पाँचखाल नगरपालिकाले साप्ताहिक कृषि हाटबजार सुरु गरेको छ । शुक्रबारदेखि हरेक शुक्रबार र शनिबार दुई दिन हाटबजार सञ्चालनमा ल्याइएको हाे।
पाँचखाल नगरपालिकाको आयोजना, स्थानीय कृषि बजार सञ्चालक, व्यवस्थापन समिति पाँचखालको सहआयोजना तथा पाँचखाल–४ नं वडा कार्यालयको समन्वयमा हाटबजार सञ्चालनमा ल्याइएको हो। पाँचखाल–४ का वडाध्यक्ष सुन्दर लामाले कृषि उपज सङ्कलन तथा पाँचखाल चोकस्थित बोहोरेदोभान जाने बाटोमा बजार सञ्चालनमा ल्याइएको बताए। उनका अनुसार कृषि हाटबजारमा किसानले आफ्ना उत्पादनहरू सोझै उपभोक्तालाई बेच्न सक्नेछन्।
पाँचखालमा हाटबजार सञ्चालनपछि बिचौलियाको समस्या टर्दै जाने तथा किसानको भाउअनुसार उपभोक्ताले पनि सस्तोमा तरकारीलगायत कृषिजन्य उत्पादन खरिद गर्न पाउने जनाइएको छ। पाँचखालमा सञ्चालमा ल्याइएको हाटबजारमा भने शुक्रबार बिहानदेखि शनिबार साँझसम्म दुई दिन चल्ने जनाइएको छ।
पाँचखालमा शुक्रबार पहिलो र दोस्रो दिनमै किसान र उपभोक्ताको उत्साहजनक सहभागिता देखिएको छ। हाजबजारमा विशेषगरी अर्गानिक तरकारीको प्रदर्शनी तथा बिक्रीवितरण भइरहेको छ। हाटबजारमा अग्र्यानिक तरकारीको प्रदर्शनी तथा बिक्रीवितरण नियमित गराइने लामाले बताए।
यसअघि गत वैशख अन्तिम साता पाँचखाल नगरले ‘कृषि–सहर’को नारालाई सार्थकता दिन कृषि उपजको प्रवर्द्धन गर्ने उद्देश्यले दुईदिने कृषि मेलाको आयोजना गरेको थियो। नगर कार्यालयले लवग्रीन नेपालसँगको सहकार्यमा आयोजना गरेको मेलामा करिब २० हजारले अवलोकन गरेका थिए।
उक्त मेलामा आइपीएम प्रविधिबाट उत्पादन भएका कृषि उपजको प्रदर्शनी तथा बिक्री, बाली शिविर सञ्चालन, कृषि उपजको प्रतिस्पर्धात्मक कार्यक्रमसेमत सञ्चालन गरिएको थियो।
पाँचखालका नगरप्रमुख महेश खरेलले ‘पाँचखाल नगर कृषि सहर’ भएकाले यहाँको तरकारीमा न्यून विषादीमा रहेको तर्क गरेका छन्। “पाँचखालको तरकारीमा अत्यधिक विषादी भएको भनेर हल्ला चलाइए पनि केही वर्षदेखि पाँचखालको तरकारी सेमी आग्र्यानिक भएको छ, विषादीको भ्रम चिर्न हामीले अग्र्यानिकमा जोडबल गरिरहेका छौँ”, खरेलले भने।
उनका अनुसार किसानको मागलाई सम्बोधन गर्न नगरले स्थानीय उत्पादनको बजारीकरणमा टेवा पुर्याउने बताउँदै किसानलाई प्रोत्साहन गर्न ‘दुईदिने साप्ताहिक कृषि हाटबजार’ सञ्चालनमा ल्याइएको बताए।
यसअघि जिल्लाको बनेपा नगरले दुई वर्षदेखि बनेपास्थित लायकु मञ्चमा तथा जिल्लाकै मण्डनदेउपुर नगरको पर्यटकीयस्थल नगरकोटमा शुक्रबार अर्गानिक कृषिजन्य हाटबजार सञ्चालन गर्दै आएका छन्।
प्रकाशित: १० जेष्ठ २०८३ ०६:१५ आइतबार





