चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या क्रमशः बढ्दै गएको छ।
दुर्लभ वन्यजन्तु पाटेबाघ, एकसिङ्गे गैँडा, घडियाल गोहीलगायतका जनावार हेर्ने मोह बढ्सँगै पर्यटकको सङ्ख्या पनि बढ्दै गएको हो।
पछिल्लो समय वैदेशिक रोजगारीमा रहेका नेपाली फर्कने र घुम्ने प्रचलन बढ्दै जानु, विदेशी पर्यटकको आकर्षण बढ्नुले पनि पर्यटकको सङ्ख्या बढेको हो।
गत वर्षको चार महिनाको तुलनामा यस वर्ष १६ हजार २१२ जना पर्यटक बढेका छन्। निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार चालु आर्थिक वर्षको साउनयता ८४ हजार ५४ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन्।
जसमध्ये नेपाली ४५ हजार ३६८, सार्क मुलुकका तीन हजार ७८७ जना र तेस्रो मुलुकका ३४ हजार ८९९ जना पर्यटकले निकुञ्ज र आसपासका मध्यवर्ती सामुदायिक वनको भ्रमण गरेका छन्।
गत आर्थिक वर्षको सोही समयमा निकुञ्ज भ्रमण गर्न आउने पर्यटकको सङ्ख्या ६७ हजार ८४२ जना रहेको थियो।
सो अवधिमा नेपाली ३९ हजार ७०४ जना, सार्क मुलुकका तीन हजार ३५२ जना र तेस्रो मुलुकका २४ हजार ७८६ जना रहेको तिवारीले बताए। गत आर्थिक वर्ष भरमा दुई लाख ७२ हजार ९२३ जनाले निकुञ्ज भ्रमण गरेका थिए।
निकुञ्जले यस आर्थिक वर्षको चार महिनामा रु १० करोड छ लाख चार हजार ३०६ राजस्व सङ्कलन गरेको छ। विभिन्न शीर्षकमा राजस्व सङ्कलन भएको हो।
जसमध्ये सबैभन्दा बढी पर्यापर्याटनबाट प्राप्त राजस्व रु नौ करोड ७३ लाख १६ हजार ५०० रहेको छ।
यस्तै काठ र दाउरा बिक्रीबापत रु २८ हजार ६५५, गैरकाष्ठ वन पैदावार बिक्रीबापत रु १८ लाख १३ हजार १८१, दण्ड सजायबाट प्राप्त राजस्व रु दुई लाख १३ हजार ३०० र अन्य शीर्षकबाट प्राप्त राजस्व (बेरुजुसमेत) को रु १२ लाख ३२ हजार ७०० सङ्कलन भएको उनले जानकारी दिए।
गत आर्थिक वर्षमा रु ३१ करोड एक लाख ६४ हजार ५५१ राजस्व जम्मा भएको थियो।
प्रकाशित: २ मंसिर २०८३ १९:०० बुधबार





