आन्तरिक राजस्व कार्यालय तुलसीपुरले गत आर्थिक वर्ष २०८२/८३ मा रु चार अर्ब ३० करोड ६१ लाख १९ हजार राजस्व सङ्कलन गरेको छ।
उक्त कार्यालयका अधिकृत उपेन्द्र पुनका अनुसार त्यस अवधिमा वार्षिक लक्ष्यको ८५.२१ प्रतिशतमात्र राजस्व सङ्कलन भएको छ।
कार्यालयले उक्त आवमा रु पाँच अर्ब पाँच करोड ३३ लाख ६१ हजार राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य थियो।
सङ्कलित राजस्वमध्ये आयकरतर्फ रु दुई अर्ब ३८ करोड ८१ लाख पाँच हजार, मूल्य अभिवृद्धितर्फ रु एक अर्ब १८ लाख ६६ हजार, अन्तःशुल्कतर्फ रु ७७ करोड २६ लाख ९८ हजार र अन्यतर्फ रु १४ करोड ३४ लाख ५१ हजार छ । उक्त कर सङ्कलन अघिल्लो आवको तुलनामा ८.९३ प्रतिशत बढी हो।
करिब एक लाख करदाता भएको उक्त कार्यालय मातहत दाङ, प्यूठान, रोल्पा, सल्यान, रुकुमपूर्व र रुकुमपश्चिम रहेका छन्।
जेनजी आन्दोलनका क्रममा कार्यालय भवन, सवारीसाधन, अन्य कागजता जलेर नष्ट भए पनि सेवा प्रवाह भने रोकिएको थिएन।
केही समय तुलसीपुर उद्योग वाणिज्य सङ्घको भवनबाट नागरिकको सेवामा जुटेको त्यस कार्यालयले केही समयदेखि त्रिसिद्देश्वर मन्दिरको धर्मशाला भाडामा लिई सेवा प्रवाह गरिरहेको छ।
करदाताको क्षमता अभिवृद्धि गर्नका लागि गत आवमा कार्यालयले विभिन्न १८ स्थानमा करसम्बधी सचेतना र प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको थियो।
गत आवमा त्यस कार्यालयबाट चार हजार २९५ जनाले व्यावसायिक स्थायी लेखा नम्बर, २८ हजार ३८० ले व्यक्तिगत स्थायी लेखा नम्बर र चार हजार ९२२ जनाले अन्तःशुल्क इजाजतपत्र नवीकरण तथा दर्ता गरेको कर अधिकृत पुनले जानकारी दिए।
प्रकाशित: ५ श्रावण २०८३ ११:२३ मंगलबार





