नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत इलामबाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका १७ वर्षीय सुजल चापागाईंको जिम्मेवारी पार्टीको केन्द्रीय निर्वाचन समितिले स्थगन गरेको छ।
पार्टी विधानअनुसार सदस्यताका लागि १८ वर्ष उमेर पूरा हुनुपर्ने वैधानिक व्यवस्थाविपरीत उनी निर्वाचित भएको पाइएपछि समितिले यस्तो निर्णय गरेको हो।
नेपाली कांग्रेसको विधान, २०१७ (एघारौं संशोधन सहित) को धारा ४ को उपधारा १ (क) (१) मा पार्टी सदस्यताका लागि १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने बाध्यात्मक व्यवस्था छ।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार चापागाईंको नागरिकता विवरण हेर्दा उनी आगामी २०८३ माघ १८ गते मात्रै १८ वर्ष पुग्ने देखिएको छ। त्यसपछि मात्र निजले चाहेमा पार्टी सदस्यता स्वतः कायम हुन सक्ने समितिले बताएको छ।
इलामको माइजोगमाई गाउँपालिका-५ सोयाङका चापागाईं वडा अधिवेशनबाट ३५ वर्षमुनिको युवा कोटामा सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चुनिएका थिए।
कांग्रेस माइजोगमाई गाउँ समितिका अनुसार उनी इलाम जिल्लाकै सबैभन्दा कान्छा क्षेत्रीय प्रतिनिधि बनेका थिए।
चापागाईंले गत असारमा मात्रै कांग्रेसको क्रियाशील सदस्यता लिएका थिए। सदस्यता लिएको ३ महिनामै उनी पार्टीको महत्त्वपूर्ण तह मानिने क्षेत्रीय प्रतिनिधिमा चुनिएका थिए।
पार्टी राजनीतिमा प्रवेश गर्नुअघि उनी लामो समयदेखि कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आबद्ध थिए। नयाँबजारस्थित अमर कल्याण माध्यमिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेपछि उनी पार्टीको मूल राजनीतिमा सक्रिय भएका हुन्।
हाल उनी इलामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा शिक्षाशास्त्र सङ्कायतर्फ स्नातक तह (बीएड) प्रथम सेमेस्टरमा अध्ययनरत छन्।
यसैबीच, निर्वाचन समितिले अन्य कुनै पनि जिल्लाका वडा तहमा १८ वर्ष उमेर नपुगेका उम्मेदवार निर्वाचित भएको पाइएमा यही प्रक्रियाअनुसार जिम्मेवारी स्थगन गर्न मातहतका निकायलाई परिपत्र जारी गरेको छ।
प्रकाशित: ७ आश्विन २०८३ १९:०२ बुधबार





