७ आश्विन २०८३ बुधबार
image/svg+xml
अर्थ

तीन दिनको बढोत्तरीमा ब्रेक, नेप्से ३६ अंकले घट्दा कारोबार रकम पनि खुम्चियो

पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर उकालो लागिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बुधबार ब्रेक लागेको छ। साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ३६.२५ अंकले ओरालो लागेर २६१८.०३ विन्दुमा झरेको छ।

परिसूचकसँगै यस दिन अन्य प्रमुख सूचकहरू पनि ऋणात्मक बनेका छन्। सेन्सेटिभ इण्डेक्स ६.३३ अंक, फ्लोट इण्डेक्स २.६० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१९ अंकले घटेर बन्द भएका छन्।

नेप्सेमा गिरावट आउँदा कारोबार रकमसमेत खुम्चिएको छ। अघिल्लो कारोबार दिन मंगलबार ७ अर्ब ५ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको बजारमा बुधबार ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँमा सीमित भएको हो। यस दिन ३५२ कम्पनीका २ करोड १६ लाख २२ हजार कित्ता शेयर ५७ हजार ९४७ पटकमा खरिदबिक्री भएका छन्।

यस दिन कारोबारमा आएका सबै १३ वटै उपसमूहको परिसूचक राताम्मे भएका छन्। जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.०४ प्रतिशतले घटेको छ।

त्यसैगरी बैंकिङ्ग, विकास बैंक, वित्त, जलविद्युत, लगानी, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहका परिसूचक १ प्रतिशतभन्दा बढीले ओरालो लागेका छन्।

समग्र बजार घटे पनि धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा भने सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयरमूल्य प्रतिकित्ता १७५ रुपैयाँले बढेर अन्तिम कारोबार १ हजार ३४१ रुपैयाँ ९० पैसामा भएको छ।

त्यसबाहेकका अन्य कम्पनीहरूको मूल्य वृद्धिदर साढे ५ प्रतिशतभन्दा कममै सीमित रह्यो। यता, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने सर्वाधिक ८.५४ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रह्यो। कम्पनीको ३८ करोड ३४ लाख रुपैयाँबराबरको शेयर किनबेच भयो।

त्यस्तै, रिलायन्स स्पिनिङ्ग मिल्सको २१ करोड रुपैयाँभन्दा बढी र हिमालयन डिष्टिलरीको साढे २० करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

प्रकाशित: ७ आश्विन २०८३ १५:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App