काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज समापन हुँदैछ। यही साउन २६ देखि छ दिनका लागि सुरु भएको मेलाको पाँचौँ दिन सम्ममै आयोजकको लक्ष्यअनुसार अवलोकनकर्ता भृकुटीमण्डपस्थित एक्स्पोस्थल पुगिसकेका आयोजकको दाबी छ।
शनिबार एकैदिन ४२ हजार अवलोकनकर्ताले एक्स्पो भ्रमण गरेका आयोजकले जनाएको छ। यससँगै पाँच दिनमा मेला अवलोकनकर्ताको सङ्ख्या एक लाख ५० हजार नाघेको छ। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले छ दिनमा डेढ लाखले मेला अवलोकन गर्ने अपेक्षा गरेको थियो। अटोसो प्लानिङ कमिटीका अध्यक्ष गौरव शारडाले अवलोकनकर्ताको उल्लेख्य सहभागिताले उत्साहित बनाएको बताए।
एक्स्पोको उद्घाटनका दिन साउन २६ गते २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार र चौथो दिन ३१ हजारभन्दा बढीले अवलोकन गरेका आयोजकको तथ्याङ्क छ। मेलामा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनीमा राखिएका छन्। नयाँ-नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेर वितरक कम्पनीहरूले अवलोकनकर्तालाई आफ्ना स्टलमा आकर्षित गरिरहेका छन्।
अवलोकनकर्ताले खासगरी ब्याट्री क्षमता, मोटर, रेन्ज, आफ्टर सेल्स सर्भिस, ब्याट्रीको वारेन्टी-ग्यारेन्टी, रिसेल भ्यालूलगायतका विषयमा चासो राख्ने गरेका छन्। कम्पनीहरूले पनि ग्राहक आकर्षित गर्न विभिन्न सुविधा उपलब्ध गराएका छन्। मेलामा हालसम्म विभिन्न ब्रान्डले ५३ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका छन्।
नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो संस्करणको एक्स्पो आज साउन ३१ सम्म चल्नेछ। एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको सहभागिता रहेको छ। एक्स्पोमा नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि अन्य नयाँ मोडलका विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षणका रूपमा रहेका छन्।
प्रकाशित: ३१ श्रावण २०८३ ०७:०६ आइतबार





