९ चैत्र २०८२ सोमबार
image/svg+xml
अर्थ

कृषिमा कार्यान्वयन क्षमता अभिवृद्धि गर्न सरोकारवालालाई तालिम

कृषिको नीति निर्माण, सुशासन र कार्यान्वयन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पोखरामा सरोकारवालाहरूका लागि तालिम सञ्चालन गरिएको छ।

गण्डकी प्रदेश सरकार, प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय र पाँच पालिकाहरू (हुप्सेकोट, सिरानचोक, म्याग्दे, जलजला र बडिगाड) को संयुक्त आयोजनामा वृत्तिमुखी उद्यमशीलता तथा रोजगार प्रवर्द्धन कार्यक्रम (JEP) र मुख्य मन्त्री सार्वजनिक सुशासन फैलोसिप (CMGPF) का सरोकारवालाहरूका लागि तालिम सञ्चालन गरिएको हो।

तालिममा प्रदेश तथा स्थानीय तहका सचिव, प्रमुख प्रशासनिक अधिकृत, योजना तथा उद्योग शाखा प्रमुखहरू सहित JEP कार्यान्वयनसँग प्रत्यक्ष जोडिएका अधिकारीहरूको सहभागिता रहेको जिप कार्यान्वयन निकायले जनाएको छ।

नेपाल सरकारका पूर्व मुख्य सचिव वैकुण्ठ अर्याल, पूर्व सचिवहरू कृष्ण ज्ञवाली, यमकुमारी खतिवडा, उदयराज सापकोटा, केबुल भण्डारी, पूर्व प्रशासन विज्ञ उत्पल मिश्र, दायित्व संस्थाका अध्यक्ष डा. पुकार मल्ल र दायित्व संस्थाका कार्यक्रम व्यवस्थापक सहितका विज्ञहरूले सहजीकरण गरेका थिए।

तालिममा सार्वजनिक नीति निर्माण, आर्थिक सुशासन, सार्वजनिक वित्त व्यवस्थापन, कानुनी सहजीकरण तथा बहुक्षेत्रीय साझेदारीजस्ता विषयमा क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो।

मुख्यमन्त्री सार्वजनिक सुशासन फैलोसिप (CMGPF) अन्तर्गत युवाहरूलाई प्रदेश सरकारका विभिन्न निकायमा तीन महिनाका लागि खटाइएको छ। यस कार्यक्रममार्फत सार्वजनिक नीति निर्माण र कार्यान्वयनमा युवा सहभागिता बढाउने लक्ष्य राखिएको छ।

कार्यक्रम सञ्चालनका लागि प्रदेश समन्वय समिति र स्थानीय सञ्चालन समिति गठन गरी कार्यान्वयनलाई व्यवस्थित बनाइएको छ। साथै, रुटिन प्रक्रिया (RRI) टोलीमार्फत कार्यक्रमको प्रभावकारिता बढाउने प्रयास गरिएको छ।

हालसम्म पाँच पालिकाबाट प्राप्त आवेदनमध्ये २०० उत्कृष्ट उद्यमी छनोट गरी क्षमता विकास तालिम प्रदान गरिएको छ। तीमध्ये १०० उत्कृष्ट उद्यमीलाई नवप्रवर्तनसम्बन्धी तालिम दिइएको छ भने उत्पादन वृद्धि गर्न प्रविधि खरिदमा अनुदानसमेत उपलब्ध गराइएको छ।

यसैगरी थप छनोट प्रक्रियामार्फत ५५ उद्यमीलाई अध्ययन भ्रमण, अन्तरक्रिया तथा नेतृत्व विकास तालिम प्रदान गरिएको छ भने १० उत्कृष्ट उद्यमीलाई करिब ५ लाख रुपैयाँ बराबरको प्रविधि सहयोग उपलब्ध गराउने तयारी गरिएको छ। छनोट भएका उद्यमीलाई वित्त, लगानी, बजार र सूचना पहुँच अभिवृद्धि गर्ने उद्देश्यले विशेष ‘एक्सेलेरेशन’ सहयोग पनि प्रदान गरिने बताइएको छ।

मुख्यमन्त्री सार्वजनिक सुशासन फैलोसिप अन्तर्गत युवा फेलोसिपमार्फत नीतिगत सुधार र दक्ष जनशक्ति परिचालनमा योगदान पुर्‍याउने लक्ष्य राखिएको छ। कार्यक्रमलाई थप प्रभावकारी बनाउन RRI टोली गठन गरिएको छ।

कार्यक्रमका अनुसार स्थानीय तहमा उद्यम विकास, रोजगार सृजना तथा सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

प्रकाशित: ९ चैत्र २०८२ २०:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App