै आएको यतीले जनाएको छ । डिजिटल माध्यम र ग्राहक सम्पर्क प्रणालीलाई थप प्रभावकारी बनाउनेतर्फ पनि कम्पनी केन्द्रित रहेको छ ।
यतीले उड्डयन सुरक्षालाई व्यवसायको मुख्य आधारका रूपमा लिँदै सञ्चालन प्रक्रिया, नियमित प्राविधिक निगरानी, चालक दल तथा प्राविधिक जनशक्तिको तालिम र सुरक्षा व्यवस्थापन प्रणालीमा निरन्तर सुधार गर्दै आएको जनाएको छ ।
नेपालको भौगोलिक अवस्थाका कारण हवाई यातायात पर्यटन, व्यापार, स्वास्थ्य, शिक्षा तथा आन्तरिक आवागमनको महत्वपूर्ण माध्यम रहेको कम्पनीको भनाइ छ । प्रमुख शहर तथा पर्यटकीय गन्तव्यलाई हवाई सेवामार्फत जोड्दै आएको यतीले हवाई सेवाको पहुँचले पर्यटन र स्थानीय आर्थिक गतिविधिमा समेत योगदान पुर्याउने जनाएको छ ।
२८औँ वार्षिकोत्सवलाई आगामी यात्राको दिशा तय गर्ने अवसरका रूपमा लिँदै कम्पनीले यात्रुको मागअनुसार सेवा सुधार, सञ्चालन दक्षता वृद्धि, डिजिटल प्रविधिको प्रयोग र ग्राहक अनुभवलाई थप सहज बनाउने विषयलाई आगामी प्राथमिकतामा राखेको जनाएको छ ।
२८ वर्षको अनुभव र लाखौँ यात्रुको विश्वासलाई आधार बनाउँदै सुरक्षित, भरपर्दो, सहज र यात्रुमैत्री हवाई सेवा प्रदान गर्ने प्रतिबद्धता यती एअरलाइन्सले दोहोर्याएको छ ।
प्रकाशित: ५ आश्विन २०८३ १५:५४ सोमबार





-600x400.jpg)