११ चैत्र २०८२ बुधबार
image/svg+xml
अर्थ

‘होटेल मात्र जलाएर, व्यवसाय गर्ने सोचमै आगो लगाए’

निजी लगानीमा आगजनी गर्नेलाई कारबाहीको माग

पोखरेली निजी क्षेत्रले जेनजीको नाममा विध्वंश मच्चाउनेलाई कारवाहीको माग गरेका छन् । पोखरा उद्योग वाणिज्य संघले बुधबार आयोजना गरेको ‘उद्योगी/व्यवसायी माथिको आक्रमणले निम्त्याएका बहुआयामिक असर निराकरणका उपाय’ विषयक अन्तर्क्रियामा बोल्ने लगानीकर्ताहरुले गत भदौ २३ र २४ गते जेनजीले गरेको आन्दोलनको मौका छोपेर विध्वंश मच्चाउनेलाई कारवाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिएका हुन् । उद्योग/व्यवसायमा पुगेको क्षतिपूर्ति गराउन विध्वंश मच्चाउनेबाटै हुनुपर्ने माग पनि उनीहरूको छ ।  

जेनजीले उठाएको भ्रष्टाचार अन्त्य, सुशासन र पारदर्शिताप्रति निजी क्षेत्रको ऐक्यबद्दता रहे पनि त्यसको नाममा भएको तोडफोड, आगजनी र लुटपाटप्रति उनीहरुले भत्र्सना गरेका छन् ।  

सुशासनले नै लगानी प्रोत्साहित गर्छ र रोजगारीको सिर्जना गर्छ,उनीहरुको एउटै स्वर छ, ‘विद्वानमा ज्ञान र व्यवसायीमा धनआर्जनको भोक जाग्नुलाई स्वाभाविक रुपले लिईनुपर्छ । तर जेनजी आन्दोलनका क्रममा उद्योगी/व्यवसायीमाथि भएको आक्रमणले उद्योग/व्यवसाय सञ्चालनमार्फत रोजगारी सिर्जना एवम् धन आर्जन गर्ने व्यक्तिलाई अपराधी करार गर्ने डरलाग्दो प्रवृत्ति हाबी भएको महशुस गरेका छौं ।’

कार्यक्रमका प्रमुख वक्ता नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले बिना कारण निजी क्षेत्रमाथि आक्रमण हुनु निन्दनीय भएको बताए । जसको नाममा भए पनि निजी क्षेत्रमाथि आक्रमण हुनु गलत हुने भन्दै उनले भने,‘यो प्रकारको दण्डहिनताको अन्त्य हुनुपर्छ ।’  

उनले यसका लागि लुटपाट, चोरी, तोडफोड र आगजनीमा संलग्नलाई कारवाही हुनुपर्ने बताए । साथै त्यस्ता व्यक्तिहरुबाट पुगेको क्षतिको पूर्ति भराउनुपर्नेमा पनि जोड दिए । यसो गरेमा मात्र आगामी दिनमा निजी क्षेत्रमाथि हुनसक्ने क्षति न्यूनीकरण गर्न सकिने उनको भनाई छ । उनले निजी क्षेत्रले सरकारलाई आफू पनि आन्दोलनकारी हो भन्ने सन्देश दिनुपर्ने बताए । अन्यथा सरकारले नसुन्ने बताउँदै उनले अगाडि थपे, ‘आन्दोलनमार्फत निजी क्षेत्रले आफू पनि एउटा शक्ति हो भन्ने सन्देश दिन सक्नुपर्छ ।’

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले अर्बौंको लगानी गरेर सयौंलाई रोजगारी दिएकालाई नै आन्दोलनका नाममा बारम्बार दुःख दिँदा निजी क्षेत्रको मनोबल गिरेको बताए । उनले पनि दोषीमाथि कारवाही र क्षेतीपूर्ति तिराउनुपर्ने बताए ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुलीले निजी क्षेत्रमाथि सुनियोजित रुपमा आक्रमण भएको बताईन् । उनले त्यसमा संलग्न व्यक्तिलाई छानविन गरी दोषी पत्ता लगाएर कारवाही हुनुपर्ने भन्दै भनिन्,‘कारवाहीसँगै उनीहरुबाट क्षतिपूर्ति भराईनुपर्छ ।’

पीडित व्यवसायी होटल सरोवरका सञ्चालक प्रतीक पहारीले विदेश नगई स्वदेशमै केही गर्छु भनेर लाग्दा बदलामा आफ्नो होटल जलाउँदा असह्यः पीडा बोध भएको बताए । जेनजीका नाममा होटल जलाउनेले व्यवसाय गर्ने सोच नै जलाईदिएको उनको गुनासो छ । सम्पति जलाए पनि परिवार र स्टाफ नजलेकाले अझै पनि उठ्ने हुटहुटी रहेको बताउँदै उनले भने,‘अर्को विकल्प नभएर होला सायद ! अझै पनि आत्म बल बाँकी छ । संकटलाई संकल्पमा बदल्ने अठोट लिएर चाँडै उठ्दैछौं ।’

पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतमले संकटलाई संकल्पमा बदल्ने पीडित व्यवसायीको अठोटमा आफूहरुको साथ र सहयोग रहने प्रतिबद्दता जनाईन् ।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जेनजीको नाममा उद्योगी/व्यवसायीमाथि अपराध भएको टिप्पणी गरे । जेनजी अगुवाले तोडफोड र आगजनीको जिम्मा नलिने भनिसकेकाले त्यसमा संलग्नलाई कारवाही हुनुपर्ने उनको भनाई छ । भ्रष्टाचारीको आरोप लगाएर होटल जलाउनेहरुलाई आरोप प्रमाणित गर्न चुनौती दिँदै उनले अगाडि थपे,‘होटलमा आगो लगाउनेहरु अपराधी हुन् । लुटेरा हुन् । उनीहरुलाई कारवाही हुनैपर्छ ।’

 

पोखरा पर्यटन परिषदका बरिष्ठ उपाध्यक्ष हरि भुजेलले छिमेकीको होटलमा दनदनी आगो बल्दा टुलटुलती हेर्न बाध्य भएको र त्यसले मन भने भतभती पोलिरहेको बताए । यसले गर्दा पर्यटन व्यवसायमा नकारात्मक असर परेको बताउँदै उनले भने,‘यस्तो बेला बैंकले लोनको व्याज र किस्ता तिर्न ताकेता गरेर थप पीडा दिएको छ ।’ तोडफोड र आगजनीले अन्र्तराष्ट्रिय रुपमा नकारात्मक सन्देश जाँदा पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको बताउँदै उनले सरकारले प्रत्यक्ष प्रभावित मात्र नभई पर्यटन सम्बद्द सबैलाई राहत प्याकेज घोषणा हुनुपर्नेमा जोड दिए ।

प्रकाशित: २२ आश्विन २०८२ १६:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App