२० मंसिर २०८२ शनिबार
image/svg+xml
अर्थ

विद्युत गृह सञ्चालन कार्यविधिको टुंगो छैन, उद्घाटनको हतारो

सञ्चालन तथा व्यवस्थापन कार्यविधिको टुंगो नलाग्दै रानी जमरा कुलरिया सिँचाई आयोजना अन्तर्गत निर्मित विद्युत गृह उद्घाटनको तयारी भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार विद्युत गृह उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजनाले जनाएको हो।

राष्ट्रिय गौरवको सिँचाई आयोजनाले जानकी गाउँपालिका वडा नम्बर ९ कटासेमा विद्युत गृह निर्माण गरेर उत्पादन सुरु गरेको छ । ४ दशमलव ७१ मेगावाट क्षमताको विद्युत गृहले २०८० माघ १६ गते परीक्षण उत्पादन सुरु गरेको इन्जिनियर अनिष श्रेष्ठले जानकारी दिएका छन् ।

‘त्यस यता पूर्ण क्षमतामा विद्युत उत्पादन भइरहेको छ’ उनले भने–‘कहिले काहीँ समस्या आउने कुरा सामान्य हो ।’

आयोजनाले उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको लम्कीस्थित प्रसारण केन्द्रमा पठाएको छ । प्रसारण केन्द्रले सो विद्युत ३३ केभी मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडेको छ ।

विद्युत गृहले नियमित उत्पादन गर्दै आएको भएपनि सञ्चालन तथा व्यवस्थापन कार्यविधिको भने अझै टुंगो लाग्न सकेको छैन। आयोजनाले २०८० पुष महिनामै सञ्चालन तथा व्यवस्थापन कार्यविधि तयार पारेर स्वीकृतिका लागि ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा बुझाएको थियो ।

कार्यविधिमा सो मन्त्रालयका सचिवको अध्यक्षतामा चार सदस्यीय समिति गठन गर्ने उल्लेख छ । सो समितिको सदस्यहरूमा महानिर्देशक, उपमहानिर्देशक र आयोजना प्रमुख रहने व्यवस्था गरिएको छ ।

सोही समितिले उत्पादित विद्युत खरिद बिक्रीका बारेमा नेपाल विद्युत प्राधिकरणसँग सम्झौता गर्ने उल्लेख छ । कार्यविधिमा विद्युत बिक्री गरे बापतको रकम समितिका खातामा जम्मा हुनुपर्ने व्यवस्था गरिएको छ ।

समितिले विद्युत गृह सञ्चालन र मर्मत बाहेकको रकम आम्दानीका रुपमा राजश्वमा दाखिला गर्ने गरी आयोजनाले कार्यविधि तयार पारेको छ । सो कार्यविधिका बारेमा अझैसम्म पनि अध्ययन भइरहेको इन्जिनियर श्रेष्ठले जानकारी दिए ।

आयोजनाले पेश गरेको कार्यविधि अनुसार नै अघि बढ्ने वा फेरबदल गर्ने बारेमा अध्ययन भइरहेको स्रोतले जानकारी दिएको छ ।

मन्त्रालयले अध्ययन पश्चात् कार्यविधि स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पेश गर्नुपर्नेछ। अर्थ मन्त्रालयको स्वीकृति पश्चात् मात्रै कार्यविधि कार्यान्वयनमा आउने बताइएको छ।

अझैसम्म पनि कार्यविधि अध्ययन र स्वीकृतिको काम अघि नबढेपछि विद्युत गृह सञ्चालनका बारेमा अन्यौलता सिर्जना भएको छ । उत्पादन सुरु गरेपनि विद्युत गृहले आयोजनालाई व्ययभार थपेको छ । आयोजनाले विद्युत बेचेर वार्षिक ३० करोड आम्दानी गर्नेछ ।

चार वर्षमा विद्युत गृहको सम्पूर्ण लगानी असुल हुनेछ । विद्युत गृह निर्माणमा १ अर्ब रुपैयाँ खर्च भएको छ । विद्युत गृहले २५ वर्षमा सम्पूर्ण सिँचाई आयोजनाको लगानी असुल्ने अनुमान गरिएको छ ।

सिँचाइसँगै विद्युत समेत उत्पादन थालेको यो आयोजना देशकै नमुना बहुउद्देश्यीय परियोजना हो ।आयोजनाले सिँचाई, विद्युत, नदी नियन्त्रण, सडक र कृषि उत्पादनलाई प्राथमिकतामा राखेको छ । 

प्रकाशित: १२ श्रावण २०८२ १२:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App