राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन थालेका छन्। जलस्रोत तथा सिँचाइ विभागको पछिल्लो भदौ मसान्तसम्मको तथ्यांकअनुसार सिक्टा सिँचाइ आयोजना बाँकेले थप १०० हेक्टर र बबई सिँचाइ आयोजना बर्दियाले थप ५० हेक्टर जमिनमा सतह सिँचाइ सुविधा पुर्याएको हो।
सिक्टा आयोजनाले रु. ५४ करोड ३ लाख लागत अनुमानका ४ वटा बोलपत्र आह्वान गरिसकेको छ। पुस मसान्तसम्म रु. २ अर्ब ४८ करोड ३० लाख बराबरका १७ वटा बोलपत्र आह्वान गर्ने र ३०० हेक्टरमा सिँचाइ पुर्याउने लक्ष्य आयोजनाले राखेको छ। बबई आयोजनाले पनि पुस मसान्तसम्म ३०० हेक्टरमा सिँचाइ पुर्याउने लक्ष्य लिएको विभागका सूचना अधिकारी रामप्रसाद पौडेलले बताए।
रानी जमराको भौतिक प्रगति १५ प्रतिशत
विभागका अनुसार रानी जमरा कुलरिया सिँचाइ आयोजना, टिकापुर (कैलाली) ले रु. १ अर्ब ३३ करोड ३५ लाख लागत अनुमानका ६ वटा बोलपत्र आह्वान गरेको छ। आयोजनाको भौतिक प्रगति साउनमा ८ प्रतिशत रहेकोमा भदौ मसान्तसम्म १५ प्रतिशत पुगेको छ। वित्तीय प्रगति पनि सोही अवधिमा ५.२५ प्रतिशतबाट बढेर ११.४३ प्रतिशत पुगेको छ। आयोजनाले पुस मसान्तसम्म रु. २ अर्ब ३० करोड बराबरका १२ वटा बोलपत्र आह्वान गर्ने, १.५ किलोमिटर तटबन्ध बनाउने र १६० हेक्टर जग्गा उकास गर्ने लक्ष्य राखेको छ।
भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले भदौ मसान्तसम्म ३.४ प्रतिशत भौतिक र ३.४९ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ। आयोजनाले पुस मसान्तसम्म रु. ६१ करोड बराबरका ४ वटा बोलपत्र आह्वान गर्ने योजना बनाएको छ। सुनकोशी मरिन डाइभर्सन आयोजनामा भने पुस मसान्तसम्म ९७ हेक्टरमा लिफ्ट सिँचाइ र ६.१८ किलोमिटर तटबन्धको लक्ष्य राखिएको छ।
प्रकाशित: १५ कार्तिक २०८३ ०९:०० आइतबार



-600x400.jpg)

