९ चैत्र २०८२ सोमबार
image/svg+xml
अर्थ

दाउन्ने सडक खण्डमा कालोपत्र कहिले सकिन्छ?

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डमा पर्ने दाउन्ने क्षेत्र शुक्रबारदेखि अस्तव्यस्त छ। त्यस क्षेत्रमा सहज रूपमा गाडी चल्न सकेका छैनन्। सवारी सञ्चालन सहज नहुँदा यात्रा कष्टकर बनेको छ।

गत शुक्रबार भएको वर्षाले दाउन्नेमा बाटो हिलाम्मे हुदाँ गाडी चिप्लिएका छन् र बाटो निकै कष्टकर बनेको छ। त्यस क्षेत्रमा गुड्ने साना सवारी साधनले समेत राम्रोसँग आवातजावत गर्न सकेका छैनन्, यसले गर्दा लामो जाम भएको छ। यसबाट यात्रुहरूले ठूलो सास्ती भोगिरहेका छन् । लामो समयदेखि जामका कारण सयौं यात्रु अलपत्र परेका छन्।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने भएर यात्रा गर्ने यात्रुहरूका लागि यो नयाँ विषय भने होइन।  २०७६ सालदेखि दाउन्नेबाट यात्रा गर्नेहरूका लाािग सामान्य विषय भएको छ। दाउन्नेमा सहज यात्रा भयो भने आश्चर्य मान्नुपर्छ। त्यस क्षेत्रमा सधैंजसो जाम हुने गर्छ। वर्षा याम मात्र होइन र हिउँदमा पनि तुषारोले बाटो हिलाम्मे हुन्छ। बाटो वरिपरि काम गर्न लागेको देखिन्छ तर काम कहिले सकिँदैन। सधै खाल्डाखुल्डी, धुलो र हिलाम्मे मात्र हुन्छ। यतिबेला दाउन्नेस्थित खुर्सानी खोलालगायत विभिन्न ठाउँमा  सडकमा सवारीसाधन चिप्लिने र उकालोमा गुड्न नसक्ने समस्या देखिएको छ। सोही कारण यस  खण्ड अस्तव्यस्त बनेको छ।

दाउन्नेमा यस्तो सास्ती छल्न यात्रुहरूले कहिलेकाहीँ कालीगण्डकी कोरिडोर प्रयोग गर्दा एक सय ७० किमि दूरी फरक पर्ने गरेको छ।  कालीगण्डकी कोरिडोर प्रयोग गरेमा चितवनको गैंडाकोटबाट कालीगण्ड नदीको किनारैकिनार हुँदै पाल्पाबाट बुटवल जान सकिन्छ।

भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव तथा  एडिबी निर्देशनालयका प्रमुख चुडा ढकालका अनुसार आगामी वैशाखसम्म दाउन्ने क्षेत्रमा पूर्ण रूपमा ढलानको काम सकिने बताए। यसअघि सडक विभागले गत माघसम्म दाउन्ने क्षेत्रमा पिचको सबै काम सकिने दाबी गरेको थियो।

सडक निर्माण र मर्मतको काममा म्याद थप हुनु सामान्य नै भएको छ। प्रायः सबै  सडक निर्माण र स्तरोन्नतिको काम तोकिएको समयमा काम पूरा भएका छैनन्। दाउन्ने क्षेत्रमा काम पूरा गर्न सडक विभागका कर्मचारीहरूले समय सार्ने गरिरहेका छन्। अब वैशाख  मसान्तसम्म  समय सारिएको छ।

ढकालका अनुसार पहिले गरिएको डिजाइनमा केही परिवर्तन भएपछि दुई/तीन महिना समय थप गरिएको हो। ‘पहिले दाउन्नेमा केही क्षेत्रमा पिच गर्ने र केही क्षेत्रमा ढलान गर्ने गरी डिजाइन गरिएको थियो। अहिले सबै क्षेत्रमा ढलान गर्ने गरी डिजाइन परिवतर्न भएको छ। सोही कारण काममा केही ढिलाइ भएको हो’, ढकालले भने, ‘पिचभन्दा ढलान बढी टिकाउ र प्रभावकारी देखिएको छ। ढलान गरेपछि  पाँच/छ वर्षसम्म टिक्ने देखिएको छ।’

ढकालका अनुसार दाउन्ने क्षेत्रमा करिब ११ किलोमिटर क्षेत्रमा ठेकेदार कम्पनीले ढलान गर्न लागेको हो। ‘दाउन्नेमा ढलानको काम हालसम्म करिब ६० प्रतिशत सकिएको छ र समग्र काम ८० प्रतिशत सकिएको छ’, ढकालले भने।

उनका अनुसार बुटवलदेखि नारायणघाट सडकको समग्र काम पनि ८० प्रतिशतको हाराहारी सकिएको छ। आगामी डिसेम्बर महिनासम्म बुटवल–नारायणघाट खण्डको काम पूरा हुने उनको भनाइ छ।

नारायणघाट–बुटवल सडकको पूर्वीखण्डले चार किमि र बाँकी १० किमि पश्चिम खण्डले हेर्ने गरेको छ। बुटवल–नारायणघाट खण्ड जम्मा एक सय १३ किलोमिटर छ। यो खण्डलाई दुई भागमा वर्गीकरण गरी स्तरोन्नतिको काम थालिएको हो।

पूर्वीखण्ड ६४.४२५ र पश्चिम खण्ड ४८.५३५ किलोमिटरको छ। पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणघाट खण्ड स्तरोन्नति गर्न चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङसँग सम्झौता भएको सात वर्ष बितिसक्दा पनि काम सकिएको छैन। यो आयोजना पूरा गर्न सरकारले गत साउनमा चौथोपटक म्याद थप गरेको छ।

अब एक वर्षभित्र पूर्णरूपमा स्तरोन्नति कार्य पूरा हुने गरी गत साउनमा म्याद थप गरिएको सडक विभागका कर्मचारीको भनाइ छ। विभागका अनुसार पश्चिम खण्डको अन्तिम म्याद २०८३ साउन ५ गते र पूर्वी खण्डको अन्तिम म्याद साउन ७ सम्म दिइएको छ। १७ अर्ब दुई करोड रुपैयाँमा यो खण्डको स्तरोन्नतिका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङसँग पहिलो पटक २०१८ डिसेम्बर १९ मा सम्झौता भएको थियो।

प्रकाशित: ८ चैत्र २०८२ ०८:०९ आइतबार