२६ भाद्र २०८३ शुक्रबार
image/svg+xml
अर्थ

यूटीएलको दूरसञ्चार लाइसेन्स खारेज, सम्पत्ति लिलामीको तयारी

लामो समयदेखि दूरसञ्चार सेवा सञ्चालन नगरेको युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) को अनुमतिपत्र खारेज भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड बैठकले कम्पनीको आधारभूत दूरसञ्चार सेवाको लाइसेन्स रद्द गर्ने निर्णय गरेको हो।

प्राधिकरणका अनुसार यूटीएल अहिले सेवा सञ्चालनको अवस्थामा नरहेको र कम्पनीसँग सक्रिय ग्राहकसमेत नभएको देखिएपछि अनुमतिपत्र खारेज गर्ने निर्णय गरिएको हो। निर्णयसँगै कम्पनीको चल तथा अचल सम्पत्ति रोक्का राखेर सरकारी बाँकीसरह रकम असुल गर्ने प्रक्रिया अघि बढाइने भएको छ।

यूटीएलको लाइसेन्सको अवधि समाप्त हुनुअघि कम्पनीले नवीकरणका लागि निवेदन दिएपछि प्राधिकरणभित्र यस विषयमा लामो समयदेखि छलफल हुँदै आएको थियो। कम्पनीले गत जेठ १९ गते लाइसेन्स नवीकरणका लागि प्राधिकरणमा निवेदन दर्ता गराएको थियो।

कम्पनीमाथि ठूलो परिमाणमा बक्यौता तथा अन्य वित्तीय दायित्व रहेको अवस्थामा विगतको हिसाब–किताब टुंगो नलगाई लाइसेन्स नवीकरण गर्न खोजिएको विषय विवादमा परेको थियो। यूटीएलमाथि करिब ३० अर्ब रुपैयाँ बराबरको बक्यौता तथा अन्य दायित्व रहेको बताइएको छ।

प्राधिकरणले कम्पनीको सेवा अवस्था, बक्यौता र विगतमा लाइसेन्स होल्ड गरिएको अवस्थासमेतलाई आधार बनाएर पछिल्लो निर्णय गरेको जनाएको छ।

यूटीएलको आधारभूत दूरसञ्चार सेवाको अनुमतिपत्र भदौ १९ गते समाप्त भएको थियो। लाइसेन्सको म्याद सकिनुअघि नै त्यसको खारेजी वा नवीकरणबारे नियामक निकायमा बहस चलिरहेको थियो।

अब कम्पनीको बाँकी दायित्व असुल गर्न चल–अचल सम्पत्ति रोक्का तथा लिलामीको प्रक्रिया अघि बढ्ने भएको छ। यससँगै लामो समयदेखि निष्क्रिय अवस्थामा रहेको यूटीएलको दूरसञ्चार व्यवसाय औपचारिक रूपमा अन्त्य हुने बाटो खुलेको छ।

प्रकाशित: २६ भाद्र २०८३ १८:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App