पर्यटकीय क्षेत्र लेकसाइडमा बेलुकीको समयमा सवारीसाधनको अधिक भीड हुन्छ। घुमघाम र खानपिनका लागि आएका पाहुना सवार सवारीको भीड त छँदैछ, त्यसमाथि ठुला आकारका यात्रुबाहक बस पनि प्रवेश गरेपछि लेकसाइडको साँघुरो सडक झनै साँघुरो हुने गरेको छ। साँघुरो सडकमा ठुला आकारका बस प्रवेश गरेपछि कतिपय ठाउँमा त ओहोरदोहोर गर्नै कठिन पनि हुने गरेको छ।
सडकमै सवारीको जाम लाग्दा यात्रा प्रभावित हुने गरेको छ। साँघुरो सडकमा यात्रु पुर्याउन र लिनका लागि गएका ठुला आकार बस लेकसाइड प्रवेश गरेसँगै साना सवारीलाई समेत गुड्न सकस पर्न थालेपछि व्यवस्थापन गर्ने तयारी थालिएको छ। विभिन्न ठाउँबाट भ्रमणको टोली लिएर आएका बस सडक किनारमै लामो समयसम्म रोकिदिने गर्दा झनै अप्ठेरो परेको स्थानीयको गुनासो छ।
पर्यटकी क्षेत्र लेकसाइडमा बढ्दो सवारीका कारण पर्यटकको पैदल यात्रा समेत प्रभावित हुन थालेपछि व्यवस्थापन गर्नका लागि नयाँ तरिका खोज्न थालिएको छ। त्यसका लागि लेकसाइडका सडकमा ठूला आकारका यात्रुबाहक बसलाई पार्किङ गर्न रोक लगाउने तयारी भएको छ। सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष ठाकुर बरालले ठुला आकार बस लेकसाइड भित्रिएपछि सडक साँघुरो हुने गरेको बताए।
‘ठुला सवारी साधनहरु यात्रु बोक्न र ओराल्न लेकसाइड आउँछन। कतिपय त लामो समय लेकसाइडकै सडक किनारमा रोकेर राखिदिने गरिएको छ। बिहानको समयमा भन्दा बेलुकीको समयमा बढी समस्या हुन्छ। पुरै बाटो ओगट्ने आकार बस भित्रिएपछि अरु साना सवारीका यात्रा रोकिन्छ,’ उनले भने, ‘खानपिनका लागि आएका पाहुना, भ्रमणका पाहुना लिएर भित्रिएका ठुला आकारका भारतीय र स्वदेशी बस सहित यात्रु बोक्न र ओराल्न पुग्ने अरु नियमित यात्रुबाहक बस पनि थपिँदा सडक पुरै ठप्पै हुने गरेको छ।’
कतिपय ठाउँमा त ठुला आकार बस लामो समय नै रोकेर राखिदिने गरिएको छ। यसले गर्दा सवारी सहजै वारपार गर्न नसकेको उनले बताए। लेकसाइडको सडक साँघुरो भएपनि पर्यटक बसपार्क, बाराहीघाट र क्याम्पिङचोकमा मात्र बस रोक्ने गरि व्यवस्थापन गर्ने प्रयास थालेको उनले बताए। मूल सडक मात्र नभई भित्री सडकमा पनि होटलसम्म पाहुना पुर्याउन गएका सवारी त्यही नै रोकेर राखिदिने गर्दा अरु सर्वसाधारणको यात्रा अप्ठेरोमा परेको उनले बताए।
‘तत्कालका लागि भ्रमणमा आएका बसलाई भित्री गल्ली र मूल सडकमा रोकेर राख्न नदिने निर्णय भएको छ। होटलसम्म पाहुना पु¥याएपछि ती सवारीलाई फराकिलो ठाउँ वा बाराहीघाट र क्याम्पिङचोकमा रोकिराख्ने व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘साँघुरो सडक, बसको लामो पार्किङ सँगै नियमित गुड्ने सवारी पनि थपिँदा र पाहुनाका साना सवारी पनि भित्रिँदा आजकल लेकसाइडको यात्रा भीडभाडयुक्त हुने गरेको छ यसको व्यवस्थापन जरुरी छ।’
.jpg)
