५ आश्विन २०८३ सोमबार
image/svg+xml
समाज

बाढी प्रभावित क्षेत्रमा टेलिकमको राहत प्याकेज: निःशुल्क सिम, ३ महिनासम्म फ्री-इन्टरनेट

नेपाल टेलिकमले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई लक्षित गरी तीन महिना निःशुल्क इन्टरनेट, नयाँ राउटर तथा केवल जडानसहितको विशेष राहत सुविधा घोषणा गरेको छ।

गत भदौ १० गतेको बाढीबाट अति प्रभावित क्षेत्रमा दूरसञ्चार पहुँच सहज बनाउन कम्पनीले यस्तो निर्णय गरेको हो।

टेलिकमका अनुसार रसुवा, धादिङ, गोरखा, चितवन, नुवाकोट र तनहुँका प्रभावित क्षेत्रका साथै गल्छी-स्याफ्रुबेँसी र मुग्लिन-नारायणगढ सडक खण्ड आसपासका सेवाग्राहीले यो सुविधा पाउनेछन्।

बाढीका कारण बिग्रिएका एनटी फाइबर केवल र राउटर निःशुल्क साटेर जडान गरिदिने व्यवस्था मिलाइएको छ। यस्तै, फाइबर सेवाको म्याद सकिएका ग्राहकलाई थप तीन महिनासम्म निःशुल्क सेवा उपलब्ध गराइने टेलिकमले जनाएको छ।

बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सिमकार्डसमेत पुनः वितरण गरिनेछ। यसका लागि ग्राहकले पाँचवटा सम्पर्क नम्बर उपलब्ध गराउनुपर्ने, सक्रिय रहेको अन्तिम स्थान प्रभावित क्षेत्र हुनुपर्ने र केवाइसी अद्यावधिक गर्नुपर्नेछ।

विभिन्न स्थानमा फसेका नागरिकसँग सम्पर्क स्थापित गर्न नेपाली सेनाको समन्वयमा २१० थान निःशुल्क सिमकार्ड वितरण गरिएको छ।

विपद् व्यवस्थापन र उद्धारलाई प्रभावकारी बनाउन टेलिकमले प्राविधिक सहयोग पनि विस्तार गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मुख्य सर्भर र ब्याकअप सर्भर जोड्न डार्क फाइबर मार्फत निःशुल्क सम्पर्क स्थापना गरिएको छ।

साथै, क्षतिको विवरण र फिल्ड रिपोर्ट सङ्कलनका लागि प्राधिकरणलाई एक वर्षसम्म उच्च गतिको निःशुल्क इन्टरनेट उपलब्ध गराइएको छ।

प्रकाशित: ५ आश्विन २०८३ १६:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App