उद्योगी व्यवसायीहरूले सरकारलाई तत्काल व्यवसायमैत्री नीति अवलम्बन गरी लगानी र उत्पादन प्रवर्द्धनका लागि ठोस कदम चाल्न आग्रह गरेका छन्।
उद्योग वाणिज्य संघ इटहरीको २६औँ र २७औँ वार्षिक साधारणसभाका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनीहरूले यस्तो माग राखेका हुन्।
आर्थिक मन्दी, कर प्रणालीका जटिलता, बैंकको उच्च ब्याजदर र घट्दो व्यापारका कारण निजी क्षेत्र ठूलो मारमा परेको व्यवसायीहरूको भनाइ छ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले मुलुकको आर्थिक समृद्धिको आधार उद्यमशीलता र निजी क्षेत्र भएकाले समस्या समाधानका लागि सरकार र निजी क्षेत्रबीच बलियो सहकार्य हुनुपर्नेमा जोड दिए।
प्रदेश प्रमुख खापुङले स्वदेशी उत्पादनको प्रवर्द्धन र उत्पादनमुखी अर्थतन्त्र निर्माणमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताए। उनले भने, ‘स्वदेशी उत्पादनको प्रवर्द्धन, उद्योग विस्तार, रोजगारी सिर्जना तथा उत्पादनमुखी अर्थतन्त्र निर्माणमा व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण हुन्छ।’
कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले आफ्नो तीन वर्षे कार्यकालमा संघले गरेका गतिविधि र व्यवसायीका समस्या समाधानका लागि गरिएका पहलहरूबारे जानकारी दिए। संघको नयाँ नेतृत्वका लागि आगामी असार २७ गते निर्वाचन हुँदैछ।
संघका उद्योग उपाध्यक्ष विष्णुनारायण डाँगीको संयोजनमा सम्पन्न कार्यक्रममा पूर्व भूमिसुधार मन्त्री रामकुमार सुब्बा, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख राजन पाण्डे र आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत डिल्लीराम पौडेलले व्यावसायिक चुनौतीबारे धारणा राखेका थिए।
सो अवसरमा स्थानीय अर्थतन्त्रमा योगदान पुर्याएका व्यवसायीहरू उमेश पौडेल, मनोज चौधरी, पूर्णकाजी श्रेष्ठ, विमल कुमार राठी र तुलसा कालाखेतीलाई सम्मान गरिएको थियो।
प्रकाशित: १८ असार २०८३ १९:३२ बिहीबार