त्यसबाहेक बाराहीचोकदेखि हल्लनचोकसम्मको सडकमा एकतर्फी गरिने पार्किङलाइ पनि व्यवस्थापन गर्नेबारे तयारी भईरहेको उनले बताए। सडक किनारमा गरिएको पार्किङ कहाँ र कसरी व्यवस्थापन गर्ने भन्नेमा योजना बनाईरहेको उनले बताए। ‘हल्लनचोकदेखि बाराहीचोसकम्म सडकमा एकतर्फी रुपमा पार्किङ गरिन्छ। सडक किनारमा गरिएको पार्किङका सवारीमध्ये अधिकांश त्यहाँका होटल, रेस्टुरेन्ट, पसल लगायतमा कार्यरत कर्मचारी र व्यावसायीका हुन,’ उनले भने, ‘सडक छेउको पार्किङ क्षेत्र खालि गर्न पनि सहज छैन। किनभने ती व्यावसायीको पनि भिन्दै पार्किङस्थल छैन। पार्किङ नै रोक लगाउँदा पनि सहज देखिन्न।’
सडक किनारको पार्किङलाइै वैकल्पिक ठाउँ दिने भन्नेमा पनि योजना बनाएको तर अहिले नै निर्णय नभएको उनले बताए। ‘सडक एकतर्फी बनाउन पनि सक्ने अवस्था छैन। अनि पार्किङ गर्न नदिँदा पनि व्यावसाय नै प्रभावित हुने देखिन्छ,’ बरालले भने, ‘कतै न कतै पार्किङस्थल व्यवस्थापन नगरि सुखै छैन। अहिले नै सबै हटाउने होईन, तर, विकल्प खोज्नै पर्नेछ।’
पोखरा महानगरपालिका–६ का अध्यक्ष विष्णुबहादुर भट्टराईले लेकसाइडको मुख्य सडक ठुला सवारी साधन सडक छेउमै पार्किङ गर्दा सडक अवरुद्ध हुने गरेको बताए उनले त्यसलाई व्यवस्थित गर्न ठुला सवारी साधनलाई निश्चित ठाउँमा पार्किङ गर्नुपर्ने बताए। उनले सडक किनारको पार्किङलाई चरणबद्ध रुपमा हटाउने, वैकल्पिक पार्किङक्षेत्र पहिचान गर्ने पनि बताए।
‘तत्कालै सडक फरकिलो बनाउन सकिने अवस्था छैन। दोहोरो व्यावसायिक क्षेत्रको बिचमा सडक छ। सडक फराकिलो बनाउने उपाय छैन। त्यसैले व्यवस्थापन मात्र विकल्प हो,’ उनले भने।
प्रहरीले पनि अव्यवस्थित पार्किङका कारण सवारी आवागनमा अप्ठेरो परेको, दुर्घटना बढेको बताएको छ। सडक साँघुरो भएको र ठुला आकार सवारी रोक्नमा कडाई गर्न जरुरी रहेको प्रहरीको भनाई छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख सुजितकुमार देवकोटाले लेकसाइडको हल्नचोकदेखी बाराहीचोकसम्म सवारी चाप बढी भएका कारण त्यस क्षेत्रमा पहिलो चरणमा एकतर्फि बनाउनु पर्ने पनि बताए।
ठुला सवारीलाई पर्यटकलाई लैजान र ल्याउने काममा मात्रै प्रयोग गर्नुपर्ने, मालसामान ओसारपसार गर्ने सवारी साधनका लागि निश्चित सयम सिमा तोक्नुपर्ने उनले बताए। ‘लामो समयसम्म सवारी नरोक्ने हो भने समस्या हुँदैन। पाहुना पुर्याउन वा लिन जाँदा पनि छिटो हुनेगरि काम गर्नुपर्छ। सामान ओसारपसारका लागि पनि समय तोक्नुपर्छ,’ उनले भने।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पार्किङस्थल व्यवस्थापन नहुँदा पर्यटकले सास्ती खेप्नुपरेको बताए। व्यावसायीले पनि आफ्नो ग्राहकका लागि पार्किङको व्यवस्था आफैले गर्नुपर्ने बताए। ‘व्यावसायीले पनि आफ्ना ग्राहकको लागि पार्किङस्थल आफै व्यवस्थापन गरिदिनुपर्छ। नत्र सडकमै पार्किङ गरेको भरमा अब लेकसाइडले थाम्न सक्दैन,’ उनले भने।
प्रकाशित: २३ मंसिर २०८२ १७:२० मंगलबार





