४ चैत्र २०८२ बुधबार
image/svg+xml
अर्थ

बढ्दैछ कालो सुनको मूल्य, ताप्लेजुङमा प्रतिमन एक लाख दुई हजार

कालो सुनका नामले चिनिने अलैंचीको मूल्य बढ्दै गएको छ । ताप्लेजुङमा अलैंचीको मूल्य प्रतिमन (४० किलोग्राम) १ लाख रुपैयाँ नाघेको छ ।  

कात्तिक तेस्रो साता आइतबार बजार खुल्दा सालाखाला अलैंचीको मूल्य प्रतिमन १ लाख रुपैयाँमा कारोवार भएको अलैंची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले जानकारी दिए ।  

अलैंचीमा सालाखाला भन्नाले चलनचल्तिको भन्ने बुझिन्छ । रेग्मीले आइतबार गुणस्तरीय अलैंची प्रतिमन १ लाख २ हजार रुपैयाँका दरले कारोबार भएको जानकारी दिए । यहाँका अलैंची व्यवसायी कमल बरालले भने चलनचल्तिकै अलैंची प्रतिमन १ लाख २ हजार रुपैयाँका दरले आफुले खरिद गरेको जानकारी दिए ।  

बरालका अनुसार शनिबार बजार खुल्दा ९६ हजार प्रतिमन रहेको अलैंचीको मूल्यमा अपरान्हबाट प्रतिमन २ हजार रुपैयाँका दरले बृद्धि भई ९८ हजार रुपैयाँ प्रतिमन पुगेको हो । आइतबार एकैदिन ४ हजार प्रतिमनका दरले अलैंचीको मूल्य बृद्धि भएको बरालले बताएका छन् ।  

असोज दोस्रो सातासम्म ८५ हजार प्रतिमन कायम रहेको अलैंचीको मूल्यमा एक महिनाको अन्तरालमा प्रतिमन १५ देखि १७ हजार रुपैयाँसम्म बृद्धि भएको देखिएको छ ।  

नयाँ उत्पादनको सुरुमै ८० हजार प्रतिमनबाट कारोवार सुरु भएको अलैंचीको मूल्यमा यसबर्ष धेरै बृद्धि र थोरै गिरावट आउने गरेको देखिएको छ ।  

अलैंचीको मूल्य अन्तराष्ट्रिय बजारले निर्धारण गर्ने हुनाले मूल्यमा उतारचढाव आउनु सामान्य जस्तै भइसकेको व्यवसायीहरु बताउँछन् ।  

अलैंची व्यवसायी महासंघका अनुसार नेपालमा उत्पादित अलैंची भारतीय बजार हुँदै तेस्रो मुलुकसम्म पुग्ने गरेको छ । उत्पादनको २ प्रतिशत हाराहारी मात्र स्वदेशमा खपत हुने र ९८ प्रतिशत अन्तराष्ट्रिय बजारमा पुग्ने गरेको व्यवसायीहरु बताउँछन् । ताप्लेजुङ नेपालमा सबैभन्दा बढी अलैंची उत्पादन हुने जिल्लाको नामले परिचित छ ।  

 

प्रकाशित: २३ कार्तिक २०८२ १५:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App