३ आश्विन २०८३ शनिबार
image/svg+xml
अर्थ

छ दशकपछि बर्कशायरको अध्यक्षबाट वारेन बफेट अलग, कुकले यसरी सम्झिए

अमेरिकी अर्बपति तथा चर्चित लगानीकर्ता वारेन बफेटले बर्कशायर हाथवेको अध्यक्ष पदबाट अलग भएका छन्। ९६ वर्षीय बफेट अब कम्पनीको ‘चेयरम्यान एमेरिटस’को भूमिकामा रहनेछन्।

बर्कशायर हाथवेले शुक्रबार बफेट अध्यक्ष पदबाट अलग भएको जानकारी दिएको हो। उनका छोरा हावर्ड बफेट कम्पनीको नयाँ अध्यक्ष बनेका छन्। हावर्ड सन् १९९३ देखि बर्कशायरको बोर्डमा छन्। उनको नियुक्ति कम्पनीमा लामो समयदेखि तयार गरिएको उत्तराधिकार योजनाअन्तर्गत भएको हो।

बफेटले बर्कशायरको सिइओ पद भने यसअघि नै ग्रेग एबेललाई हस्तान्तरण गरिसकेका थिए। एबेलले करिब नौ महिनाअघिदेखि कम्पनीको सिइओको जिम्मेवारी सम्हालिरहेका छन्। अब हावर्डले अध्यक्षका रूपमा कम्पनीको व्यवस्थापनभन्दा यसको संस्कृति र मूल्यलाई निरन्तरता दिने जिम्मेवारी सम्हाल्नेछन्।

वारेनको अध्यक्ष पदबाट अलग हुने निर्णयपछि एप्पलका पूर्वसिइओ एवं सञ्चालक समिति अध्यक्ष टिम कुकले पनि धन्यवाद दिएका छन्। कुकले सामाजिक सञ्जाल एक्समा बफेटले अरूले विश्वास गर्नुअघि नै एप्पलमा विश्वास गरेको उल्लेख गर्दै उनको योगदानको प्रशंसा गरेका हुन्।

कुकले लेखेका छन्, ‘आज वारेन बर्कशायर हाथवेको अध्यक्ष पदबाट अलग हुँदै गर्दा म उनको दीर्घकालीन प्रभावबारे सोचिरहेको छु। वारेनले अरू कसैले विश्वास गर्नुअघि नै एप्पलमा विश्वास गरेका थिए र हामी त्यसलाई कहिल्यै बिर्सने छैनौँ। वारेन, धन्यवाद। हावर्डलाई बधाई, उनी उत्कृष्ट अध्यक्ष बन्नेछन्।’

बफेटले सन् १९६५ मा बर्कशायरको नेतृत्व सम्हालेका थिए। त्यतिबेला संघर्षरत कपडा कम्पनीका रूपमा रहेको बर्कशायरलाई उनले बिमा, रेल, ऊर्जा, औद्योगिक तथा उपभोक्ता व्यवसायसहितको करिब १.१ ट्रिलियन डलरको ठुलो व्यावसायिक समूहमा विस्तार गरेका हुन्।

दीर्घकालीन लगानी, धैर्य र अनुशासित पुँजी व्यवस्थापनमा आधारित बफेटको लगानी शैलीले विश्वभरका लगानीकर्ता र व्यवसायीलाई प्रभावित गरेको छ। उनलाई उनी बसोबास गर्ने अमेरिकी सहर ओमाहाको नामबाट ‘ओमाहाको ओरेकल’ भनेर चिनिन्छ।

वारेन अध्यक्ष पदबाट अलग भए पनि बर्कशायरसँग उनको सम्बन्ध पूर्ण रूपमा समाप्त हुने छैन। कम्पनीका अनुसार उनी निर्देशक बोर्डको सदस्यका रूपमा रहनेछन् र आफ्नो अनुभव तथा सुझाव दिइरहनेछन्।

बर्कशायरका सिइओ एबेलले बफेटले निर्माण गरेको कम्पनीको संस्कृति र मूल्यलाई निरन्तरता दिने बताएका छन्। उनका अनुसार हावर्डको मुख्य जिम्मेवारी कम्पनीको यही संस्कृति र मूल्यको संरक्षण गर्नु हुनेछ।

बफेटले सन् २०२५ मा बर्कशायरको नेतृत्वबाट क्रमशः अलग हुने योजना सार्वजनिक गरेका थिए। त्यसपछि ग्रेग एबेललाई सीईओको जिम्मेवारी दिइएको थियो। अहिले हावर्ड बफेट अध्यक्ष बनेसँगै कम्पनीको नेतृत्व हस्तान्तरणको अर्को महत्त्वपूर्ण चरण पूरा भएको छ।

बर्कशायरले विभिन्न क्षेत्रमा ठुलो व्यवसाय सञ्चालन गर्दै आएको छ। कम्पनीअन्तर्गत गेको कार बिमा, बीएनएसएफ रेलमार्ग, ऊर्जा तथा औद्योगिक कम्पनी, डेरी क्विनलगायतका व्यवसाय छन्। यसबाहेक कम्पनीसँग अमेरिकी तथा अन्य ठुला कम्पनीका शेयर र ठुलो मात्रामा अमेरिकी ट्रेजरी पनि छन्।

बफेटले बर्कशायरको नेतृत्व गरेको छ दशकभन्दा बढी समयलाई कम्पनीको इतिहासमा महत्त्वपूर्ण अवधि मानिन्छ। 

उनको नेतृत्वमा बर्कशायरको आकार र व्यवसाय विस्तार मात्र भएन, कम्पनीको वार्षिक शेयरधारक बैठकसमेत विश्वभरका लगानीकर्ताका लागि चासोको विषय बन्दै आएको थियो। एजेन्सीको सहयोगमा

प्रकाशित: ३ आश्विन २०८३ ०७:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App