१ वैशाख २०८३ मंगलबार
image/svg+xml
अर्थ

आर्थिक गतिविधि पुनर्जीवित गर्न पहल गरेको दाबी

महासंघ अध्यक्ष ढकालका तीन वर्ष

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) का अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नो तीनवर्षे कार्यकालमा निजी क्षेत्रको मनोबल जोगाउँदै आर्थिक गतिविधि पुनर्जीवित गर्न उल्लेखनीय पहल गरिएको बताएका छन्। कार्यकाल पूरा गरेका अवसरमा पत्रकारहरूसँग बुधबार काठमाडौंमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै उनले निजी क्षेत्र र सञ्चार क्षेत्रबीच सहकार्य अझ सुदृढ गर्दै देशको आर्थिक विकासमा साझा दृष्टिकोण निर्माण गर्नुपर्नेमा जोड दिए।

ढकालले नेतृत्व सम्हाल्दा मुलुकको अर्थतन्त्र अत्यन्त चुनौतीपूर्ण अवस्थामा रहेको स्मरण गर्दै कोभिड–१९ महामारीको असर, अन्तर्राष्ट्रिय द्वन्द्व, उच्च ब्याजदर, तरलता अभाव, लगानीमा निराशा तथा राजनीतिक अस्थिरताका कारण नीतिगत अन्योलले अर्थतन्त्र कमजोर बनेको बताए। यस्तो अवस्थामा निजी क्षेत्रको मनोबल उच्च राख्दै लगानीमैत्री वातावरण निर्माण गर्नु आफ्नो प्राथमिकता रहेको ढकालको भनाइ छ।

उनका अनुसार कार्यकालको सुरुमा पाँच प्रमुख प्राथमिकता तय गरिएको थिए। जसमा आर्थिक संकट समाधान, लगानी वातावरण सुधार, सार्वजनिक–निजी साझेदारी सुदृढीकरण, दक्ष जनशक्ति उत्पादन तथा रोजगारी सिर्जना र व्यवसायीको सम्मान तथा सुरक्षा सुनिश्चित गर्नु समावेश थिए। यी सबै क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भएको दाबी उनले गरे।

महासंघले परम्परागत माग राख्ने भूमिकाबाट अघि बढ्दै नीति निर्माण प्रक्रियामै सक्रिय सहभागिता जनाएको ढकालले बताए। राष्ट्रिय आर्थिक बहस आयोजना गरी सरकार, राजनीतिक दल, नियामक निकाय र निजी क्षेत्रलाई एउटै मञ्चमा ल्याइएको उनले बताए। त्यसकै परिणामस्वरूप उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन भई ३० भन्दा बढी कानुन सुधारका सिफारिस भएको जानकारी दिए।

उनले निजी क्षेत्रलाई ‘शान्ति क्षेत्र’ घोषणा गरिनु तथा नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले निजी क्षेत्र संरक्षण तथा प्रबर्धन रणनीति स्वीकृत गर्नु महत्त्वपूर्ण उपलब्धि भएको बताए। साथै द्विपक्षीय लगानी सम्झौता (बिआइए) मस्यौदा तयार भई विभिन्न मुलुकसँग सम्झौता प्रक्रियामा अघि बढेको उल्लेख गरे।

राज्य–निजी क्षेत्र सम्बन्धलाई टकरावबाट सहकार्यमा रूपान्तरण गर्नु आफ्नो कार्यकालको अर्को उपलब्धि भएको ढकालको भनाइ थियो। उनले निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रस्तावलाई परिमार्जन गराउँदै लगानीमैत्री वातावरण जोगाउन सफल भएको दाबी गरे। साथै डेडिकेटेड फिडर तथा ट्रंकलाइन महसुल विवाद समाधानका लागि पनि पहल गरिएको बताए।

लगानी प्रवद्र्धनतर्फ १० अर्ब रुपैयाँको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ स्थापना गरी पूर्वाधार, उत्पादनमूलक उद्योग र स्टार्टअप क्षेत्रमा लगानी गर्ने नयाँ ढाँचा तयार गरिएको जानकारी उनले दिए।

अन्तर्राष्ट्रिय स्तरमा पनि विभिन्न मुलुकमा लगानी सम्मेलन तथा संवाद आयोजना गरी नेपाललाई लगानी गन्तव्यका रूपमा स्थापित गर्ने प्रयास गरिएको उनले बताए।

संस्थागत सुधारतर्फ महासंघको विधान संशोधन गरी नेतृत्व चयन प्रक्रियालाई थप समावेशी, पारदर्शी र प्रतिस्पर्धी बनाइएको उनले बताए। अध्यक्षको प्रत्यक्ष निर्वाचन, महिला सहभागिता वृद्धि तथा जिल्ला–नगरको प्रतिनिधित्व सुदृढीकरण जस्ता सुधारहरू लागू गरिएको उनको भनाइ थियो।

ढकालले निजी क्षेत्रलाई दबाब समूहभन्दा विकास साझेदारका रूपमा स्थापित गर्न सफल भएको जनाउँदै पहिलो पटक ‘निजी क्षेत्रको अवस्था’ सम्बन्धी अनुसन्धान रिपोर्ट प्रकाशित गरिएको जानकारी दिए। यसले नीति बहसमा निजी क्षेत्रलाई थप सशक्त बनाएको उनले बताए।

कार्यक्रममा उनले आर्थिक पत्रकारहरूको भूमिकाको प्रशंसा गर्दै तथ्यमा आधारित विश्लेषण, रचनात्मक आलोचना र सुझावले नीतिगत सुधारमा महत्त्वपूर्ण योगदान पु¥याएको बताए। सञ्चार क्षेत्रलाई समाजको ऐना र नीति निर्माणको मार्गदर्शक शक्ति भएको जनाउँदै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: २६ चैत्र २०८२ ०७:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App