२१ कार्तिक २०८३ शनिबार
image/svg+xml
अर्थ

क्रिकेटसँगै विश्व बजारमा चम्किँदै पर्यटन

नेपाल प्रिमियर लिग (एनपिएल) को रौनक केवल क्रिकेट मैदानमा मात्र सीमित छैन, यसले विश्व क्रिकेटका हस्तीहरूमार्फत नेपालको पर्यटनलाई समेत अन्तर्राष्ट्रिय मञ्चमा ब्राण्डिङ गरिरहेको छ।

अस्ट्रेलियाका डेविड वार्नरदेखि दक्षिण अफ्रिकाका डेविड मिलरसम्मका विश्वचर्चित खेलाडीहरू यतिबेला नेपालको प्राकृतिक सौन्दर्य, हिमाल र मौलिक आतिथ्यमा मन्त्रमुग्ध बनेका छन्।

करोडौं फ्यान फलोइङ भएका यी स्टार खेलाडीहरूले सामाजिक सञ्जालमा सेयर गरेका नेपाल भ्रमणका तस्बिर र भिडियोले विश्वभरका पर्यटकको ध्यान नेपालतर्फ खिचेको छ।

एनपिएलमा काठमाडौं गोर्खाजबाट खेलिरहेका अस्ट्रेलियाका पूर्वकप्तान डेविड वार्नरले हालै हेलिकोप्टरमार्फत सगरमाथा आधार शिविर पुगेर प्रत्यक्ष दृश्यावलोकन गरे। आफ्नै आँखाले सगरमाथा देखेपछि भावुक बनेका उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्नो अनुभव साझा गरेका छन्।

‘शब्दमा वर्णन गर्नै नसकिने अनुभव रह्यो, आफ्नै आँखाले सगरमाथा देख्न पाउनु अविश्वसनीय क्षण थियो,’ वार्नरले लेखेका छन्, ‘तस्बिर र भिडियोले यहाँको वास्तविक सुन्दरतालाई न्याय गर्न सक्दैनन्। यो संसार कति विशाल र अद्भुत छ भन्ने महसुस गराउने क्षणमध्ये यो पनि एक हो।’

वार्नरले अर्को भिडियोमार्फत नेपालीको आतिथ्य, दयालुपन र क्रिकेटप्रतिको अगाध मायाको पनि खुलेर प्रशंसा गरे। उनले नेपाल प्राकृतिक रूपमा मात्र नभई मानिसको सरलता, व्यवहार र आत्मीयताका कारण पनि अद्वितीय रहेको बताए।

पहिलोपटक नेपाल आएका वार्नरले एनपिएलको तेस्रो संस्करणमा दुई खेल खेलिसकेका छन् र ब्याटिङमा आफ्नो प्रभावशाली लय देखाइसकेका छन्। अस्ट्रेलियालाई विश्वकप जिताउन मुख्य भूमिका खेलेका वार्नरको उपस्थितिले विश्व क्रिकेट समुदायमा एनपिएलको चर्चा चुलिएको छ।

उता कर्णाली याक्सबाट खेलिरहेका दक्षिण अफ्रिकाका विष्फोटक ब्याटर डेविड मिलर पनि नेपालको प्राकृतिक दृश्य र क्रिकेट माहोलबाट उत्तिकै प्रभावित छन्।

पहिलोपटक नेपाल आएका उनले हिमाली दृश्यको प्रशंसा गर्दै भनेका छन्, ‘नेपाल साँच्चै सुन्दर ठाउँ हो। यहाँ आएपछि देखिने प्राकृतिक दृश्य र हिमालहरूले मन लोभ्याउँछन्। आगामी दुई-तीन साता नेपालमा बिताउन पाउँदा म निकै उत्साहित छु।’

मिलरले नेपाली समर्थकको क्रिकेटप्रतिको लगाव र ऊर्जाको मुक्तकण्ठले प्रशंसा गरे। ‘नेपाल क्रिकेटमा तीव्र गतिमा अघि बढिरहेको देश हो। यहाँका मानिस क्रिकेटलाई निकै माया गर्छन्। उनीहरूको जोश साँच्चै प्रशंसनीय छ र म नेपालमा क्रिकेटको भविष्य निकै उज्ज्वल देख्छु,’ उनले भनेका छन्।

मिलरले पहिलो खेलमै अविजित ९३ रनको आक्रामक पारी खेलेर आफ्नो क्षमता देखाइसकेका छन्। उनको यो दमदार प्रदर्शनले विश्वभरका समर्थकको ध्यान तानेको छ।

त्यस्तै, बङ्गलादेशका चर्चित अलराउन्डर शाकिब अल हसनले पनि नेपालका पर्यटकीय स्थल र गतिविधिका भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन्। उनका यी सामग्रीले पनि अन्तर्राष्ट्रिय समर्थकमाझ नेपालबारे थप कौतूहल जगाएको छ।

विश्व क्रिकेटका आइकनहरूले खेलसँगै नेपालको प्रकृति, हिमाल र सत्कारलाई आफ्ना करोडौं दर्शकसम्म सिधै पुर्‍याइरहेका छन्। यसले एनपिएलमार्फत नेपाली खेलकुद मात्र नभई समग्र पर्यटन क्षेत्रले नै ठुलो अन्तर्राष्ट्रिय लाभ लिने निश्चित देखिएको छ।

प्रकाशित: २१ कार्तिक २०८३ १६:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App