नेपालमा हालै आएको बाढीबाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै युएसभी फर्मास्युटिकल्सले १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको जनाएको छ।
नेपाल चिकित्सक सङ्घले नेतृत्व गरेको राहत अभियान कोषमा उक्त रकम संकलन गरेको हो। फर्मास्युटिकल्सले बिहीबार औपचारिक रूपमा उक्त रकम प्रदान गरेको हो।
उक्त रकम युएसभी फार्माको सहयोगबाट नेपालका विभिन्न बाढी प्रभावित क्षेत्रमा रहेका करिब ३०० घरधुरीका १५०० व्यक्ति प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा फर्मास्युटिकल्सले अपेक्षा लिएको छ।
गत भदौ १० गते आएको भोटेकोशी बाढीको कारण रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लाहरूमा धेरैको जनधनको क्षति हुनुको साथै आवश्यक लत्ताकपडा, दैनिक आवश्यक पर्ने सामाग्री गुमाएर अस्थायी आश्रयमा बस्न बाध्य छन्।
यसको साथै खानेपानी, विद्युत र स्वास्थ्य सेवामा कठिनाइ उत्पन्न भएको छ। यो कठिन परिस्थितमा प्रभावितलाई तत्कालै सामाग्री उपलब्ध गराइ सामान्य जीवनतर्फ फर्काउनु राहतको उद्देश्य रहेको नेपाल चिकित्सक सङ्घले जनाएको छ।
नेपाल चिकित्सक सङ्घको नेतृत्वमा सञ्चालन भइरहेको राहत अभियानले प्रभावित क्षेत्रको स्थलगत आवश्यकता पहिचान गरी प्रभावितहरूलाई अस्थायी आवासको व्यवस्था तथा ओछ्यान, ब्ल्याङ्केट लगायत आधारभूत सामग्री उपलब्ध गराइनेछ।
त्यसैगरी विद्युत् सुविधा प्रभावित भएका क्षेत्रमा सौर्य बत्ती तथा मोबाइल फोन चार्ज गर्न आवश्यक सुविधा उपलब्ध गराउने योजना रहेको छ।
स्वच्छ खानेपानी तथा सरसफाइका सामग्री, अत्यावश्यक घरायसी सामग्री र औषधिलगायत स्वास्थ्य तथा दैनिक जीवनमा आवश्यक पर्ने सामग्रीसमेत प्रभावित परिवारलाई उपलब्ध गराइनेछ।
युएसभी फर्मास्युटिकल्सले स्वास्थ्य क्षेत्रमा कार्यरत जिम्मेवार संस्थाका रूपमा मानिसको स्वास्थ्य र जीवनस्तर सुधारमा योगदान पुर्याउनु आफ्नो प्रमुख दायित्व वहन गर्दै उक्त सहयोग गरेको हो।
स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यसँगै प्राकृतिक विपत्ति तथा मानवीय संकटका समयमा प्रभावित समुदायको साथमा उभिनु पनि आफ्नो सामाजिक उत्तरदायित्वको महत्त्वपूर्ण हिस्सा भएको कम्पनीले जनाएको छ।
‘विपद्को घडीमा हाम्रो जिम्मेवारी स्वास्थ्य सेवा प्रवाहमा मात्र सीमित रहँदैन, प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउँदै उहाँहरूलाई कठिन परिस्थितिबाट बाहिर निस्केर पुनर्स्थापना गर्नु पनि हाम्रो दायित्व हो’ सङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
कम्पनीले बाढीका कारण आफ्नो घर तथा आधारभूत आवश्यकता गुमाएका परिवारलाई राहत उपलब्ध गराउन नेपाल चिकित्सक सङ्घले सञ्चालन गरेको अभियान प्रभावकारी माध्यम हुने विश्वास व्यक्त गरेको छ।
चिकित्सक तथा स्वास्थ्यकर्मीको नेतृत्वमा सञ्चालन हुने अभियानले वास्तविक रूपमा प्रभावित परिवारको आवश्यकता पहिचान गरी सहयोगलाई सही ठाउँमा पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ।
युएसभी फर्मास्युटिकल्सले बाढीबाट प्रभावित सबै परिवारप्रति ऐक्यबद्धता व्यक्त गर्दै कठिन परिस्थितिमा उनीहरूको साथमा रहेको जनाएको छ।
प्रभावित समुदायको पुनर्लाभ र पुनर्निर्माणका लागि सम्बन्धित निकाय तथा संस्थाहरूले गरिरहेको प्रयासमा आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रकाशित: २५ भाद्र २०८३ १७:१० बिहीबार





