२५ पुस २०८२ शुक्रबार
image/svg+xml
अर्थ

‘तरकारी फलाए रुपैयाँ फल्छ’

जुम्लाको पातारासी गाउँपालिका-७ रिनी गाउँकी ४४ वर्षीया रिमा खड्काकाे दिनहुँ दुई घण्टा हिंडेर आफ्नै बारीमा फलेको तरकारी लिएर जुम्ला बजारमा बेच्नमै व्यस्त हुन्छ। दिनहुँ साँझपख बारीमा फलेको तरकारी टिपेर तयारी अवस्थामा राख्ने र भोलिपल्ट बिहानै ती तरकारीलाई डोकोमा बोकेर बजारसम्म पुर्‍याएर बिक्री गर्ने उनको दिनचर्या नै बनेको छ।

उनले आलु,गाजर,काउली, बन्दा, धनिँया, मुला, टमाटर र प्याज खेती गरेकी छन्। दैनिक कति तरकारी बिक्री हुन्छ यसको कुनै हिसाब नै छैन उनीसँग। ‘आफ्ने बारीमा फलाएको तरकारीको के हिसाब राख्नु र? बारीबाट टिप्यो, डोकोमा हाल्यो, भोलिपल्ट बिहानै बजार ल्यायो, बेच्यो, सिद्धियो’, खड्काले भनिन्, ‘अन्तबाट खरिद गरेर बेच्ने भए पो यति किलो खरिद गरें भन्ने हिसाब हुन्छ। यी सबै आफ्नै बारीमा फलाइएका हुन्।’

रिमाले ७ वर्षदेखि यस्तै गरी डोकोमा बोकेर तरकारी बेच्दै आएकी छन्। जुम्ला बजारमा उनीलाई ‘तरकारी दिदी’ भनेर चिन्ने र बोलाउने गरेकाे अनुभव सुनाइन्। प्रायः दिनहुँ बिहान जुम्लाको सदरमुकाम खलंगा बजारका पसलपसल बजारका गल्लीगल्ली, ठुल्ठुला हाेटल रेस्टुरेन्टमा तरकारी पुर्‍याउने खड्काले दैनिक एक डोकाे तरकारी बेचेर दुईदेखि तीन हजार पाँच सयसम्म कमाउने गरेको बताइन्।

हरेक वर्ष असार, साउन र भदौको तेस्रो सातासम्म बर्खे तरकारी बेचेर तीन लाख बढी कमाइ भइरहेको सुनाउँछिन्। तरकारी बेचेर घरमै नियमित खाइरहेका छाैं। तरकारी भान्सामा कहिल्यै नछुट्ने खड्काले बताइन्। ‘दैनिक कम्तीमा दुई हजार आम्दानी हुन्छ। तरकारी  बेचेर आजका दिनसम्म एक लाख १५ हजार कमाएकी छु’, उनले भनिन्।

तरकारीबाट कमाएको पैसाले उनले बालबालिकालाई पढ्ने, स्कुल पोशाक, कापीकलम र नयाँ लुगाफाटो, घरखर्च, नुनतेल, चामलमा चलिरहेको छ। उनी जस्तै अरू महिलाहरू पनि गाउँमा तरकारी खेती गर्छन्। पातारासी गाउँपालिका तरकारी हिसाबले जिल्लाकै अब्बल मानिन्छ।

रिमाझैं आफ्नै बारीमा फलेको तरकारी बेचेर चार वर्षदेखि घर खर्च चलाउँदै आएकी छन्। उक्त गाउँपालिका घोडेसिन गाउँकी छिता कठायतले पनि। ४९ वर्षिया कठायतको दैनिक ८ सयदेखि एकएक हजारसम्म आम्दानी गर्छन्।

´´तरकारी खेती परिवारको दरिलो आम्दानीको स्रोत बनेको छ, दैनिक बिक्री हुँदा हातमा पैसा परिरहन्छ”, उनले भनिन्, “घरको काम गर्दै हेरचाह गरे भयो, धेरै झन्झट गर्नु पर्दैन।” 

घरमा आफैँले उत्पादन गरेको तरकारी टिपेर बेच्न पाउँदा धेरै आनन्दको अनुभूति हुने गरेको अनुभव सुनाइन्। उनी भन्छिन्, “महिलालाई आफूले कमाउने कुनै उपाय नभएको अवस्थामा अरूको भरमा बाँच्नुपर्दा जीवन अन्धकार जस्तो हुँदोरहेछ, श्रीमानसँग हुँदा त पैसा पाइन्थ्यो, नहुँदा यत्तिकै मन बुझाउनुपर्ने अवस्था थियो। अहिले तरकारी फलेपछि पैसा परिहाल्यो, आफ्नो खर्च अरूको निर्भर रहनु परेन।”

आफ्नो उत्पादन गरेको वस्तु उपभोक्तामा पुर्‍याउँँदा व्यवसायमा उत्साह थपिँदै गएको उनले बताइन्। तरकारी बिक्रीबाट वार्षिक रूपमा खर्च कटाएर करिब एक लाख आम्दानी गर्छिन्। उनले बर्सेनि चार रोपनी जति जग्गामा तरकारी लगाउने गर्छिन्। “पहिला किनेर साँझबिहान तरकारीको जोहो हुन्थ्यो। अहिले आफैँले उत्पादन गरेको ताजा तरकारी खान पाइएको छ, धेरै उत्पादन हुँदा बजारमा बेच्यो कि हातमा पैसा परिहाल्ने, तरकारी लगाएर सामान्य खर्च गुज्रेकै छ”, उनले भनिन्।

खड्का र कठायत जस्तै धेरै महिला तरकारी खेतीबाट आत्मनिर्भर बन्दै गएका छन्। उनीहरूले भनिन्। हामी तरकारी बेचेर घर फर्किहाल्छौं। घाम, पानी, चिसो, गर्मी केही नभनेर तरकारी बेच्न आउने गरेका छौं।’

उक्त गाउँका महिलाले न्यूनतम ५० हजारदेखि ३ लाख बढी रुपैयाँ वार्षिक आम्दानी गर्ने गर्छन्। महिलाहरूले आलु ५० रूपैयाँ प्रतिकेजी बन्दाकाउली, फुलकाउली, प्रतिकेजी ६० रुपैयाँ, मुला प्रतिकेजी ५५ टमाटर र प्याज प्रतिकेजी ८० रुपैयाँमा बेच्छन्। छिमेकीले गरेको देखेर आफूले पनि सकिँदो रहेछ भनेर तरकारी खेती सुरु गरेको अर्की मायादेवी खड्काले बताइन्।

बारीमा फलेको तरकारीलाई बजारसम्म ल्याएर बेच्न सुरुसुरुमा लाज लागेको भन्दै उनले अहिले त उमेरले साथ दिएसम्म यही व्यापार गर्ने बताइन्।

‘बजारका हाेटल, रेस्टुरेन्ट र पसलमा डुलाएर बेच्न मलाई पहिला त लाज लागेको थियो। अहिले आफ्नो पेसाव्यापार हो भन्ने बुझेको छु। अब सकुञ्जेल यही काम गर्ने हो’, मायादेवीले भनिन्।उनकाे अनुसार जुम्लाकाे सदरमुकाम खलंगा बजारमा प्रत्येक बिहान अर्गानिक तरकारी किन्ने ग्राहकको भीड देख्न सकिन्छ। प्रायः ‘मर्निङ वाक’ गर्ने स्वास्थ्यकर्मी, कर्मचारी र स्थानीयले तरकारी किनेर लैजान्छन्।

प्रकाशित: २८ असार २०८२ ११:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App